काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र संस्थागत विश्वसनीयतामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको इन्सुरर फाइनान्सियल स्ट्रेन्थ (IFS) रेटिङलाई ‘CARE-NP BBB+’ बाट स्तरोन्नति गर्दै ‘CARE-NP A–’ प्रदान गरेको हो।
कम्पनीका अनुसार उक्त स्तरोन्नतिले आईएमई लाइफको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन तथा सुशासनप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। साथै बीमित तथा अन्य सरोकारवालामाझ कम्पनीले कायम राखेको विश्वासलाई पनि यसले पुष्टि गरेको बताइएको छ।
‘CARE-NP A–’ रेटिङले कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको तथा अघिल्लो मूल्याङ्कनको तुलनामा संस्थागत अवस्था अझ मजबुत बनेको संकेत गर्ने जनाइएको छ।
कम्पनी व्यवस्थापनले यो उपलब्धि ग्राहक, बीमित, शेयरधनी, अभिकर्ता तथा सम्पूर्ण सरोकारवालाको विश्वास र सहयोगको प्रतिफल भएको उल्लेख गरेको छ। आगामी दिनमा ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन र दीर्घकालीन वित्तीय स्थायित्वलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।
‘Ensuring Future’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको आईएमई लाइफ नेपालका अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले जीवन बीमामार्फत व्यक्तिहरू तथा परिवारको आर्थिक सुरक्षा, बचत तथा भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ विभिन्न जीवन बीमा योजनाहरू सञ्चालन गर्दै आएको छ।
देशभर फैलिएको शाखा तथा उपशाखा सञ्जाल र हजारौं अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँचलाई विभिन्न समुदायसम्म विस्तार गरेको जनाएको छ। ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत कम्पनीले नेपाली बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको दाबी गरेको छ।
व्यावसायिक गतिविधिसँगै आईएमई लाइफले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले विभिन्न अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ।
कम्पनीका अनुसार ‘CARE-NP A–’ रेटिङ प्राप्त गर्नु केवल उपलब्धि मात्र नभई उच्च व्यावसायिक मापदण्ड, उत्कृष्ट सेवा प्रवाह तथा वित्तीय सुदृढताप्रति अझ जिम्मेवार बन्ने प्रेरणा पनि हो। कम्पनीले आगामी दिनमा पनि बीमितहरूको भविष्य सुरक्षित गर्दै नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

















प्रतिक्रिया दिनुहोस्