काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट करसहित ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारस्थित सभाहलमा सम्पन्न साधारण सभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि छलफल गरेपछि सभाले लाभांश वितरणसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको हो ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ। यसैगरी, कम्पनीका नवनियुक्त सञ्चालकहरूको नियुक्तिलाई पनि सभाले अनुमोदन गरेको छ । सभामा कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रतिनिधि, बाह्य लेखापरीक्षक तथा आरविवि म्युचुअल फण्ड १ र २ का लेखापरीक्षकहरूको पनि उपस्थिति थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आरविवि म्युचुअल फण्ड १ ले २.७५ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ ले ६ प्रतिशत नगद लाभांश वितरण गरेका छन् । सोही आर्थिक वर्षका लागि आरविवि मर्चेन्ट बैंकिङले भने चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।















प्रतिक्रिया दिनुहोस्