Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च बनाउने, ४५ दिनको समयसीमा

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च बनाउने, ४५ दिनको समयसीमा
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको खुलामञ्च परिसर आफ्नै खर्चमा मर्मत तथा पुनःस्थापना गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

महाधिवेशनका क्रममा बिग्रिएको खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले नयाँ दुबो रोप्ने, जमिन सम्याउने र आवश्यक स्याहारसम्भार गर्ने जिम्मेवारी लिएको हो। असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा क्षति पुगेका संरचना तथा हरियालीको पुनःस्थापनाका लागि कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिसँग सम्झौता गरेको छ। काठमाडौं महानगरपालिकाको नियम तथा मापदण्डअनुसार खुलामञ्चलाई पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउने उद्देश्यले सम्झौता गरिएको हो।

सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा  माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चका विभिन्न भागमा जमिन सम्याएर उच्च गुणस्तरको दुबो रोपिनेछ। रोपिएको दुबोको उचित वृद्धिका लागि प्राविधिक रेखदेख, सिँचाइ तथा आवश्यक स्याहारसमेत गरिनेछ। पुनःस्थापनामा लाग्ने सम्पूर्ण खर्च कांग्रेस आफैँले बेहोर्ने सहमति भएको हो।

खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन ४५ दिनको समयसीमा निर्धारण गरिएको छ। निर्धारित समयमध्ये पहिलो १५ दिनभित्र दुबो रोप्ने काम सम्पन्न गरिनेछ भने बाँकी ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने र परिसरलाई हराभरा बनाउने कार्यमा खर्च गरिनेछ। दुबो रोप्ने तथा त्यसको स्याहार र संरक्षण गर्ने कार्यमा कांग्रेस केन्द्रीय कार्यालयले नेपाली कांग्रेस काठमाडौं महानगर समितिलाई स्वयंसेवक परिचालनको जिम्मेवारी दिएको छ। उक्त कार्यको संयोजन काठमाडौं महानगर समितिका सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन्।

पुनःस्थापनाको काम सम्पन्न भएपछि काठमाडौं महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्च परिसरलाई हस्तान्तरण गरिने वैद्यले बताए। सम्झौतामा कुल रकमको ८० प्रतिशत पेश्कीका रूपमा उपलब्ध गराउने र बाँकी २० प्रतिशत रकम काम सम्पन्न भएपछि भुक्तानी गर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। सार्वजनिक स्थलमा राजनीतिक तथा अन्य ठूला कार्यक्रम आयोजना गर्दा त्यसबाट हुने क्षतिको जिम्मेवारी आयोजकले नै लिनुपर्ने विषयलाई यो सम्झौताले पुनः चर्चामा ल्याएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit