नेपालको औद्योगिक तथा व्यापारिक इतिहासमा गोल्छा परिवारको नाम पुरानो र स्थापित व्यावसायिक घरानाका रूपमा परिचित छ। विराटनगर आसपासको तत्कालीन अविकसित परिवेशबाट जुटको सामान्य कारोबार हुँदै सुरु भएको यो व्यावसायिक यात्रा अहिले उद्योग, व्यापार, बैंकिङ, बीमा तथा विभिन्न क्षेत्रमा फैलिएको छ। यसको जग गोल्छा परिवारका अग्रजले कठिन परिस्थितिमा राखेका थिए। घोडामा जुट बोकेर बजार पुर्याउँदै सुरु भएको व्यवसाय पछि विराटनगर जुट मिललगायत उद्योग स्थापनासम्म पुगेको थियो।
समयसँगै व्यवसाय विस्तार हुँदै गयो र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण पनि हुँदै आयो। सामूहिक पारिवारिक संरचनामा चलेको व्यवसाय परिवार ठूलो हुँदै गएपछि विभिन्न क्षेत्रमा विभाजित भयो। अहिले गोल्छा परिवारका नयाँ पुस्ताले आ–आफ्नो जिम्मेवारीअनुसार व्यवसाय अघि बढाइरहेका छन्।
यही लामो व्यावसायिक यात्राका साक्षी हुन् लोकमान्य गोल्छा। व्यवसायमा सक्रिय रहँदै आएका गोल्छा अहिले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दैछन्। व्यवसायसँगै उहाँले नेपाल–पोल्यान्ड सम्बन्धमा पनि लामो समयदेखि भूमिका निर्वाह गर्दै आएका छन्। करिब १७ वर्षदेखि पोल्यान्डको कन्सुलरका रूपमा काम गरिरहेका उनले नेपाल आउने पोलिस नागरिकलाई सहयोग गर्नुका साथै भूकम्प, कोभिडलगायत कठिन परिस्थितिमा विदेशी नागरिकको उद्धार तथा स्वदेश फिर्तीमा समेत समन्वय गरेका छन् ।
हजुरबुबाले कठिन परिस्थितिमा सुरु गरेको व्यवसायदेखि अहिलेको पुस्तासम्म आइपुग्दा देखिएका परिवर्तन, व्यवसायमा सिकेको पाठ, पुस्तान्तरण, पारिवारिक व्यवसाय विभाजन, सरकारसँगको सम्बन्ध, नयाँ पुस्ताको कार्यशैली र आगामी पुस्तालाई उनको सन्देशबारे कर्पोरेट यात्राका भोजराज भण्डारीले लोकमान्य गोल्छासँग गरेको कुराकानीको सम्पादित अंश
लामो समयदेखि व्यवसायमा सक्रिय हुनुहुन्छ। अहिले स्वास्थ्य र व्यवसाय दुवैलाई कसरी अघि बढाइरहनुभएको छ?
स्वास्थ्य ठिकै छ। अहिले व्यवसाय भने धेरै हेर्दिनँ। छोरा र नातिहरूले नै व्यवसाय सम्हालिरहेका छन्। म अहिले पोल्यान्डको कन्सुलरको जिम्मेवारीमा पनि छु। त्यससम्बन्धी काम हुन्छ। अफिसमा आउँदा साथीभाइसँग भेटघाट पनि हुन्छ, आफुँलाई सक्रिय बनाउन सजिलो हुन्छ । त्यसैले यसरी नै समय बितिरहेको छ। बाँकी मुख्य व्यवसाय, छोरा, नातिहरुले नै हेरिरहेका छन् ।
तपाईंको परिवारको व्यावसायिक यात्रा हजुरबुबाबाट सुरु भएको संघर्षसँग जोडिएको छ। आजको अवस्थाबाट पछाडि फर्केर हेर्दा त्यो यात्रा कतिको रोमाञ्चक थियो?
