काठमाडौं। गृहमन्त्री सुधन गुरुङले नेपाली उत्पादनको भारतीय बजारमा पहुँच सहज बनाउन र निर्यातमा देखिएका गैरभन्सार अवरोध हटाउन भारतसमक्ष पहल गरेका छन्।
भारतको नयाँ दिल्लीमा आयोजित बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन पुगेका गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँगको भेटमा नेपाली वस्तुको निर्यातमा देखिएका प्राविधिक समस्या समाधान गर्न आग्रह गरेका हुन्।
गुरुङले विशेषगरी नेपाल गुणस्तर चिह्न (एनएस) र भारतीय गुणस्तर चिह्न (बीआईएस) बीच समकक्षता कायम गर्न आवश्यक पहल गर्न शाहको ध्यानाकर्षण गराएका छन्। नेपाली उत्पादनले एनएस चिह्न प्राप्त गरे पनि भारतीय बजारमा निर्यात गर्दा बीआईएस प्रमाणीकरणसम्बन्धी प्रक्रियाका कारण समस्या भोग्नुपरेको उनको भनाइ थियो। गुरुङको प्रस्तावप्रति भारतीय गृहमन्त्री शाहले सकारात्मक प्रतिक्रिया दिँदै सम्बन्धित मन्त्रालयसँग छलफल गरेर विषयलाई छिटो टुंग्याउने प्रतिबद्धता जनाएको बताइएको छ।

बिमस्टेक बैठकका क्रममा मंगलबार भएको द्विपक्षीय भेटमा पनि दुई देशका साझा सुरक्षा चासोका अतिरिक्त नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा प्रवेशका लागि सामना गरिरहेका प्राविधिक अवरोधबारे छलफल भएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ। गृहमन्त्रीले भनेका छन्, ‘भेटका अवसरमा मैले नेपाली उद्योगी तथा व्यापारीहरुका भारतीय बजार पहुँचका लागि सामना गर्नुपरेका चुनौतीहरु, भारतमा रहेका प्रवासी नेपालीहरुले भोग्नु परेको समस्याका विषयमा भएको छलफलमा भारतीय पक्षबाट आवश्यक समन्वय गर्ने प्रतिवद्धता भएको थियो।’
नेपाली उत्पादनको बजार पहुँचमा जोड
गुरुङको भारत भ्रमणअघि नेपाली उद्योगी व्यवसायीले भारतीय बजारमा नेपाली उत्पादनको निर्यात सहज बनाउन सरकारबाट पहल हुनुपर्ने माग राखेका थिए। त्यसका लागि उनले सिंहदरबारमा करिब दुई दर्जन उद्योगी व्यवसायीसँग छलफलसमेत गरेका थिए। उक्त छलफलमा राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) का अध्यक्ष कुशकुमार जोशीले नेपाल र भारतबीच एनएस तथा बीआईएसको समकक्षता कायम गर्नुपर्ने विषय उठाएका थिए। भारतीय गुणस्तर चिह्न प्राप्त वस्तु नेपालमा सहज रूपमा भित्रिने तर नेपाली उत्पादनले भारतीय बजारमा निर्यात गर्दा गैरभन्सार अवरोध सामना गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको माग थियो।

हाल सिमेन्ट, प्लाइउड, जुत्ताचप्पल तथा वायरलगायतका वस्तु भारत निर्यात गर्दा बीआईएस प्रमाणीकरण र त्यसको नवीकरणसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ। केही वस्तुको प्रमाणपत्र नवीकरण हुन नसक्दा निर्यातसमेत प्रभावित भएको उद्योगीहरूको भनाइ छ। एनएस र बीआईएसबीच समकक्षता कायम हुन सके प्रत्येक पटक प्रमाणीकरण नवीकरण गर्नुपर्ने झन्झट घट्ने र नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
सीमा क्षेत्रमा डिजिटल निगरानीको प्रस्ताव
गृहमन्त्री गुरुङले नेपाली उत्पादनको निर्यातमा सहजीकरणसँगै सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणको विषय पनि उठाएका छन्। उनले भारतीय गृहमन्त्री शाहसँगको भेटमा सीमा नाकामा ड्रोन तथा क्यामेरामार्फत डिजिटल निगरानी बढाउने प्रस्ताव राखेका हुन्। सीमा क्षेत्रमा हुने अवैध व्यापारले नेपाली उद्योग तथा व्यवसायमा असर पारिरहेको भन्दै यसको नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको गुरुङको धारणा छ।
यसअघि उद्योगी व्यवसायीसँगको छलफलमा पनि उनले सीमा क्षेत्रमा प्रविधिको प्रयोग बढाएर अवैध कारोबार नियन्त्रण गर्ने योजना अघि बढाइरहेको बताएका थिए। तत्कालीन उपायले मात्र समस्या समाधान नहुने भएकाले डिजिटल निगरानी प्रणालीमार्फत प्रभावकारी नियन्त्रणको प्रयास गर्नुपर्ने उनको भनाइ थियो। उद्योगीहरूले पनि अवैध रूपमा आयात हुने वस्तुका कारण स्वदेशी उत्पादनले प्रतिस्पर्धामा कठिनाइ भोगिरहेको भन्दै सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्दै आएका छन्।
बिमस्टेक बैठकका क्रममा गृहमन्त्री गुरुङले सुरक्षा सहकार्य, व्यापार सहजीकरण र सीमापार अपराध नियन्त्रणका विषयलाई प्राथमिकतामा राखेका छन्। भारतीय पक्षले एनएस–बीआईएस समकक्षताको विषयमा जनाएको प्रतिबद्धता कार्यान्वयनमा आए नेपाली वस्तुको भारतीय बजारमा पहुँच विस्तार गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्