Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

पर्यटन राजधानीपछि पोखराको पर्यटनले नयाँ उडान भरेकाे छ :मणिराज लामिछाने (अन्तर्वार्ता)

पर्यटन राजधानीपछि पोखराको पर्यटनले नयाँ उडान भरेकाे छ :मणिराज लामिछाने (अन्तर्वार्ता)
विज्ञापन
Advertisement

काठमाडाैं ।पछिल्लो समय भारतीय पर्यटकको आगामी पोखरामा ह्वात्तै बढेको छ । विशेषगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अन्य देशमा विदेशी डलर धेरै खर्च नगर्न आग्रह गरेपछि छिमेकी देश र भुगोलको कारणले पनि नेपाल पर्यटकिय गन्तब्य बन्यो । अहिले नेपालको सम्रग पर्यटन अवस्था,पोखराले धानेको पर्यटन,भौगोलिक, नीतिगत राजनीतिक रुपमा कस्तो प्रभाव पारेको छ त यी यस्तै विषयमा केन्द्रित रहेर कर्पोरेट समाचारका लागि भोजराज भण्डारीले गरेको कुराकानीको सम्पादित अंश  ः
पर्यटकको नगरी पोखरामा पछिल्लो समय पर्यटनको समग्र अवस्था कस्तो छ?
पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएपछि यसको सकारात्मक प्रभाव विभिन्न क्षेत्रमा देखिन थालेको छ। यो घोषणाले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नयाँ पहिचान दिलाएको छ। प्रदेश सरकार, पोखरा महानगरपालिका, निजी क्षेत्र तथा पर्यटन व्यवसायीहरूले पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्दै बजेट, योजना र कार्यक्रमहरू अघि बढाएका छन्।
पर्यटन राजधानीको पहिचानसँगै होटल, रेस्टुरेन्ट, ट्राभल व्यवसाय, आतिथ्य सेवा लगायतका क्षेत्रले सेवा तथा सुविधाको गुणस्तर सुधार गर्ने प्रयास गरेका छन्। नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयले पनि पछिल्लो डेढ वर्षयता अझ सक्रिय रूपमा काम गर्दै विभिन्न पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

हामीले पोखरालाई केवल प्राकृतिक सौन्दर्यको गन्तव्य मात्र नभई ‘ह्यापेनिङ डेस्टिनेसन’का रूपमा विकास गर्ने अवधारणालाई अघि बढाएका छौं। त्यसअनुसार स्थानीय सरकार, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित संघसंस्थासँग सहकार्य गरेर हरेक हप्ता राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रम आयोजना गर्ने अभ्यास सुरु गरिएको छ। यसबाट पोखराले उल्लेखनीय मिडिया कभरेज प्राप्त गरेको छ र पर्यटन प्रवद्र्धनमा थप ऊर्जा मिलेको छ।

पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढिरहेको छ। यसको मुख्य कारण के हो ?
भारतीय पर्यटकको संख्या बढ्नुका पछाडि धेरै कारण छन्। पहिलो, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रभाव निकै ठूलो छ। अहिले धेरै भारतीय ट्राभल ब्लगर, युट्युबर तथा कन्टेन्ट क्रिएटरहरू आफ्नै खर्चमा नेपाल, विशेषगरी पोखरा आएर यहाँका अनुभवहरू भिडियो र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्। यसले लाखौं सम्भावित पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गरेको छ।
दोस्रो, भारत सरकारले आफ्ना नागरिकलाई विदेशमा अत्यधिक विदेशी मुद्रा खर्च नगरी नजिकका गन्तव्यमा भ्रमण गर्न प्रोत्साहन गरिरहेको छ। नेपाल यसका लागि सबैभन्दा सहज विकल्प बनेको छ। खुला सीमा, सडकमार्गको सहज पहुँच, भाषिक तथा सांस्कृतिक समानता र यात्राको सरलताले पनि भारतीय पर्यटकलाई आकर्षित गरेको छ।

तेस्रो, नेपालमा अहिले भारतीय डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा आइसकेको छ। भारतीय पर्यटकहरूले आफ्नै मोबाइलबाट स्क्यान गरी सहज रूपमा भुक्तानी गर्न सक्ने भएपछि उनीहरूको यात्रा अझ सहज बनेको छ। यसले पर्यटनमा ठूलो सकारात्मक प्रभाव पारेको छ।यसैगरी नेपाल पर्यटन बोर्ड र विभिन्न स्थानीय निकायले उत्तर प्रदेश, बिहार, उत्तराखण्ड लगायत भारतीय सीमावर्ती क्षेत्रमा ‘चलो पोखरा’ तथा राष्ट्रिय स्तरमा ‘गर्मी से बेहाल, चलो नेपाल’ जस्ता प्रचार अभियान सञ्चालन गर्दै आएका छन्। यस्ता अभियानले पनि भारतीय बजारमा राम्रो प्रभाव पारेका छन्।