हास्दै ! हाम्रा हजुरबुबा विराटनगर नजिकैको गाउँमा आउनुभएको थियो। त्यतिबेला त्यो क्षेत्र अहिलेको जस्तो विकसित थिएन, जंगलजस्तै थियो। जुट, धान र चामलको उत्पादन हुन्थ्यो। उहाँ सानै हुँदा आफ्ना बुवा गुमाउनुभएको थियो। आर्थिक अवस्था पनि राम्रो थिएन। उहाँले सुरुमा भारततिर गएर जागिर गर्नुभयो। केही पैसा जम्मा गरेपछि यहाँ आएर अलिअलि जुट किन्न थाल्नुभयो। एउटा घोडा लिनुभयो र त्यसमाथि जुट बोकेर बजारमा लगेर बेच्नुहुन्थ्यो। त्यसरी नै बिस्तारै व्यवसाय सुरु भयो। उहाँको एउटा ठूलो खुबी थियो—कसैसँग डराउनुहुन्नथ्यो। ठूलो होस् वा सानो, सबैसँग खुलेर कुरा गर्ने साहस थियो।
व्यवसायमा कहिलेकाहीं घाटा पनि भयो। घाटा भएपछि साथीहरूसँग ऋण लिनुभयो। साथीहरूले पनि उहाँलाई विश्वास गरेर पैसा दिए। त्यसपछि व्यवसाय विस्तार हुँदै गयो।
त्यसपछि औद्योगिक क्षेत्रमा प्रवेश कसरी भयो?
उहाँ विराटनगरमा आएर बस्न थाल्नुभयो। त्यसबेला विराटनगर पनि अहिलेको जस्तो ठूलो थिएन। पछि उहाँ काठमाडौं आउनुभयो र तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरसँग भेट गर्नुभयो। कसरी भेट भयो भन्ने मलाई ठ्याक्कै थाहा छैन। तर उहाँले नेपालमा उद्योग–कारखाना स्थापना गर्नुपर्छ भनेर कुरा राख्नुभयो र जुद्धशमशेरले पनि उद्योग स्थापना गर्न प्रोत्साहन गर्नुभयो।
त्यसपछि उहाँ कलकत्ताको चमडिया परिवारसँग सम्पर्कमा पुग्नुभयो। उहाँसँग त्यतिबेला ठूलो पूँजी थिएन, तर आफ्नो कुरा राखेर लगानी गर्न उनीहरूलाई तयार पार्नुभयो। त्यसपछि विराटनगर जुट मिल स्थापना भयो। त्यसपछि सुगर मिल, कटन मिल र म्याच फ्याक्ट्रीलगायत उद्योगहरू स्थापना हुँदै गए। ती सबैमा हाम्रो परिवारको लगानी समान रूपमा थिएन, तर हजुरबुबाले उद्योग स्थापना र विस्तारका लागि ठूलो भूमिका खेल्नुभयो। उद्योगहरू स्थापना भएपछि विराटनगरको विकास पनि त्यसैअनुसार अघि बढ्यो।
गोल्छा परिवारको व्यवसाय त्यसपछि कसरी विस्तार भयो?
बिस्तारै हाम्रो व्यवसाय पनि बढ्दै गयो। त्यस क्रममा सरकार, राणाजीहरू र निजी क्षेत्रको लगानीबाट रघुपति जुट मिल स्थापना भयो। त्यसमा हाम्रो करिब ३५ प्रतिशत लगानी थियो। हजुरबुबा कलकत्ता पनि गइरहनुहुन्थ्यो। त्यसक्रममा जुट निर्यातको काम सुरु भयो। मेरा बुवा र काकाहरू पनि व्यवसायमा आइसकेका थिए। जुट निर्यात गर्न थालेपछि त्यसलाई प्रेस गर्नुपर्ने आवश्यकता भयो। जुट धेरै ठाउँ ओगट्ने भएकाले प्रेस नगरी निर्यात गर्दा ढुवानी खर्च निकै बढी पथ्र्यो। सुरुमा कलकत्तामै जुट प्रेस गरेर निर्यात गरिन्थ्यो। त्यतिबेला नेपालमा अहिलेको जस्तो बैंकिङ प्रणाली पनि थिएन।
एलसीलगायत कारोबार भारतीय बैंकमार्फत हुन्थ्यो। पछि नेपाल बैंक स्थापना भयो, त्यसपछि राष्ट्रिय वाणिज्य बैंक आयो र नेपालबाटै बैंकिङ कारोबार गर्न सहज हुँदै गयो। त्यसपछि विराटनगरमै जुट प्रेस स्थापना ग¥यौं, बिस्तारै स्टिल उद्योगलगायत अन्य उद्योग पनि थपिँदै गए।
‘हामीले कहिल्यै गलत बाटोबाट व्यवसाय गर्ने सोच राखेनौँ’
हजुरबुबाबाट बुवामा, बुवाबाट तपाईंमा र अहिले नयाँ पुस्तामा व्यवसाय हस्तान्तरण हुँदैछ। परिवारबाट तपाईंले व्यवसायका बारेमा के सिक्नुभयो?
