images images images
images images images
images
images
images

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘राइनासकोट’

images

लमजुङ । पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

विसं २०७२ मा गएको भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनःनिर्माण गरेर घरबास (होमस्टे) सञ्चालन भएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको हो ।

images
images

राइनास होमस्टेबाट केही माथि रहेको राइनासकोटबाट देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रेलगायत एक दर्जनभन्दा बढी हिमशृङ्खलाको रमणीय दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ ।

काठमाडौंबाट लमजुङको राइनासकोट पुगेका डा ज्योतिप्रसाद गजुरेलले यहाँको आतिथ्यता र ऐतिहासिक थलो राइनासकोट भ्रमणले आफूलाई आनन्दित तुल्याएको बताए । यहाँको हावापानी र सुन्दर, मनोरम दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका उनको बुझाइ छ ।

उक्त डाँडाबाट गोरखाको पर्यटकीयस्थल बारपाक, लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट, गोरखाबजार, तनहुँको आँबुखैरनी, डुम्रेबजार, बन्दिपुर, दमौलीलगायत गाउँहरू सजिलै देख्न सकिन्छ । लमजुङको सदरमुकाम बेँसीसहर, भोटेवडार, सुन्दरबजार, भोर्लेटार, दुराडाँडा र पूर्वीलमजुङका अधिकांश भागसमेत उक्त डाँडाबाट आँखै अगाडि देख्न सकिन्छ । स्थानीयका अनुसार उक्त स्थानबाट १८ जिल्ला देख्न सकिन्छ ।

यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवं सांस्कृतिक महत्त्वका स्थलले यहाँको गरिमा र महत्त्व चुलिएको छ ।

रागीनासको नामले परिचित यो ठाउँ पछि अपभ्रंश हुँदै राइनास बन्न गएको स्थानीय बताउँछन् । इतिहास अनुसार शाह वंशीय पहिलो राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ–राइनासकोट राज्यको पछि यशोब्रह्मका छोरा नरहरि शाहले थप सुदृढीकरण गरेका थिए । यस्तै, द्रव्य शाहले चेपेघाट–लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए ।

समुद्री सतहबाट एक हजार ७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्त्वपूर्ण ऐतिहासिक स्थल हो । यो गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गुरुङ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ ।

लमजुङको गुरुङबस्ती रहेको राइनासकोटका १७ घरमा होमस्टे सञ्चालन गरिएका छन् । यहाँ एक रातमा एक सय जनासम्म मानिस सजिलै बस्न सक्छन् । राइनासकोट सामुदायिक होमस्टेका व्यवस्थापक शम्भु गुरुङले शुक्रबार र शनिबार यहाँ आउने पर्यटकको सङ्ख्या अन्य दिनको तुलनामा बढी हुने गरेको बताए ।

“शुक्रबार र शनिबार ५० देखि एक सयजनाको सङ्ख्यामा होमस्टेमा बास बस्न आउनुहुन्छ । अरु दिन ५० देखि ८० को हाराहारीमा पर्यटक आउनुहुन्छ”, उनले भने । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि यहाँ एकै खालका २० घर पुनःनिर्माण गरिएको छ । अमेरिकी नागरिक नतासाको सहयोगमा पुनःनिर्माण भएको उक्त ठाउँमा होमस्टे सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गरिएको गुरुङले जानकारी दिए ।

राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले राइनासकोटको पर्यटनलाई थप विकास गर्नका लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए । “होमस्टेलाई थप व्यवस्थित बनाउनका लागि स्थानीय तहमा उत्पादित खानालाई प्रोत्साहन गरिएको छ । होमस्टे सञ्चालनसम्बन्धी तालिम प्रदान गरेका छौँ”, उनले भने ।

मौरीपालन, कुखुरापालन र तरकारीखेतीको विकासलाई नगरपालिकाले प्राथमिकता दिएको नगरप्रमुख गुरुङले जानकारी दिए । केन्द्र र प्रदेश सरकारको सहयोगमा हाल राइनासकोटमा पार्कसमेत स्थापना गरिएको छ । उक्त कोटमा रहेको मन्दिरलाई पुनःनिर्माण, पुरातात्विक सम्पदाको संरक्षण, पार्क तथा बाटो निर्माणमा स्थानीय सरकारले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी काम गरिरहेको उनले बताए ।

राइनासकोटबाट प्याराग्लाइडिङसमेत गरिँदै आइएको छ । चैत–वैशाखमा फूल्ने लालिगुँरास, फल्ने काफल र ऐँसेलुले पर्यटकलाई थप लोभ्याउने गरेको नगरप्रमुख गुरुङको भनाइ छ । “ग्रामीण जीवनशैली बुझ्न राइनास उपयुक्त छ । जहाँ खेतीपाती गरेको, ढिकी–जाँतो चलाएको, दूध दूहेको, मोही मोथेकोलगायत दृश्य देख्न सकिन्छ”, उनले भने ।

काठमाडौंबाट एक सय ५५ किलोमिटर टाढा रहेको लमजुङको प्रवेशद्धार पाउँदीबजारबाट डेढ घण्टामा पुग्न सकिने राइनासकोटमा पछिल्लो समय काठमाडौं, चितवन, पोखरालगायत सहरबाट मानिस घुम्न आउने गरेका छन् । रासस

images
images

प्रतिक्रिया दिनुहोस्