लमजुङ । नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ । आज एक कार्यक्रमबीच मस्र्याङ्दी–९ पामचोकका फुटबलर सावित्राको सम्मानमा साम्बा चोक नामाकरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर राख्दै आजदेखि यस क्षेत्रलाई साम्बा चोक नामाकरण गरिएको घोषणा गरे । आफ्नै ठाउँको चेली सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको अध्यक्ष गुङको भनाइ छ ।
फुटबल क्षेत्रमा स्थापित उनलाई सम्मान गर्न साम्बा चोक नामाकरण गरिएपछि यस कार्यले सावित्रालाई प्रेरणा मिल्ने स्थानीयको अपेक्षा छ। यसैगरी, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सावित्राजस्तो व्यक्तिका नाममा चोकको नामाकरण हुँदा उनको योगदानको कदर भएको र जिल्लावासीका लागि पनि गौरवको कुरा भएको बताए । उनले साम्बाको जीवन अगाडि बढाउन सशस्त्रले पनि केही भूमिका खेलको धारणा राखे
यस्तै साम्बाको बुबा थमनबहादुर भण्डारीले आफ्नो छोरीको नाममा चोकको नामाकरण हुँदा धेरै खुसी लागेको प्रतिक्रिया दिए । फुटबल क्षेत्रमा योगदान गर्दै नेपाललाई नै चिनाउने काम गरिरहेको र यस्ता सम्मान कार्यले छोरीलाई अझै अगाडि बढाउन हौसला मिल्ने उनको भनाइ छ । अन्नपूर्ण पदमार्ग अन्नपूर्ण मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने सोही वडाका वडाध्यक्ष हरिश्चन्द्र थापाले बताए ।
सावित्रा नेपाली फुटबल क्षेत्रमा ‘साम्बा’ उपनामले परिचित छिन् । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बा हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक गोलकर्ता समेत हुने । यस्तै, सावित्रा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी समेत हुन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छिन् ।
उनी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी हुन् ।

















प्रतिक्रिया दिनुहोस्