काठमाडौं । महँगो कर्जा, आयातित उत्पादन सामग्रीमा लाग्ने कर र कमजोर लजिस्टिक्स नेपालको निर्यात विस्तारका प्रमुख अवरोधका रूपमा देखिएका छन् । निर्यातकर्ताले वित्तीय पहुँच, उच्च ब्याजदर, उत्पादन सामग्रीको लागत र व्यापार पूर्वाधारको अभावले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको बताएका छन् ।
एसियाली विकास बैंक (एडीबी) र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाएरोमेन्ट (सावती)ले गरेको अध्ययन ‘नेपाल्स एक्सपोट्र्स अफ गुड्स एन्ड सर्भिसेसः कन्स्ट्रेन्ट्स एन्ड इनेबलर्स’ले यस्तो निष्कर्ष निकालेको हो । अध्ययन मंगलबार काठमाडौंमा एडीबी, अर्थ मन्त्रालय, सावती र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयुक्त आयोजनामा सार्वजनिक गरिएको हो ।
अध्ययनका क्रममा ५० वटा फर्मसँग अन्तर्वार्ता लिइएको थियो भने ४५ वटा फर्मले संरचित प्रश्नावली पूरा गरेका थिए । तीमध्ये ३८ वटा निर्यातकर्ता थिए । अध्ययनमा सहभागी झण्डै सबै फर्मले कुनै न कुनै प्रकारका अवरोध सामना गरिरहेको बताएका छन् ।
अध्ययनअनुसार निर्यातकर्ताका लागि वित्तीय पहुँच सबैभन्दा ठूलो चुनौती बनेको छ । सर्वेक्षणमा सहभागी करिब ८४ प्रतिशत फर्मले वित्तीय पहुँचलाई अवरोधका रूपमा उल्लेख गरेका छन् भने ५४ प्रतिशतले यसलाई ठूलो वा गम्भीर अवरोधका रूपमा मूल्यांकन गरेका छन् । वित्तीय पहुँचअन्तर्गत उच्च ब्याजदर सबैभन्दा ठूलो समस्या देखिएको छ ।
त्यसपछि ब्याजदरको परिवर्तनशीलता र कर्जा लिन आवश्यक पर्ने धितोको व्यवस्था चुनौतीका रूपमा देखिएका छन् । यसको प्रभाव विशेषगरी साना तथा मझौला व्यवसायमा बढी परेको अध्ययनले देखाएको छ ।
आयातित उत्पादन सामग्रीमा लाग्ने कर पनि निर्यातका लागि अर्को ठूलो अवरोधका रूपमा देखिएको छ । सर्वेक्षणमा सहभागी ४७ प्रतिशत फर्मले आयातित सामग्रीमा लाग्ने करलाई ठूलो वा गम्भीर अवरोधका रूपमा मूल्यांकन गरेका छन् ।
उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा अन्य सामग्री आयात गर्दा लाग्ने लागत बढ्दा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने व्यवसायीहरूको भनाइ छ ।
लजिस्टिक्स तथा व्यापार पूर्वाधारको कमजोरी, किफायती मूल्यमा जग्गा उपलब्ध नहुनु र उत्पादन सामग्री आयातमा हुने कठिनाइलाई पनि अध्ययनले प्रमुख समस्याका रूपमा औँल्याएको छ । विशेषगरी भारतबाहेकका मुलुकमा वस्तु निर्यात गर्ने फर्मले लजिस्टिक्स र व्यापार पूर्वाधारलाई सबैभन्दा ठूलो समस्याका रूपमा उल्लेख गरेका छन् ।
त्यस्तै, कमजोर सरकारी सहयोग, नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति भएपछि निर्यातमा पर्न सक्ने प्रभावबारे सीमित जानकारी, ई–कमर्समा रहेका अवरोध तथा जलवायु परिवर्तनलाई पनि निर्यातका चुनौतीका रूपमा औँल्याइएको छ ।