हाम्रो परिवारले सुरुदेखि नै गलत बाटोबाट व्यवसाय गर्ने सोच राखेन। त्यसबेला सीमावर्ती क्षेत्रमा सामानको तस्करी पनि हुन्थ्यो, तर हामी त्यतातिर कहिल्यै लागेनौं। सकेसम्म वैधानिक रूपमा व्यवसाय गर्ने र निर्यात–आयातलाई व्यवस्थित रूपमा अघि बढाउने हाम्रो सोच रह्यो।
जुट निर्यातका साथै पोल्यान्ड, चेकोस्लोभाकिया, रुसलगायत तत्कालीन कम्युनिस्ट देशहरूसँग व्यापारिक सम्बन्ध बन्यो। त्यहाँबाट कर्कटपाता, जीआई पाइप, कपडा, बिजुलीका सामानलगायत वस्तु आयात गर्न थाल्यौं। त्यसबेला चीन, जापान र कोरियासँगको व्यापार आजको जस्तो विकसित थिएन। कर्कटपाता नेपालमा ल्याएपछि यसको बजार पनि विस्तार हुँदै गयो। त्यसअघि धेरै ठाउँमा खरको छाना हुन्थ्यो। बिस्तारै कर्कटपाताको प्रयोग बढ्दै गयो।
‘परिवार ठूलो हुँदै गएपछि एउटै संरचनामा व्यवसाय चलाउन कठिन भयो’
परिवारको व्यवसाय पुस्तौंसम्म एउटै संरचनामा चल्यो। त्यसपछि छुट्टिने अवस्था किन आयो?
सुरुमा हजुरबुबाले एउटा ट्रस्टजस्तो संरचना बनाउनुभएको थियो। परिवारका सदस्यले तलब पाउने र व्यक्तिगत रूपमा आफ्नो व्यवसाय गर्न नपाउने व्यवस्था थियो। सम्पत्ति पनि व्यक्तिगतभन्दा परिवारको सामूहिक स्वामित्वमा हुन्थ्यो।
हजुरबुबा, बुवा र काकाहरूको पुस्तासम्म त्यो व्यवस्था राम्रैसँग चल्यो। तर परिवार ठूलो हुँदै गयो। मेरा बुवा–काकाका नौ जना दाजुभाइ भयौं। त्यसपछि छोराहरू र नातिहरू पनि थपिँदै गए। परिवार ठूलो भएपछि सबैलाई एउटै संरचनामा सम्हाल्न कठिन हुँदै गयो। सबैको सोच र काम गर्ने शैली पनि एउटै रहेन। त्यसैले हामीले नै छुट्टाछुट्टै व्यवसाय गर्नु राम्रो हुन्छ भन्ने निर्णय ग¥यौं ।
करिब १०–१२ वर्षअघि छुट्टिने प्रक्रिया सुरु भयो। अझै सबै कम्पनीको सेयर संरचना पूर्ण रूपमा परिवर्तन भइसकेको छैन, तर मोटामोटी रूपमा व्यवसाय छुट्टिसकेको छ। उद्योगतर्फ भाइहरू लागे। हामी भने मुख्यतः ट्रेडिङ, बैंकिङ, बीमा र लगानीका क्षेत्रमा केन्द्रित भयौं।
अहिलेको पुस्तालाई हेर्दा तपाईंलाई कस्तो लाग्छ? नयाँ पुस्ताले पुरानो पुस्ताजत्तिकै संघर्ष गरिरहेको छ?
उनीहरू पनि मेहनत गरिरहेका छन्। हाम्रो हजुरबुबा र बुवाको पालामा टेलिफोन, इन्टरनेट, फ्याक्स, फोटोकपी मेसिनजस्ता सुविधा थिएनन्। विराटनगरमा टेलिफोनसमेत थिएन।
काठमाडौंमा पनि फोन गर्न सजिलो थिएन। भारतमा फोन गर्नुपर्दा भारतीय दूतावासमा गएर घण्टौं कुर्नुपथ्र्यो। विराटनगरबाट फोन गर्नुपर्दा सीमापारि गएर लाइन कुर्नुपर्ने अवस्था थियो। अहिले प्रविधिले सबै कुरा सहज बनाइदिएको छ। त्यसैले अहिलेको पुस्ताको संघर्षको स्वरूप फरक छ। उनीहरू पनि आफ्नो ठाउँमा मेहनत गरिरहेका छन् र आफूलाई राम्रोसँग स्थापित गर्न चाहन्छन्।
‘सरल र वैधानिक काम गर्दा सरकारसँग समस्या हुँदैन’
राणाकालदेखि राजतन्त्र हुँदै गणतन्त्रसम्मको राजनीतिक परिवर्तन तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको छ। विभिन्न शासन व्यवस्थामा उद्योग–व्यवसाय गर्न कस्तो फरक पाउनुभयो?
हाम्रो व्यवसायसँग सरकारको खासै समस्या कहिल्यै भएन। हामीले गलत काम गरेनौं। सरल र वैधानिक रूपमा गर्नुपर्ने काम गर्दा समस्या पनि आउँदैन। राजाको समयमा पनि सम्बन्ध राम्रो थियो। राजा महेन्द्र विराटनगर आउँदा हजुरबुबालाई आफ्नो क्याम्पमा बोलाएर एक–दुई घण्टा कुराकानी गर्नुहुन्थ्यो। त्यो सम्मानको कुरा थियो।
प्रजातन्त्र आएपछि पनि सबै राजनीतिक दलसँग हाम्रो सम्बन्ध राम्रो रह्यो। अहिले पनि त्यस्तै छ। बीचमा बिचौलिया, घुस र भ्रष्टाचारका समस्या भने देखिन्छन्। त्यसलाई नियन्त्रण गर्नुपर्छ। अहिलेको सरकारले त्यसतर्फ काम गर्छ भन्ने विश्वास छ।
अहिलेको युवा पुस्ताका व्यवसायीलाई तपाईंको मुख्य सन्देश के छ?
सबैभन्दा पहिले घमण्ड गर्नु हुँदैन। ‘म’ भन्ने भावना धेरै ठूलो हुनु हुँदैन। सबैसँग मिलेर, सबैको सम्मान गर्दै व्यवहार गर्नुपर्छ। जहाँ ‘म’ भन्ने शब्द हाबी हुन्छ, त्यहाँ समस्या सुरु हुन्छ। केही समयका लागि त्यसले राम्रो परिणाम दिएजस्तो देखिए पनि दीर्घकालमा त्यसले असर गर्छ। इमानदारीपूर्वक काम गर्नुपर्छ, मेहनत गर्नुपर्छ र अरूको समयको सम्मान गर्नुपर्छ। कसैलाई समय दिएको छ भने समयमा पुग्नुपर्छ। आधा घण्टा, एक घण्टा कसैलाई कुराउनु राम्रो होइन। अरूको पनि समयको मूल्य हुन्छ।
तपाईं लामो समयदेखि पोल्यान्डका कन्सुलरको जिम्मेवारीमा हुनुहुन्छ। यो भूमिकामा तपाईंको मुख्य काम के हो?
पोल्यान्डको कन्सुलर भएको करिब १७ वर्ष भयो। मुख्य रूपमा सरकार–सरकारबीचका विषयमा सहजीकरण गर्ने काम हुन्छ। त्यसबाहेक नेपाल आउने पोलिस नागरिकलाई (पोल्यान्ड नागरिक) आवश्यक सहयोग गर्ने जिम्मेवारी पनि हुन्छ।
नेपालमा हरेक वर्ष करिब ९ हजारदेखि १२–१४ हजारसम्म पोलिस पर्यटक आउने गर्छन्। पहाडी क्षेत्रमा दुर्घटना हुने, बिरामी पर्ने वा मृत्यु हुनेजस्ता घटना पनि हुन्छन्। त्यस्तो अवस्थामा उनीहरूको परिवारसँग समन्वय गरेर शव तथा सामान सुरक्षित रूपमा पठाउने काम पनि गर्नुपर्छ।
भूकम्प र कोभिडको समयमा कन्सुलरका रूपमा काम गर्दा कस्तो अनुभव रह्यो?