भारतीय युवामाझ नेपाल, विशेषगरी पोखरा र हिमाली क्षेत्रप्रतिको आकर्षण किन बढिरहेको छ ?
पहिले भारतीय पर्यटकहरू मुख्यतः धार्मिक यात्रा वा हनिमुनका लागि नेपाल आउने गर्थे। अहिले भने उनीहरूको यात्रा शैली परिवर्तन भएको छ। विशेषगरी युवा पुस्ता प्रकृति, पदयात्रा, हिमाली अनुभव, साहसिक पर्यटन र शान्त वातावरण खोज्दै नेपाल आउन थालेका छन्।

यसमा भारतीय चलचित्रहरूको पनि ठूलो भूमिका रहेको छ। ‘ये जवानी है दिवानी’ जस्ता चलचित्रले हिमाली ट्रेकिङ संस्कृतिलाई लोकप्रिय बनायो भने ‘ऊँचाई’ जस्तो चलचित्र नेपालमै छायाङ्कन भएपछि नेपाली हिमाली गन्तव्यप्रति भारतीय दर्शकको आकर्षण अझ बढ्यो। यी चलचित्रहरूले नेपाललाई साहसिक तथा प्राकृतिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा प्रस्तुत गरेका छन्।

त्यसैगरी अहिले भारतीय युवाहरू ठूलो सहरको भीडभन्दा प्रकृतिसँग नजिक, शान्त र स्वच्छ वातावरण खोज्न थालेका छन्। पोखरा, अन्नपूर्ण क्षेत्र र अन्य हिमाली गन्तव्यहरू यसका लागि उपयुक्त भएकाले उनीहरूको रोजाइमा नेपाल परेको हो।

यससँगै भारतीय भ्लगर र सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरहरूले नेपालका सुन्दर गन्तव्यहरू निरन्तर प्रचार गरिरहेका छन्। त्यसको प्रत्यक्ष प्रभाव भारतीय पर्यटकको आगमनमा देखिएको छ।

नेपाल आउने पर्यटकको खर्च गर्ने क्षमता घट्दै गएको छ, पर्यटकको बसाइ अवधि र खर्च बढाउन के–कस्ता रणनीति अपनाइँदै छन् ?

सबैभन्दा पहिलो हाम्रो प्राथमिकता नेपालमा सकेसम्म धेरैभन्दा धेरै पर्यटक भि¥याउने हो । त्यसपछि नेपाल आएका पर्यटकले लामो समय बसून्, विभिन्न गतिविधिमा सहभागी होऊन् र स्थानीय अर्थतन्त्रमा बढी योगदान पु¥याऊन् भन्ने हाम्रो उद्देश्य हो।

पछिल्लो समय पर्यटकको औसत खर्च घटेको भन्ने तथ्यांक धेरै चर्चा हुने गरेको छ। तर यसलाई बुझ्दा केही प्राविधिक पक्ष पनि हेर्न आवश्यक हुन्छ। धेरैजसो अन्तर्राष्ट्रिय तथ्यांक अमेरिकी डलरमा आधारित हुन्छन्। पछिल्ला वर्षहरूमा अमेरिकी डलरको विनिमयदर उल्लेख्य रूपमा बढेकाले नेपाली रुपैयाँमा पर्यटकले उस्तै वा अझ बढी खर्च गरे पनि डलरमा हिसाब गर्दा खर्च कम देखिएको हो।

उदाहरणका लागि, पहिले कुनै सेवाको मूल्य ६०० रुपैयाँ हुँदा त्यो करिब ६ डलर बराबर पथ्र्यो भने अहिले त्यही ६०० रुपैयाँ करिब ४–५ डलरमा सीमित हुन्छ। अर्थात् नेपाली रुपैयाँमा खर्च धेरै परिवर्तन नभए पनि डलरमा रूपान्तरण गर्दा खर्च घटेको जस्तो देखिएको हो।

भारतीय पर्यटकको हकमा पनि अवस्था लगभग यस्तै छ। उनीहरूले दैनिक औसत खर्च गर्ने रकममा खासै ठूलो गिरावट आएको छैन। उनीहरू अझै पनि होटल, खानपान, यातायात र मनोरञ्जनमा उल्लेख्य खर्च गरिरहेका छन्।

