Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोडभन्दा बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोडभन्दा बढी राजस्व सङ्कलन
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी २६ करोड १९ लाख ३१ हजार १७७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित चेकजाँच, सचेतनामूलक अभियान तथा ट्राफिक नियम पालनामा कडाइ गरिएको जानकारी दिए । उनका अनुसार चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले एउटै कसुरमा पटकपटक संलग्न हुने चालकमाथि थप कडाइ गरिएको बताए । पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग मा पत्र पठाइएको उनले जानकारी दिए । हालसम्म ३१ जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको छ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म काठमाडौँ उपत्यकाभित्र चार हजार ६३१ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १७४ जनाले ज्यान गुमाएका छन् भने १८६ जना गम्भीर घाइते भएका छन् । साथै चार हजार ९२७ जना सामान्य घाइते भएका छन् । ट्राफिक प्रहरीले तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लेन मिच्ने तथा रातोबत्ती उल्लङ्घन गर्ने गतिविधिका कारण दुर्घटनाको जोखिम बढिरहेको जनाएको छ ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार विशेष ट्राफिक चेकिङ अभियानअन्तर्गत तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको हो ।

कारबाहीमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने २३ हजार ४८, रातोबत्ती उल्लङ्घन गर्ने २८ हजार ३०८, तीव्र गतिमा सवारी चलाउने २३ हजार ७७२, लेनक्रस गर्ने २३ हजार ९८४, सवारीको स्वरूप परिवर्तन गर्ने एक हजार ४५०, बढी भाडा असुल्ने ८९०, लागुपदार्थ सेवन (लापसे) गर्ने १२४, यान्त्रिक अवस्था ठीक नभएका दुई हजार ८३१, मोड्न निषेध उल्लङ्घन गर्ने ३७ हजार ४७२, हर्न निषेध उल्लङ्घन गर्ने छ हजार २५७, डबल चालक ३५० तथा लाइसेन्सबिना सवारी चलाउने १० हजार ४८९ चालक रहेका छन् । अन्य विभिन्न कसुरमा दुई लाख १४ हजार ५८७ चालक कारबाहीमा परेका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख अधिकारीले पछिल्लो समय उपत्यकामा ट्राफिक व्यवस्थापन व्यवस्थित बनाउन डिजिटल निगरानी, सिसिटिभीमार्फत अनुगमन तथा विशेष चेकिङ अभियानलाई तीव्र बनाइएको बताए । “सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सक्रिय रूपमा अनुगमन र चेकजाँचमा लागेको छ,’ उनले भने, ‘यसका लागि चालक र यात्रु दुवैको सचेतना आवश्यक छ ।’

प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएकाले यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन आग्रह गरेको छ । ट्राफिक प्रहरीले नियम पालना, सुरक्षित यात्रा र अनुशासित सवारी सञ्चालनमार्फत मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै चालक तथा सर्वसाधारणलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit