काठमाडौं। ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले नेपालको पुँजी बजारलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउन नयाँ वित्तीय औजार तथा प्रविधिको विकासमा जोड दिनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पुँजी बजार सुरु भएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि बजारमा कारोबार हुने औजार सीमित रहेको भन्दै यसको विस्तार आवश्यक रहेको बताएका हुन् ।
उनले अहिले पनि नेपाली पुँजी बजारमा नियमित कारोबार हुने प्रमुख औजारका रूपमा सूचीकृत कम्पनीका साधारण शेयर मात्र रहेको उल्लेख गर्दै डेरिभेटिभ, इन्ट्राडे र सर्ट सेलजस्ता सुविधा विस्तार गर्नुपर्ने बताए। ‘हामीले डेरिभेटिभ औजारहरू जस्तै अप्सन, फ्युचर जस्ता प्रडक्टहरू तयार गरी सञ्चालनमा ल्याउन सकेका छैनौँ,’ ढकालले भने, ‘यसबाहेक स्पट कारोबारमा समेत इन्ट्राडे, सर्ट सेल सुविधालाई प्रयोगमा ल्याउन सकेका छैनौँ।’
उनले विकसित मुलुकका पुँजी बजारमा लगानीका लागि इन्डेक्स फन्ड, विदेशी मुद्रा, कमोडिटिज तथा डिजिटल सम्पत्तिसहित विभिन्न प्रकारका वित्तीय औजार उपलब्ध रहेको उल्लेख गर्दै नेपालले पनि त्यस्ता बजार विकासका लागि आवश्यक कानुन, पूर्वाधार, प्रविधि र दक्ष जनशक्ति तयार गर्नुपर्ने बताए। ढकालले नेपालको बजारमा नगद कारोबारको अभ्याससमेत अन्तर्राष्ट्रिय बजारको तुलनामा फरक रहेको उल्लेख गर्दै हाल २५ प्रतिशत मार्जिन लिएर बाँकी रकम दुई दिनभित्र राफसाफ गर्ने प्रणालीबाट कारोबार भइरहेकोले लगानीका औजारहरु भित्र्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘आजको दिनमा लगानीका औजारहरूको रूपमा इन्डेक्स फण्ड, फरेन करेन्सी प्रडक्टहरू, कमोडिटिज, क्रिप्टो लगायतका डिजिटल सम्पत्तिहरू समेत ठूलो मात्रामा उपलब्ध भई कारोबारमा प्रचलित भएका छन्।’
नेपालमा आधुनिक वित्तीय औजारको अभावका कारण विदेशमा रहेका नेपालीले आफू बसेकै मुलुकका पुँजी तथा मुद्रा बजारमा लगानी गरिरहेको उनको भनाइ थियो। नेपालमा पनि यस्ता लगानीका अवसर सिर्जना गर्न सके विदेशी मुद्रा भित्र्याउन तथा राज्यको राजस्व बढाउन सहयोग पुग्ने उनले बताए। ‘यदि सो लगानी रकम नेपालमा भित्रिने हो भने यसबाट ठूलो राजस्व राज्यले प्राप्त हुनुको साथै थप वैदेशिक मुद्रा नेपाल भित्रिने थियो’ अध्यक्ष ढकालले भने ।
अध्यक्ष ढकालले नियामक निकायले आगामी दिनमा नयाँ वित्तीय उत्पादनका लागि आवश्यक नियम, विनियम, प्रविधि तथा पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले नेपाल अहिले आर्थिक रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको भन्दै पुँजी बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको धारणा राखे। साथै लगानीकर्ताको विश्वास बढाउने, संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने, विदेशी लगानी आकर्षित गर्ने तथा आधुनिक वित्तीय उपकरण विकास गर्ने काम सबै सरोकारवालाको साझा जिम्मेवारी भएको बताए।
‘नेपाल अहिले आर्थिक रूपान्तरणको महत्वपूर्ण चरणमा छ। यस्तो अवस्थामा हाम्रो पुँजी बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउनु आजको आवश्यकता हो।’
















प्रतिक्रिया दिनुहोस्