यद्यपि आगामी दिनमा पर्यटकको खर्च र बसाइ अवधि दुवै बढाउन नयाँ पर्यटन उत्पादन विकास गर्नु आवश्यक छ। साहसिक पर्यटन, वेलनेस पर्यटन, सांस्कृतिक अनुभव, ग्रामीण पर्यटन, सम्मेलन तथा खेलकुद पर्यटनजस्ता गतिविधि विस्तार गर्न सकियो भने पर्यटक धेरै दिन बस्ने र स्वाभाविक रूपमा खर्च पनि बढ्नेछ। त्यसका साथै गुणस्तरीय सेवा, नयाँ आकर्षण र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरू आयोजना गर्न सकियो भने नेपाल आउने पर्यटकको आर्थिक योगदान अझ वृद्धि हुने विश्वास छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको नियमित उडान सुरु हुन लागेको छ। यसलाई पर्यटन प्रवद्र्धनका दृष्टिले कसरी हेर्नुभएको छ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको नियमित उडान सुरु हुनु पोखराका लागि मात्र होइन, समग्र नेपालको पर्यटन क्षेत्रका लागि अत्यन्तै सकारात्मक उपलब्धि हो। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु मात्रै पर्याप्त हुँदैन, त्यसलाई नियमित अन्तर्राष्ट्रिय उडानमार्फत सञ्चालनमा ल्याउनु सबैभन्दा ठूलो चुनौती हुन्छ। अहिले त्यो चुनौती समाधानतर्फ अघि बढेको छ।

फ्लाई दुबईले नियमित उडान तालिका सार्वजनिक गरिसकेको छ र टिकट बुकिङ पनि सुरु भइसकेको छ। यसले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रत्यक्ष जोड्ने आधार तयार गरेको छ।
फ्लाई दुबईको आफ्नै विश्वव्यापी नेटवर्क छ। त्यसैगरी एमिरेट्ससँगको कोड–सेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै युरोप, अमेरिका, अफ्रिका, मध्यपूर्व, दक्षिण–पूर्व एसिया लगायत विश्वका धेरै गन्तव्यमा सहज रूपमा यात्रा गर्न सकिने अवस्था बन्छ। यसले विदेशी पर्यटकलाई मात्र होइन, नेपाली यात्रुहरूलाई पनि ठूलो सुविधा प्रदान गर्नेछ।

यसअघि पोखरा आउने अधिकांश विदेशी पर्यटकले काठमाडौं हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो। अब भने पोखराबाटै अन्तर्राष्ट्रिय उडानको सुविधा उपलब्ध हुँदा यात्राको समय घट्ने, खर्च कम हुने र पर्यटन व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, निजी क्षेत्र तथा सम्बन्धित निकायहरूले लामो समयदेखि अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पोखरामा उडान सञ्चालन गर्न निरन्तर पहल गरिरहेका थिए। फ्लाई दुबईको आगमन त्यसै प्रयासको महत्वपूर्ण उपलब्धि हो।

अब हाम्रो लक्ष्य यही उडानलाई दीगो बनाउने र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पनि पोखरामा नियमित उडान सञ्चालन गर्न आकर्षित गर्नु हो। त्यसो गर्न सकियो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो वास्तविक उद्देश्य पूरा गर्नेछ र गण्डकी प्रदेशको पर्यटन तथा अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्नेछ।

सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ घोषणा गरेको छ। पोखरा यस अभियानका लागि कत्तिको तयार छ ?

नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’का रूपमा मनाउने घोषणा गर्नु पर्यटन क्षेत्रका लागि निकै सकारात्मक पहल हो। अहिले यससम्बन्धी कार्यविधि, रणनीति तथा कार्यक्रमहरू तयार गर्ने काम विभिन्न तहमा भइरहेको छ। नेपाल पर्यटन बोर्डले पनि सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक तयारीलाई अगाडि बढाइरहेको छ।

पोखराको सन्दर्भमा भन्नुपर्दा,वेलनेस पर्यटनका लागि आवश्यक पर्ने अधिकांश प्राकृतिक आधारहरू यहाँ उपलब्ध छन्। शान्त वातावरण, स्वच्छ हावा, हिमालको मनोरम दृश्य, ताल–तलैया, हरियाली वन, ध्यान र योगका लागि उपयुक्त परिवेश तथा प्रकृतिसँगको निकटता पोखराका प्रमुख विशेषता हुन्। त्यसैले वेलनेस पर्यटनको प्रमुख गन्तव्य बन्ने पर्याप्त सम्भावना पोखरासँग छ।

