मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधन दुई सातापछि फुकुवा गरिएका छन्। सशस्त्र प्रहरी बलले जोमसोम, कोरलानाका, कास्की र पर्वतका विभिन्न स्थानमा नियन्त्रणमा लिएका सवारीसाधन आइतबार साँझदेखि सम्बन्धित पक्षलाई जिम्मा लगाएको हो।
सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका अनुसार अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रारम्भिक प्रतिवेदनमा कुनै कैफियत नदेखिएपछि नियन्त्रणमा रहेका सवारीसाधन फुकुवा गरिएको हो। सशस्त्र प्रहरीको केन्द्रीय निर्देशनअनुसार सबै विद्युतीय सवारीसाधन सम्बन्धित कम्पनीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिएका हुन्।
गत जेठको दोस्रो र तेस्रो सातामा मुस्ताङको उत्तरी कोरलानाका हुँदै बिवाइडी कम्पनीका ७७५ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ सवारीसाधनको मुस्ताङ भन्सार कार्यालय नेचुङले जाँचपास गरिसकेको थियो। आयात प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको थियो।
घटनाको छानबिन गर्न अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखाका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले जेठ २१ गतेदेखि मुस्ताङ, कास्की र पर्वतमा नियन्त्रणमा रहेका सवारीसाधनको स्थलगत अध्ययन तथा अनुसन्धान सुरु गरेको थियो।
प्रारम्भिक अनुसन्धानमा कुनै अनियमितता नदेखिएपछि नियन्त्रणमा रहेका सवारीसाधन क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको छ। जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये आइतबार र सोमबार गरी २२३ सवारी गन्तव्यतर्फ पठाइएको छ भने ४३ सवारी मात्रै बाँकी रहेका छन्।
यसअघि सशस्त्र प्रहरीले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोममा २६६ र कोरलानाकामा ३९४ विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरीका अनुसार कोरलानाकामा रहेका भन्सार जाँचपास भएका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ पठाइनेछन्। जाँचपास हुन बाँकी सवारीसाधनको आवश्यक भन्सार प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याउन कुनै समस्या नरहेको जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्