अध्ययन सार्वजनिक कार्यक्रममा एडीबीका नेपालका देशीय निर्देशक अर्नो काउश्वाले नेपाल उच्च मध्यम आय भएको मुलुकतर्फ अघि बढ्न तीव्र आर्थिक वृद्धि आवश्यक रहेको बताए । हाल रेमिट्यान्स र निजी उपभोगमा आधारित नेपालको आर्थिक वृद्धि मोडललाई उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनामा आधारित मोडलमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाललाई घरेलु निजी लगानी र प्रत्यक्ष वैदेशिक लगानीमार्फत रोजगारी सिर्जना, गुणस्तरीय पूर्वाधारमा पहुँच, नयाँ प्रविधिको अवलम्बन, सीप विकास, क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृंखलामा एकीकरण र निर्यातमा आधारित आर्थिक वृद्धि आवश्यक रहेको उनले बताए ।
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले पनि नेपाल रेमिट्यान्समा आधारित विकास मोडलबाट निजी लगानी, निर्यात प्रतिस्पर्धात्मकता र रोजगारी सिर्जनामा केन्द्रित विकास मोडलतर्फ अघि बढ्नुपर्ने बताए । सरकारले वित्तीय नीति निर्माण, डिजिटलाइजेसन प्रवद्र्धन तथा नेपाललाई विश्वव्यापी मूल्य शृंखलामा एकीकृत गर्ने क्रममा अध्ययनका निष्कर्षलाई आधारका रूपमा उपयोग गर्न सक्ने उनले बताए ।
सावतीका वरिष्ठ अनुसन्धान अधिकृत क्षितिज दाहालले जलवायु परिवर्तन नेपालको निर्यातका लागि महत्वपूर्ण जोखिमका रूपमा देखा परेको बताए । सर्वेक्षणमा सहभागी निर्यातकर्ताले अलैंची र चियाजस्ता प्रमुख निर्यातजन्य वस्तुको उत्पादनमा जलवायु परिवर्तनले असर गरिरहेको बताएका थिए ।
तर, अध्ययनले नेपालको निर्यात विस्तारका केही सकारात्मक सम्भावनासमेत देखाएको छ । बढ्दो नेपाली डायस्पोरा र उनीहरूको व्यावसायिक सम्पर्क, भारतीय बजारमा भन्साररहित पहुँच तथा विदेशी खरिदकर्तामाझ नेपालको सकारात्मक छविलाई निर्यातका अवसरका रूपमा औँल्याइएको छ । व्यापार मेला, गन्तव्य मुलुकमा रहेका व्यक्तिगत सम्पर्क, निर्यात गृह तथा डिजिटल मार्केटिङले पनि निर्यात विस्तारमा सहयोग गरिरहेको अध्ययनले देखाएको छ ।
आईटी र पर्यटनमा ठूलो सम्भावना
अध्ययनले सूचना प्रविधि सेवाको निर्यातमा नेपालले ठूलो सम्भावना बोकेको देखाएको छ । विश्वव्यापी रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराइने सेवाको माग बढिरहेको उल्लेख गर्दै अध्ययनले सन् २०२२ मा नेपालको आईटी निर्यातबाट करिब ५१५ मिलियन अमेरिकी डलर आम्दानी भएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ६४.२ प्रतिशत बढी हो ।
तर, तथ्यांक संरक्षण, साइबर सुरक्षा तथा बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी कमजोरी, समग्र आईटी निर्यात नीतिको अभाव, सफ्टवेयरलगायत आवश्यक सामग्री खरिदका लागि विदेशी मुद्रा प्राप्त गर्न कठिनाइ, कमजोर डिजिटल पूर्वाधार र दक्ष जनशक्तिको अभावलाई आईटी निर्यातका प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ । दक्ष जनशक्तिको बढ्दो संख्या, तुलनात्मक रूपमा कम श्रम लागत तथा डायस्पोरासँगको सम्बन्धलाई भने नेपालको आईटी क्षेत्रका प्रमुख फाइदाका रूपमा उल्लेख गरिएको छ ।
पर्यटन क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वित रणनीतिको अभाव, लक्षित प्रवद्र्धनको कमी, पर्याप्त विकास नभएका पर्यटकीय गन्तव्य, सीमित अन्तर्राष्ट्रिय हवाई सम्पर्क तथा दक्ष जनशक्तिको अभावलाई प्रमुख अवरोधका रूपमा पहिचान गरिएको छ ।
