काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। पारित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।
सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनीको निरन्तर विश्वास र साथप्रति आभार व्यक्त गरे। ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकको सहयोगकै कारण बैंकले गौरवमय दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको उनले बताए। यसैगरी, उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीति र निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि अध्यक्ष ढकालले व्यक्त गरे। ग्राहकलाई थप सहज र अत्याधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङ प्रणालीमा लगानी विस्तार गरिने उनले जानकारी दिए।
साधारण सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ। ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकका अनुसार, विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने प्रमुख वित्तीय संस्थाका रूपमा समेत बैंक स्थापित छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ।
















प्रतिक्रिया दिनुहोस्