काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) की अध्यक्ष जोउ जियायीबीच कतारको दोहामा भेटवार्ता भएको छ।
एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा नेपालमा बैंकको लगानी विस्तार तथा बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ।
भेटमा अर्थमन्त्री वाग्लेले प्राकृतिक विपद्पछिको पुनर्निर्माण, हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारमा एआईआईबीको लगानी विस्तार गर्न जोड दिँदै नेपाललाई सहुलियतपूर्ण वित्तीय स्रोतमा पहुँच बढाउनसमेत अध्यक्ष जोउसँग आग्रह गरेका छन्। अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणमा एआईआईबीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
उनले एआईआईबीको परियोजना तयारी विशेष कोषमार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउन सकिने बताइन्। विशेष कोषअन्तर्गत प्राप्त अनुदानलाई प्रयोग गरी नेपाललाई उपलब्ध गराइने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा पनि उनले राखिन्। नेपाल एआईआईबीको संस्थापक सदस्य राष्ट्र भएकाले आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि अध्यक्ष जोउले व्यक्त गरिन्।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष जोउलाई बधाई दिँदै संस्थापक सदस्यका रूपमा नेपाललाई एआईआईबीले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले एआईआईबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरे। त्यसैगरी, एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति अर्थमन्त्री वाग्लेले दुःख व्यक्त गरेको जनाइएको छ।
मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत नेपालका प्राथमिकताका क्षेत्रमा लगानी विस्तार गर्न एआईआईबीका आफ्नै स्रोतसँगै अन्य दातृ निकायका स्रोतसमेत परिचालन गर्न अर्थमन्त्रीले आग्रह गरे। भेटवार्ताको अन्त्यमा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमण गर्न औपचारिक निमन्त्रणा दिएका छन्।
















प्रतिक्रिया दिनुहोस्