अध्ययन सार्वजनिकपछि ‘नेपाल्स एक्सपोट्र्स अफ गुड्स एन्ड सर्भिसेस–एड्रेसिङ कन्स्ट्रेन्ट्स एन्ड अनलकिङ अपरच्युनिटिज इन मर्चेन्डाइज ट्रेड, आईटी सर्भिसेस एन्ड टुरिजम’ विषयमा प्यानल छलफलसमेत भएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव हुमकला पाण्डेले सरकारले निर्यात प्रवद्र्धनका लागि नयाँ कार्यविधि ल्याएको जानकारी दिइन् । सरकारले सेवा व्यापारका लागि राष्ट्रिय रणनीतिका रूपमा नेपाल व्यापार एकीकरण रणनीति २०८१ ल्याएको तथा छुर्पी, गलैंचा र अदुवालगायत विशिष्ट वस्तुका लागि निर्यात रणनीति तयार गरेको उनले बताइन् । उत्पादनमा आधारित प्रोत्साहन उपलब्ध गराउन नयाँ कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको पनि उनले जानकारी दिइन् ।
नेपाल राष्ट्र बैंकका उपनिर्देशक विष्णु सुवेदीले उत्पादकदेखि निर्यातकर्तासम्मको सम्पूर्ण मूल्य शृंखलामा रहेका व्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर निर्यात सहजीकरणका लागि प्रयास भइरहेको बताए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्तले नेपालमा डेस्टिनेसन वेडिङको ठूलो सम्भावना रहेको बताए । उच्च मूल्यका उपकरण आयात गर्दा देखिने भन्सारसम्बन्धी जटिलता तथा धरौटी राख्नुपर्ने समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
एडीबीका प्रिन्सिपल इकोनोमिस्ट यान ह्यान्सनले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेको प्रमाणित गर्न कठिनाइ भइरहेको बताए ।
नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष दर्शन श्रेष्ठले महिला तथा लैंगिक दृष्टिले उत्तरदायी व्यापार तथा निर्यात नीति आवश्यक रहेको बताइन् । महिलालाई समेट्ने निर्यात प्रणाली निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का कार्यसमिति सदस्य पशुपति देव पाण्डेले व्यापार तथा निर्यात नीतिका कमजोरी, अपर्याप्त पूर्वाधार तथा क्षमता विकासको सीमितताका कारण नेपालको निर्यात वृद्धि सुस्त रहेको बताए ।
नेपाल निर्यात महासंघका वरिष्ठ उपाध्यक्ष देव आनन्द सरावगीले आयातित कच्चा पदार्थमा अत्यधिक निर्भर रहँदा अन्तर्राष्ट्रिय बजारमा नेपालको निर्यात प्रतिस्पर्धात्मकता कमजोर भएको बताए ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आइटी)का अध्यक्ष दीपिन चापागाईंले सूचना प्रविधि नेपालको नयाँ तथा उच्च सम्भावना बोकेको क्षेत्र भएको र यसले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्ने बताए ।
समापनमा एडीबीका वरिष्ठ अर्थशास्त्री मनबरसिंह खड्काले अध्ययनले नेपालको निर्यात सम्भावना, निजी क्षेत्रले सामना गरिरहेका प्रमुख अवरोध तथा सफल निर्यातका लागि आवश्यक आधारबारे महत्वपूर्ण विश्लेषण प्रस्तुत गरेको बताए ।
अध्ययन एडीबीको नेपालका लागि कन्ट्री पार्टनरसिप स्ट्राटेजी ९२०२५–२०२९० तयार गर्न तथा नेपालको नयाँ आर्थिक वृद्धि मोडलको खोजीमा सहयोग पुर्याउने उद्देश्यले गरिएको जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्