काठमाडौं । विद्यार्थीमा अनुसन्धान, खोज तथा आलोचनात्मक सोचको विकास गर्ने उद्देश्यले युनिग्लोब एसएस कलेजको विज्ञान क्लबले आयोजना गरेको बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिताको छनोट तथा मूल्याङ्कन चरण सम्पन्न भएको छ।

कलेजले असोज ११, २०८३ मा प्रतियोगिताको अन्तिम छनोट तथा मूल्याङ्कन सम्पन्न गरेको हो। विद्यार्थीलाई परम्परागत पाठ्यपुस्तकमा सीमित नराखी मौलिक, तथ्यमा आधारित र अनुसन्धानमुखी सिकाइमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ।
प्रतियोगितामा विद्यार्थीले विज्ञान, सामाजिक विज्ञान, व्यवसाय तथा अर्थशास्त्र र कानुनी नीति लगायतका विभिन्न विषयमा अनुसन्धान पत्र तयार पारेका थिए। सहभागी विद्यार्थीले केही सातासम्म विषयसँग सम्बन्धित साहित्य तथा पूर्वअध्ययनको समीक्षा, प्राथमिक तथ्याङ्क सङ्कलन र त्यसको विश्लेषण गरी अनुसन्धान पत्र तयार गरेका थिए।

अनुसन्धानलाई थप तथ्यपरक बनाउन कतिपय विद्यार्थीले सर्वसाधारण तथा विषयविज्ञसँग प्रत्यक्ष अन्तर्वार्ता लिनुका साथै स्थलगत सर्वेक्षणसमेत गरेका थिए। विशेषगरी १६ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई विश्वविद्यालय तहको अनुसन्धानसँग परिचित गराउने यो अभ्यासले उच्च माध्यमिक शिक्षा र उच्च शिक्षाबीचको महत्वपूर्ण पुलको काम गरेको कलेजको भनाइ छ।

प्रतियोगिताका क्रममा विद्यार्थीले अनुसन्धानको विषय छनोटदेखि तथ्याङ्क सङ्कलन, विश्लेषण, निष्कर्ष निर्माण र प्रस्तुतीकरणसम्मका विभिन्न चरणमा प्रत्यक्ष रूपमा काम गरेका थिए। यसबाट उनीहरूमा आलोचनात्मक सोच, तार्किक क्षमता, सिर्जनशीलता, समस्या समाधान तथा औपचारिक लेखनजस्ता सीप विकासमा सहयोग पुगेको कलेजले जनाएको छ।

प्रतियोगिताको छनोट तथा मूल्याङ्कन प्रक्रियालाई थप प्राज्ञिक र बहुआयामिक बनाउन विभिन्न क्षेत्रका विज्ञ, शिक्षाविद् तथा पेशाकर्मी सहभागी भएका थिए। मूल्याङ्कन तथा मार्गदर्शनमा पत्रकार तथा प्राध्यापक मनोजकुमार दाहाल, लिबर्टी कलेजका प्राचार्य तथा शिक्षाविद् डा. देवराज पनेरू, प्रविधि तथा कम्प्युटर विज्ञानका अनुसन्धानकर्ता इ. भीमचन्द्र गौतम, राजनीतिशास्त्र तथा कानुनका अध्येता डा. अर्चना नेपाल शिवाकोटी, सहप्राध्यापक डा. गोपीचन्द्र काफ्ले, चेस्टर विश्वविद्यालयमा विद्यावारिधि अनुसन्धानरत तथा समाजशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता डा। राजेन्द्र ओझा र मानसिक स्वास्थ्य परामर्शदाता रुसु कटेल सहभागी थिए।

विभिन्न विषयका विज्ञको सहभागिताले विद्यार्थीले तयार गरेका अनुसन्धान पत्रलाई विषयगत ज्ञान, तथ्यको विश्वसनीयता, अनुसन्धान पद्धति, विश्लेषण क्षमता तथा प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन गर्न सहयोग पुगेको कलेजले जनाएको छ।
युनिग्लोब एसएस कलेजले विद्यार्थीलाई परीक्षामुखी शिक्षामा मात्र सीमित नराखी अनुसन्धान, नवप्रवर्तन, प्रस्तुतीकरण, नेतृत्व र व्यावहारिक सिकाइका अवसर प्रदान गर्दै आएको जनाएको छ।
कलेजका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई सूचनाका निष्क्रिय उपभोक्ताभन्दा पनि प्रश्न उठाउने, खोज गर्ने र समस्या समाधान गर्न सक्ने सक्रिय अनुसन्धानकर्ताका रूपमा विकास गर्न सहयोग पुर्याउँछन्।
प्रतियोगिताको अन्तिम मूल्याङ्कनपछि विज्ञान, सामाजिक विज्ञान तथा व्यवसाय, अर्थशास्त्र र कानुनी नीति गरी तीन प्रमुख विधाका विजेता टोली घोषणा गरिएको छ। उत्कृष्ट अनुसन्धान तथा प्रस्तुतीकरण गर्ने विजेता टोलीलाई नगद पुरस्कार र पदक प्रदान गरिने कलेजले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको मेहनत, अनुसन्धानप्रतिको उत्साह, सिर्जनशीलता र प्राज्ञिक प्रतिबद्धताले कलेजमा विकास हुँदै गएको अनुसन्धान तथा खोजको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ। विद्यार्थीलाई नयाँ प्रश्न उठाउन, प्रमाणका आधारमा निष्कर्ष निकाल्न र प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्न प्रेरित गर्ने यस्ता कार्यक्रमले कलेजको अनुसन्धानमुखी तथा विद्यार्थीकेन्द्रित शैक्षिक वातावरणलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्