भूकम्पका बेला नेपालमा करिब ८०–९० जना पोलिस नागरिक थिए। उनीहरू कहाँ छन्, सुरक्षित छन् कि छैनन् भन्ने जानकारी लिन र आवश्यक परे उद्धार गर्नुपर्ने अवस्था आयो। त्यतिबेला विद्युत् थिएन, फोन र मोबाइल चार्ज गर्न समस्या थियो, टावर पनि काम गरिरहेका थिएनन्। कतिपयले फोन गरेर आफ्नो मान्छे मरेको भन्दै जानकारी दिन्थे, तर वास्तवमा उनीहरू सुरक्षित हुन्थे। उनीहरूलाई वास्तविक अवस्था बुझाउन पनि कठिन थियो।
दुई दिनसम्म मैले आफै गाडी चलाएर पनि काम गरे। नेपाली सेना, पर्यटक प्रहरी र परराष्ट्र मन्त्रालयबाट पनि ठूलो सहयोग भयो। विभिन्न देशका विमानमा पोलिस नागरिकलाई पठाउने व्यवस्था गर्नुप¥यो। अन्ततः सबैलाई सुरक्षित रूपमा पठाउन सफल भयौ।
कोभिडको समयमा झन् कठिन अवस्था थियो। त्यतिबेला नेपालमा करिब १२० जना पोलिस नागरिक विभिन्न ठाउँमा थिए । कोही पोखरा, कोही नारायणगढ, कोही अन्य ठाउँमा। उनीहरूलाई उद्धार गरेर काठमाडौं ल्याउन प्रशासनको पत्र, सवारीसाधनको व्यवस्था र अन्य समन्वय आवश्यक थियो।
धेरै पर्यटक अंग्रेजी नबोल्ने भएकाले हामीले एउटा ह्वाट्सएप समूह बनायौं त्यसमा सबैलाई जोडेर सूचना दिने र आवश्यक कुरा बुझाउने व्यवस्था ग¥यौं युरोपेली संघका दूतावासहरूसँग समन्वय गरेर विभिन्न विमानमा उनीहरूलाई पठाउने व्यवस्था ग¥यौं। त्यो समयमा सबैजना एक किसिमको परिवारजस्तै भएका थिए। कठिन समय भए पनि सबैलाई सुरक्षित रूपमा नेपालबाट पठाउन सफल भयौं ।
नेपाल–पोल्यान्ड पर्यटन सम्बन्धलाई अझ विस्तार गर्न सकिने सम्भावना कस्तो देख्नुहुन्छ?
पोल्यान्डका नागरिक नेपालमा पहिलेदेखि नै आइरहेका छन्। त्यहाँबाट नेपाल आउने र नेपालबाट पोल्यान्ड जाने दुवै सम्भावना छन्। पोल्यान्ड पनि पर्यटनका दृष्टिले निकै राम्रो देश हो।
म केही वर्षअघि परिवारसहित पोल्यान्ड गएको थिएँ। त्यहाँको प्राकृतिक सौन्दर्य र वातावरण निकै राम्रो छ। छोराहरूले त ‘यति राम्रो ठाउँ रहेछ, म त यहीँ बस्छु’ भन्न थालेका थिए।
अन्त्यमा, तपाईंले आफ्नो जीवन र व्यवसायलाई फर्केर हेर्दा के पाउनुहुन्छ?
हाम्रो पुस्ताले आफ्नो समयमा संघर्ष ग¥यो। त्यसपछि बुवाहरूले व्यवसाय अघि बढाउनुभयो। अहिले छोराछोरी र नातिहरूले आफ्नो जिम्मेवारी सम्हालिरहेका छन्। समयसँगै व्यवसाय गर्ने तरिका, प्रविधि र चुनौती सबै परिवर्तन भएका छन्। तर मेहनत, इमानदारी, अनुशासन र सबैसँग राम्रो व्यवहार गर्ने कुरा कहिल्यै परिवर्तन हुँदैन। त्यही कुरा नयाँ पुस्ताले पनि बुझ्नुपर्छ। आफ्नो काममा इमानदार भएर मेहनत गर्ने र सबैको सम्मान गर्ने हो भने व्यवसायमा दीर्घकालीन सफलता हासिल गर्न सकिन्छ।















प्रतिक्रिया दिनुहोस्