काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल ९एमच्याम नेपाल० को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ ऐतिहासिक रूपमा सम्पन्न भएको छ । यो नेपालबाट अमेरिकामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय रोडशो हो, जसले नेपाललाई आईटी–सम्बद्ध सेवा तथा आउटसोर्सिङका लागि प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गर्न सफल भएको छ ।
अमेरिकाको ओर्लान्डोमा सम्पन्न ‘सेयर्ड सर्भिसेस् एण्ड आउटसोर्सिङ वीक (एसएसओडब्लू) सम्मेलन २०२५’ मा नेपालका आईटी तथा आईटीईएस कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरियो । उक्त सम्मेलनमा विशेष नेपाल पवेलियन स्थापना गरियो, जसमा नेपालका प्रमुख प्रविधि कम्पनीहरू – सक्छ, इनोभेट टेक, एफवान सफ्ट, सिमजुङ, सिनिकल टेक्नोलोजी, र मोनाल टेकले आफ्ना नवप्रवर्तन तथा आउटसोर्सिङ क्षमताहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरे ।
नेपाल पवेलियनले नेपालका प्रविधि कम्पनीहरूलाई विश्वभरका लगानीकर्ता, उद्योग विज्ञ, तथा निर्णयकर्तासमक्ष चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली टोलीको नेतृत्व परिसंघ आईटी काउन्सिल सभापति एवं एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले गरेका थिए ।
परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालका अनुसार, ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ ले नेपाललाई अन्तर्राष्ट्रिय सूचना प्रविधि तथा आउटसोर्सिङ उद्योगमा महत्वपूर्ण स्थान दिलाउने दिशामा ठोस पाइला चालेको छ । उनलेको , ‘यो सुरुवात मात्र हो, हामी नेपाललाई अग्रणी आईटीईएस हबका रूपमा स्थापित गर्न निरन्तर लागिरहनेछौं ।’ एमच्याम नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले परिसंघ र एमच्याम नेपालबीचको सहकार्यले नेपालको आईटीईएस क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले , ‘यस रोडशोले सिर्जना गरेका अवसरहरूले नेपालमा थप लगानी र सहकार्यका ढोका खोल्नेछन्, जसले नेपाललाई आउटसोर्सिङ गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।
एसएसओडब्लू सम्मेलन २०२५ मा एक हजार भन्दा बढी उद्योग विज्ञहरूको सहभागिता रहेको थियो, जसले नेपाली प्रविधि कम्पनीहरूलाई सम्भावित अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता, तथा रणनीतिक साझेदारहरूसँग सम्पर्क गर्ने अभूतपूर्व अवसर प्रदान गर्यो ।
नेपाललाई एक भरपर्दो र प्रतिस्पर्धी आईटीईएस तथा आउटसोर्सिङ गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आयोजित यस रोडशोले नेपालको डिजिटल रूपान्तरण यात्रामा महत्वपूर्ण कोशेढुंगा स्थापना गरेको छ । साथै, यसले विदेशी लगानी प्रवद्र्धन, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया दिनुहोस्