पछिल्ला वर्षहरूमा पोखरामा योग, ध्यान, प्राकृतिक उपचार, स्पा, आयुर्वेद तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित गतिविधिहरू विस्तार हुँदै गएका छन्। अन्तर्राष्ट्रिय योग दिवसलगायत वेलनेससँग सम्बन्धित विभिन्न कार्यक्रमहरू पनि नियमित रूपमा आयोजना भइरहेका छन्। यी गतिविधिहरूले पोखरालाई स्वास्थ्य, मानसिक शान्ति र प्राकृतिक जीवनशैली खोज्ने पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गरिरहेका छन्।

आगामी दिनमा नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, स्थानीय तह तथा निजी क्षेत्रबीच अझ प्रभावकारी सहकार्य गर्दै वेलनेस पर्यटनका नयाँ उत्पादन विकास गर्ने, अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना गर्ने र विश्व बजारमा पोखरालाई ‘वेलनेस डेस्टिनेसन’का रूपमा ब्रान्डिङ गर्ने योजना छ। यदि यी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने ‘नेपाल वेलनेस इयर–२०२७’ लाई सफल बनाउन पोखराले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ।

अन्त्यमा, नेपालको पर्यटन क्षेत्रको समग्र भविष्यलाई कसरी हेर्नुभएको छ ? आगामी दिनका प्राथमिकताहरू के–के हुन् ?

समग्रमा नेपालको पर्यटन क्षेत्र सकारात्मक दिशातर्फ अघि बढिरहेको छ। विशेषगरी पोखरा क्षेत्रमा पर्यटन गतिविधि उल्लेखनीय रूपमा बढिरहेका छन्। पछिल्ला वर्षहरूमा सडक पूर्वाधारमा सुधार, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको प्रक्रिया, डिजिटल प्रविधिको विस्तार तथा निजी क्षेत्रको सक्रिय सहभागिताले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ।

भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढिरहेको छ। अहिले अधिकांश भारतीय पर्यटक सुनौली नाकामार्फत सडकमार्गबाट पोखरा प्रवेश गरिरहेका छन्। काठमाडौं–पोखरा तथा बुटवल–पोखरा सडक स्तरोन्नतिसँगै यात्रा अझ सहज बन्दै गएको छ। सरकारले एक्सप्रेसवे तथा द्रुत सडक सञ्जाल विस्तारको योजना अघि बढाइरहेको छ, जसले पर्यटन प्रवाहलाई अझ बढाउने विश्वास छ।
तर पर्यटकको संख्या बढ्नु मात्रै पर्याप्त हुँदैन। उनीहरूले सुरक्षित, सहज र गुणस्तरीय सेवा पाउनु पनि उत्तिकै आवश्यक हुन्छ।

त्यसैले प्रमुख राजमार्गहरूमा आधुनिक विश्रामस्थल, सफा शौचालय, पार्किङ, सूचना केन्द्र, खानपानका गुणस्तरीय सेवा तथा आपत्कालीन सहायता प्रणाली विस्तार गर्नुपर्ने आवश्यकता छ। विशेषगरी भारतीय पर्यटकको सुविधालाई ध्यानमा राख्दै शाकाहारी रेस्टुरेन्ट, परिवारमैत्री सेवा तथा पर्यटकमैत्री पूर्वाधार विकासमा जोड दिनुपर्छ।

यसका साथै पर्यटनसँग सम्बन्धित सबै तीन तहका सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच अझ प्रभावकारी सहकार्य आवश्यक छ। पर्यटक नेपाल प्रवेश गर्ने नाकादेखि फर्किने बेलासम्म सहज, सुरक्षित र सुखद अनुभव दिलाउन सकियो भने उनीहरू पुनः नेपाल आउने मात्र होइन, अरूलाई पनि नेपाल भ्रमणका लागि प्रेरित गर्नेछन्।

हाम्रो लक्ष्य केवल पर्यटकको संख्या बढाउने होइन, नेपाललाई गुणस्तरीय, सुरक्षित र विश्वसनीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नु हो। त्यसका लागि पूर्वाधार विकास, सेवा गुणस्तर, अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र नयाँ पर्यटन उत्पादन विकासलाई समान प्राथमिकतामा राखेर काम गर्नुपर्छ। यही दिशामा सबै पक्षको सहकार्य भयो भने नेपालको पर्यटन क्षेत्रले आगामी वर्षहरूमा अझ ठूलो फड्को मार्नेमा हामी विश्वस्त छौं ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit