काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा रहेको बताएका छन्। उनले स्वास्थ्य सेवामा लगानी बढाएर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै समग्र स्वास्थ्य क्षेत्रलाई लिएर नीति बनाउने काम भइरहेको जानकारी दिए।
‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि यस क्षेत्रमा लगानी बढाउनैपर्ने आवश्यकता आएको छ जसले गर्दा मात्रै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनसक्छ’ स्वास्थ्य मन्त्री पौडेलले भने।
यस्तै उनले सरकारले एकीकृत स्वास्थ्य सेवा ऐनको आवश्यकता औंल्याएर नीति बनाउन लागेको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा आज २८औँ स्वास्थ्य सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, ‘एकीकृत स्वास्थ्य सेवा ऐन नै ल्याउन खोजिएको हो । सबैलाई समेटेर लैजान खोजिरहेका छौँ । ऐनलाई सरोकारवासँग छलफल गरेर निष्कर्षमा पु¥याउनुपर्नेछ । स्वास्थ्य सेवाभित्रका जनशक्तिका सबै विषय ऐनभित्र समेट्ने प्रयास गरिरहेका छौँ ।’
मन्त्री पौडेलले सङ्घीयता भित्र रहेर स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा काम गर्नुपर्नेमा जोड दिए। ‘स्वास्थ्यकर्मी दबाबमा रहेर काम गर्न सक्दैनन् । काम गर्ने वातावरण निर्माण गर्नुपर्यो । जनशक्ति यहाँ बस्न चाहेका छैनन् । आवश्यक क्षमता अभिवृद्धि गर्ने वातावरण बनेको छैन रु व्यक्तिगत उन्नयनको परिस्थिति सहज बनाइनुपर्छ । यो पनि स्वास्थ्य सेवा ऐनमा समावेश गर्नुपर्छ ।’
स्वास्थ्य मन्त्रालयका पूर्वसचिव रोशन पोखरेलले स्वास्थ्य सेवालाई विशेष बनाउन छुट्टै स्वास्थ्य सेवा ऐन बनाउनुपर्ने धारणा राखे। उनले भने, ‘कर्मचारीलाई उत्प्रेरणा पनि आवश्यक छ । दरबन्दीको समस्या हल गर्नुपर्नेछ । सङ्घीयतामा स्वास्थ्य सेवालाई कहाँ राख्ने त्यो स्पष्ट हुनुपर्छ । स्वास्थ्य सेवालाई एकै ठाउँमा नल्याउने हो भने यसको नतिजा राम्रो आउन सक्दैन ।’
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले अरु क्षेत्रका तुलनामा स्वास्थ्यका विभिन्न सूचकमा उल्लेखीय प्रगति हुनु सुखद् पक्ष भएको उल्लेख गरे । ‘विभिन्न चुनौतीका बिचमा पनि स्वास्थ्यका सूचकमा राम्रो सुधार देखिएको छ । यद्यपी अझै पनि दूरदराजमा स्वास्थ्य सेवा पु¥याउन सकिरहेका छैनौँ । स्वास्थ्यकर्मीमा उत्प्रेरणा जगाउन जरुरी छ । एकातिर जनशक्ति पुग्न नसकेको अवस्था छ भने अर्कोतिर जनशक्ति पलायन हुने चुनौती देखिएको छ,’ पौडेलले भने ।
नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले स्वास्थ्यकर्मीको दरबन्दी समाधान गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) आवश्यक रहेको बताइ उनले एकीकृत स्वास्थ्य सेवा ऐनमा सबै तहको कर्मचारीको सल्लाह लिएर बनाउनुपर्ने धारणा राखे ।
‘सर्वसुलभ स्वास्थ्य सेवाः निरोगी नेपाल हाम्रो प्रतिबद्धता’ नारासहित आज २८औँ स्वास्थ्य सेवा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

















प्रतिक्रिया दिनुहोस्