काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढीबाट प्रभावितलाई २६ करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीका अनुसार असोज २९ गतेसम्म कुल २६ करोड ९ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरिएको हो।
बाढीबाट प्रभावित बीमितलाई तत्काल आर्थिक राहत उपलब्ध गराउने तथा प्राकृतिक विपद्का कारण परेको आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले कम्पनीले उक्त रकम भुक्तानी गरेको जनाएको छ। कम्पनीका अनुसार हालसम्म २३ करोड ५ लाख ३९ हजार ७८२ रुपैयाँ ७५ पैसा अग्रिम भुक्तानी गरिएको छ। त्यस्तै, ३ करोड ३ लाख ८२ हजार ४५२ रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरिएको छ।
प्रभावित क्षेत्रका बीमितलाई राहत उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिँदै सलिकोले दाबी भुक्तानी प्रक्रियालाई थप सहज, प्रभावकारी र छरितो बनाउन आवश्यक पहल गरिरहेको जनाएको छ। यसका लागि सम्बन्धित बीमित तथा सेवाग्राहीलाई आवश्यक कागजात यथाशीघ्र उपलब्ध गराउन कम्पनीले आग्रह गरेको छ। आवश्यक कागजात समयमै प्राप्त भएमा दाबीको मूल्याङ्कन र भुक्तानी प्रक्रियालाई थप तीव्रता दिन सकिने कम्पनीको भनाइ छ।
प्राकृतिक विपद्का कारण व्यवसाय, सम्पत्ति तथा जनजीवनमा पर्ने आर्थिक असर कम गर्न बीमा क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने कम्पनीले जनाएको छ। विपद्का बेला बीमा दाबी भुक्तानीले प्रभावित व्यक्ति तथा व्यवसायलाई आर्थिक क्षति व्यवस्थापन गर्न र पुनःस्थापनाको प्रक्रियामा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्