Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

कांग्रेसको अबको प्राथमिकता आर्थिक रूपान्तरण : उपसभापति चौधरी

कांग्रेसको अबको प्राथमिकता आर्थिक रूपान्तरण : उपसभापति चौधरी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले देशको आर्थिक रूपान्तरणलाई पार्टीको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताएका छन् । उनले युवाका आकांक्षा सम्बोधन गर्दै रोजगारी, उद्यमशीलता र लगानीमैत्री वातावरण निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै चौधरीले पार्टीले राजनीतिक परिवर्तनको इतिहासलाई अब आर्थिक समुन्नतिको नयाँ अध्यायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।‘राजनीति धेरै भयो, अबको हाम्रो सबैभन्दा महत्वपूर्ण प्राथमिकता भनेको आर्थिक रूपान्तरण नै हो,’ उनले भने । चौधरीका अनुसार कांग्रेसको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई नयाँ सोच, दृष्टिकोण र कार्यदिशा तय गर्ने अवसर पनि हो । बदलिँदो समय र नागरिकका अपेक्षाअनुसार पार्टीले आफ्नो भूमिका परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । उनले पछिल्लो समय युवामा देखिएको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न आर्थिक अवसर विस्तार गर्नुपर्ने बताए ।

युवाले आफ्नो सीप र क्षमताअनुसार स्वदेशमै रोजगारी तथा व्यवसाय गर्ने अवसर खोजिरहेको उल्लेख गर्दै उनले उद्यम र व्यापारको विकासबाट मात्रै मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राखे । ‘उद्यम र व्यापारको माध्यमबाट मात्र मुलुक बन्न सक्छ, केवल राजनीतिबाट मात्र मुलुक बन्न सक्दैन भन्ने कुराको परिणाम र सन्देश हामीले जेनजीको मुभमेन्टबाट पनि देख्यौँ,’ चौधरीले भनेका छन्।यसैगरी, उनले जेनजी आन्दोलनलाई युवाको व्यक्तिगत असन्तुष्टिमा मात्र सीमित नभई देशभित्र र बाहिर रहेका नागरिकको परिवर्तनप्रतिको चाहनाको अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार राजनीतिक प्रक्रिया र राज्य सञ्चालनको विद्यमान शैलीप्रति देखिएको असन्तुष्टिले आर्थिक तथा प्रशासनिक सुधारको आवश्यकता उजागर गरेको छ ।

रोजगारी र लगानीमैत्री वातावरणमा जोड

चौधरीले निजी क्षेत्र, उद्योग तथा व्यवसायको विस्तारका लागि सहज वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । व्यवसाय सञ्चालनमा अनावश्यक प्रशासनिक झन्झट, भ्रष्टाचार र प्रक्रियागत अवरोध हटाउनुपर्ने उनको धारणा छ ।‘रोजगारीदेखि लिएर खुला रूपले काम गर्न सक्ने, बिना कुनै झन्झट ब्युरोक्रेसी, करप्सन र रेडटेपिजमबिना काम गर्ने वातावरण बनाएको एउटा परिवर्तित मुलुकका रूपमा’ नेपाललाई अघि बढाउनुपर्ने उनले बताए ।

उनले प्रविधिमैत्री र प्रक्रियामा आधारित कार्यप्रणाली विकास गर्नुपर्नेमा पनि जोड दिए । सरकारले घोषणा गरेका नीति प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुने उल्लेख गर्दै उनले नीतिगत स्थिरता र कार्यान्वयनमा विश्वसनीयता आवश्यक रहेको बताए । चौधरीले नेपालमा मात्रै नभई विदेशमा रहेका नेपालीहरूमा पनि स्वदेश फर्किएर केही गर्ने चाहना रहेको उल्लेख गरेका छन् । देशभित्र लगानी, व्यवसाय र रोजगारीका अवसर विस्तार गर्न सके विदेशमा रहेका नेपालीको सीप, पुँजी र अनुभवलाई समेत मुलुकको विकासमा उपयोग गर्न सकिने उनको भनाइ छ । ‘नेपालभन्दा बाहिर बसेका नेपालीहरूले खोजेको जस्तो नेपाल र नेपालभित्रै बसेका नेपालीहरूको पनि छाती अझ चौडा हुने नेपाल बनाउन सक्छ र यसले बनाउँछ भन्ने विश्वास’ आफूमा रहेको उनले बताए ।

राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने

कांग्रेसको ऐतिहासिक भूमिकाको चर्चा गर्दै चौधरीले पार्टीले विगतमा विभिन्न राजनीतिक परिवर्तनको नेतृत्व गरेको उल्लेख गरे। अब भने राजनीतिक उपलब्धिलाई आर्थिक विकास र नागरिकको जीवनस्तरमा सुधारसँग जोड्नुपर्ने उनको भनाइ छ । उनले २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०४६ सालको प्रजातन्त्र पुनर्बहाली र त्यसपछिको आर्थिक सुधारको प्रसंग उल्लेख गर्दै कांग्रेसले विगतमा राजनीतिक तथा आर्थिक परिवर्तनका विभिन्न चरणमा भूमिका खेलेको बताए ।२०४८ देखि २०५१ सालसम्मको अवधिलाई स्मरण गर्दै उनले त्यसबेला अघि बढाइएको आर्थिक सुधारको एजेन्डाले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पारेको उल्लेख गरे । उनका अनुसार अब कांग्रेसको जिम्मेवारी राजनीतिक इतिहासमा सीमित नरही आर्थिक क्रान्तिको एजेन्डालाई व्यवहारमा उतार्नु हो । यसका लागि पार्टी नेतृत्व र पदाधिकारीले स्पष्ट प्राथमिकता निर्धारण गरी परिणाममुखी ढंगले काम गर्नुपर्ने उनले बताए ।

उपसभापतिको जिम्मेवारीलाई आर्थिक रूपान्तरणको एजेन्डासँग जोड्ने

चौधरीले उपसभापतिमा निर्वाचित हुनुलाई आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिँदै आफूले पाएको जिम्मेवारीलाई आर्थिक रूपान्तरणको एजेन्डा अघि बढाउन उपयोग गर्ने प्रतिबद्धता जनाए । उनले आफू सन् २०१४ देखि सक्रिय रूपमा राजनीतिमा विभिन्न भूमिकामा संलग्न हुँदै आएको उल्लेख गरेका छन् । संविधानसभामा रहँदा व्यवसायमैत्री व्यवस्था, उदार अर्थतन्त्र, लगानी र सम्पत्तिको अधिकार संरक्षण गर्ने विषयमा काम गरेको उनको भनाइ छ । त्यसपछि पार्टी संगठन र स्थानीय निर्वाचनमार्फत जनतासँगको सम्बन्ध विस्तार गर्दै केन्द्रीय सदस्य बनेको तथा दुईवटा आमनिर्वाचनमा सहभागी भएको उनले बताए ।

नवलपरासीका मतदाताले पनि आर्थिक विकास र परिवर्तनको अपेक्षासहित आफूलाई निर्वाचित गराएको उनको बुझाइ छ । अब पार्टीको बृहत् भूमिकामा रहेर आर्थिक रूपान्तरणको एजेन्डालाई अघि बढाउने उनले बताएका छन् । ‘हामीसँग धेरै समय छैन, अत्यन्त कम समयमा नेपाली कांग्रेसले त्यो दिनुपर्छ भन्ने मेरो मान्यता हो,’ उपसभापति चौधरीले भने, ‘त्यसका लागि म दिनरात आफ्ना पार्टीका नेतृत्व र पार्टीका सहभागी पदाधिकारी साथीहरूसँग काम गरिरहनेछु ।’उनले युवाका सपना, नागरिकका अपेक्षा र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर समयअनुकूलको सशक्त, गतिशील र जनउत्तरदायी कांग्रेस निर्माण गर्नुपर्ने बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit