Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बिहानैदेखि देशभरका शिवालयमा महाशिवरात्रिको उल्लास, भक्तजनको घुइँचो

बिहानैदेखि देशभरका शिवालयमा महाशिवरात्रिको उल्लास, भक्तजनको घुइँचो
विज्ञापन
Advertisement

काठमाडौं । आज शिवरात्रि पर्वका अवसरमा देशभरका शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । शिवरात्रिको दिन भगवान् शिवको पूजाआजा र भजनकीर्तन गरी उपवास बसेमा मनोकामना पूरा हुने जनविश्वाससहित आज बिहानैदेखि शिवालयमा दशनार्थीको घुइँचो लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

धार्मिक तथा ऐतिहासिक महत्व बोकेका कैलालीको धनगढीस्थित बेहडाबाबा मन्दिर, शिवपुरी उत्तररामेश्वरम् ज्यार्तिलिङ्गधामलगायत शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको बेहडाबाबा मन्दिरमा व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । आज मन्दिर परिसर नजिक मेलाको पनि आयोजना गरिएको भन्दै मेलामा कैलालीका साथै छिमेकी जिल्लाका बासिन्दा तथा भारतबाट पनि दर्शनार्थी आएको उनले बताए । उनका अनुसार मन्दिर परिसरमा नेपालीका साथै भारतीय व्यवसायीले केही दिनअघिदेखि यहाँ विभिन्न पूजाका सामग्रीको व्यापार गर्दै आएका छन् ।

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा महाशिवरात्रि पर्वका दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । बेनी बजारबाट तीन किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाबाट आएका भक्तजनहरूले पूजा एवं दर्शन गरिरहेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।

उहाँका अनुसार गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लाको बेनी शिवालय मन्दिरमा रहेको एक सय आठ शिवलिङ्गको पूजा गर्न पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ ।

पहाडी जिल्ला लमजुङमा रहेका विभिन्न महादेव मन्दिरमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको छ । महाशिवरात्रि पर्वमा शिव भगवानको पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वासले जिल्लाका करपुरेश्वर, इशानेश्वर, करापुटार, त्रिशक्तिलगायत महादेव मन्दिरमा भक्तजन पुगेका थिए ।

यस्तै, लमजुङसहित गोरखा, तनहुँ, कास्की, बागलुङ, काठमाडौंलगायत जिल्लाबाट भक्तजन दर्शनका लागि आएका इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानकारी दिए । उनका अनुसार यहाँ ठाडो बत्ती बाल्ने, दूध चढाउने, सामूहिक व्रतबन्ध, शिवमहापुराण वाचन, लोकगीत प्रतियोगिता, करापुटारे ठाडोभाका, रक्तदान, ठेलो प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषि मेला, हस्ताकला प्रदर्शनी, एक सय आठ धारामा स्नान, दर्शन गर्नेलगायत कार्यक्रम भइरहेका छन् ।

शिवरात्रिका अवसरमा सप्तरीको शम्भुनाथ महादेवसहित विभिन्न शिवालयमा बिहानैदेखि हिन्दू धर्मावलम्बीहरूको पूजापाठ र दर्शन गर्नेको घुइँचो लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिठाई तथा फलफूलसहित महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा शिव मन्दिरमा पूजाआजाका लागि लामबद्ध छन् ।

साथै जिल्लाको महादेवा गाउँपालिकास्थित शिवमन्दिर, हनुमानगर कङ्कालनी नगरपालिका–२ सकरदहीमा रहेको महादेव मन्दिर, कञ्चरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिर, बोदे बरसाइन नगरपालिका–५ स्थित हरिशङ्कर महादेव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । त्यसैगरी, महोत्तरीको सदरमकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा आज महाशिवरात्रिका अवसरमा पूजा तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको महाशिवरात्रि पूजा समारोह समितिका अध्यक्ष जितेन्द्र साहले बताए ।

उनका अनुसार भक्तजनको सहज दर्शनका लागि महिला, पुरुषको फरकफरक लाइनको व्यवस्था गरिएको छ । साथै सुरक्षा लागि जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवा खटिएका उनले जानकारी दिए । यहाँ महोत्तरीसहित धनुषा, सिरहा, सर्लाही, सिन्धुलीसहित छिमेकी मुलुक भारबाट पनि दर्शनार्थी आउने गर्छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit