काठमाडौं । यती एअरलाइन्सले बडादशैंलाई लक्षित गर्दै काठमाडौं बाहिर जाने उडानमा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ।
दशैंका बेला बाहिरिने यात्रुको चाप अत्यधिक हुने र फर्कने उडान तुलनात्मक रूपमा खाली हुने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले यस्तो व्यवस्था गरेको हो।
यती एअरलाइन्सका अनुसार यात्रुको चाप व्यवस्थापन गर्न काठमाडौं बाहिर जाने उडानमा अपर क्लासको भाडा नलिने व्यवस्था गरिएको छ। त्यस्तै, बाहिरबाट काठमाडौं फर्कने उडानमा भने यात्रुलाई सहज हुने गरी न्यून दरमै टिकट उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।
कम्पनीले दशैंको समयमा एकतर्फी यात्रुको चाप बढी हुने भएकाले उडान व्यवस्थापनलाई सन्तुलित बनाउन यस्तो पहल गरिएको जनाएको छ। यसबाट दशैंमा घर जाने यात्रुलाई हवाई यात्रामा केही राहत पुग्ने कम्पनीको अपेक्षा छ।
यती एअरलाइन्सले पछिल्लो समय विभिन्न भागमा जारी युद्धका कारण हवाई इन्धनको मूल्यमा ठूलो वृद्धि भएको जनाएको छ। कम्पनीका अनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य भएको कम्पनीको दाबी छ।
इन्धनको मूल्यमा भएको उल्लेख्य वृद्धिका कारण गत वर्षको जस्तो सस्तो दरमा हवाई भाडा उपलब्ध गराउन कठिन भएको कम्पनीले जनाएको छ। यतीले इन्धनको मूल्यवृद्धिको प्रत्यक्ष असर हवाई सञ्चालन खर्चमा परेको भन्दै यात्रुसँग दुःखसमेत व्यक्त गरेको छ।
दशैंको समयमा यात्रुको माग उच्च रहने भए पनि इन्धनको बढ्दो लागतका कारण हवाई सेवा सञ्चालन चुनौतीपूर्ण बन्दै गएको कम्पनीको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्