काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन शाहको सचिवालयमा कार्यरत २५ सदस्यीय टोलीको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार सचिवालयका वैतनिक सदस्यको तलब तथा भत्तामा राज्यकोषबाट वार्षिक करिब १ करोड ७८ लाख रुपैयाँ खर्च हुने देखिएको छ।
सचिवालयमा रहेका २५ जनामध्ये मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिश प्रसाद अग्रवालले भने अवैतनिक रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। उनीहरूले राज्यबाट तलब सुविधा लिँदैनन्। बाँकी सल्लाहकारमध्ये राजनीतिक सल्लाहकार असिम शाह मन्त्रीसरह तथा नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र राज्यमन्त्रीसरहको हैसियतमा छन्। उनीहरूले सोही मर्यादाक्रमअनुसार पारिश्रमिक पाउने व्यवस्था छ।
गत साउनदेखि लागू नयाँ तलबमानका आधारमा सचिवालयका वैतनिक सदस्यको आधारभूत तलबमा मात्रै मासिक करिब साढे १२ लाख रुपैयाँ खर्च हुने देखिएको छ। अर्थ मन्त्रालयको परिपत्रअनुसार कर्मचारीले आधारभूत तलबको १० प्रतिशत प्रोत्साहन भत्ता पाउने व्यवस्था छ। १२ महिनाको आधारभूत तलब, १० प्रतिशत प्रोत्साहन भत्ता र एक महिनाको चाडपर्व खर्च जोड्दा वार्षिक खर्च करिब १ करोड ७८ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यसमा सञ्चार, मसलन्द, इन्धन तथा भ्रमण भत्तालगायत अन्य प्रशासनिक खर्च भने समावेश छैन।















प्रतिक्रिया दिनुहोस्