काठमाडौं। सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या आए उपभोक्तालाई तत्काल राहत दिन सुरक्षा निकायका पेट्रोलियम बिक्री केन्द्रलाई वैकल्पिक वितरण केन्द्रका रूपमा प्रयोग गर्ने तयारी थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएका पेट्रोलियम पदार्थ बिक्री केन्द्रबाटै एलपी ग्याससमेत बिक्री गर्न सकिने व्यवस्था मिलाउन लागेको हो। मन्त्रालयका सचिव रुद्रसिंह तामाङले ग्यास अभाव वा वितरण प्रणालीमा अवरोध आए सुरक्षा निकायको मौजुदा संरचना प्रयोग गरी आपूर्ति सहज बनाउन अनुमति दिने तयारी भइरहेको जानकारी दिएका छन्।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आज सचिव तामाङले सुरक्षा निकायका पेट्रोल बिक्री केन्द्रमध्ये कम्तीमा एक–दुईवटा केन्द्रमा एलपी ग्यास बिक्रीको व्यवस्था गर्न सके आपत्कालीन अवस्थामा राज्यलाई आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताए। उनका अनुसार सुरक्षा निकायले अहिले प्रयोग गर्दै आएका पेट्रोलियम पदार्थ बिक्री केन्द्रका संरचनालाई विस्तार गरी ग्यास वितरणमा समेत प्रयोग गर्ने अवधारणा अघि सारिएको हो।
ग्यासको माग अचानक बढ्दा, नियमित आपूर्ति प्रणालीमा अवरोध आउँदा वा बजारमा अभाव देखिँदा उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन यस्तो वैकल्पिक संयन्त्र उपयोगी हुने मन्त्रालयको अपेक्षा छ। यद्यपि, कुन–कुन स्थानका सुरक्षा निकायका आउटलेटबाट ग्यास बिक्री गर्ने र सेवा कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा भने सरकारले निर्णय सार्वजनिक गरिसकेको छैन।
















प्रतिक्रिया दिनुहोस्