काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रूपमा बढाएको छ ।
अब तोकिएको अवधिमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको आ.प्रा. निर्देशन नं. ५/०८२ को बुँदा नं. ३ को उपबुँदा २ अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो ।
राष्ट्र बैंकका अनुसार बडादशैंको अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र शुभ दीपावली तथा छठ पर्वको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ । यस व्यवस्थाअन्तर्गत तोकिएको अवधिमा भएका वालेट कारोबारको संख्या र कारोबारको कुल रकम विभागलाई जानकारी गराउनसमेत राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।















प्रतिक्रिया दिनुहोस्