काठमाडौं । धितोपत्र बजारमा विभिन्न ११ कम्पनी र ८१ जना मिलेर अस्वाभाविक उतारचढाव ल्याई १ अर्ब १४ करोड रुपैयाँ घोटाला गरेको अभियोग लागेको छ। यो मुद्दामा मुख्य कसूर भृकुटी स्टक ब्रोकिङमार्फत ‘सर्कुलर ट्रेडिङ’ गरी हिमालयन रि–इन्स्योरेन्सको शेयर मूल्य बढाएर सर्वसाधारण ठगेको पाइएको छ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनमा आरोपीहरू दीपक भट्ट, दुर्लभ अग्रवाल समेतले शेयर बजार केन्द्रीकृत गरी उल्लेख्य लाभ हासिल गर्ने मनसायका साथ निजहरूले नेपाल री–इन्स्योरेन्सको शेयर खरिद गर्ने योजना बनाए र सोही योजना अनुसार उक्त समूहले २०८१ साल पुस महिनादेखि नेपाल धितोपत्र बोर्डको प्रतिवेदन अवधिसम्ममा कुल एक करोड चालिस लाख तेह्र हजार तीन सय ५२ कित्ता शेयर खरिद गरी उक्त कम्पनीको कुल ६५.२५ प्रतिशत शेयर निरन्तर केन्द्रीकृत गरेको उल्लेख छ।
यस मुद्दामा एउटै आईपी एड्रेस प्रयोग गरी शेयर खरिद–बिक्री गरिएको प्राविधिक पुष्टि भएको छ। सरकारी वकिलको कार्यालयले बिहीबार दर्ता गरेको वित्तीय अपराधको शेयर बजार, बैंकिङ कसुर, बीमा तथा सम्पत्ति सुद्धिकरण का ४ मुद्दामा ८१ जनाविरुद्ध ३२ अर्ब रुपैयाँभन्दा बढीको बिगो दबी र अपराध प्रकृति अनुसारको सजाय माग गरिएको छ।
संगठित समुहले कसरी गर्थे शेयर बजारमा घोटाला ?
अनुसन्धान प्रतिवेदनअनुसार अभियुक्तहरूले नियोजित र संगठित रूपमा शेयर बजारलाई अवैध ढंगले नियन्त्रणमा लिएर सर्वसाधारण लगानीकर्तालाई ठगी गरेका थिए। उनीहरूले मुख्यत नेपाल रि–इन्स्योरेन्स कम्पनी लगायत GMLI, NLG, NBLD85 जस्ता कम्पनीहरूको शेयरमा ठूलो चलखेल गरेका थिए।
-बजारको एकाधिकार र कृत्रिम माग सिर्जना गरेर दीपक भट्ट र दुर्लभ अग्रवालको समूहले योजनाबद्ध रूपमा नेपाल रि–इन्स्योरेन्सको कुल शेयरमध्ये १,४०,१३,३५२ कित्ता आफैंले किनेर बजारमा शेयरको कृत्रिम अभाव सिर्जना गरे।
-वास्तविक स्वामित्व परिवर्तन नहुने गरी आफ्नै समूहका विभिन्न व्यक्ति र संस्थाहरू खडा गरेर एकापसमा शेयर खरिद–बिक्री देखाएर ‘सर्कुलर ट्रेडिङ’ गरे । यसले बजारमा उक्त शेयरको अत्यधिक माग र कारोबार भएको कृत्रिम भ्रम पैदा गर्यो।
-यो समुहलेठूलो मात्रामा संस्थागत र व्यक्तिगत पुँजी एकै ठाउँमा केन्द्रित गरी मिलेमतोमा लगातार मूल्य बढाएर बजारलाई नियन्त्रणमा लिइयो, जुन धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ र ९८ विपरितको गम्भीर कसुर हो।
-दीपक भट्ट र उनको समूहले भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं.५५) मार्फत शेयर किन्दा कुनै रकम नै भुक्तानी गरेनन्, अर्थात् बिनापैसा अर्बौंको शेयर कारोबार गरिरहे । रकम लेनदेन बिना नै उधारोमा अर्बौंको कारोबार गराएर शेयरको मूल्य अप्राकृतिक रूपमा बढाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
प्राविधिक प्रतिवेदनअनुसार यस घोटालामा प्रयोग भएका विभिन्न व्यक्ति र संस्थाका TMS (Trade Management System) एकाउन्टहरू नक्सालस्थित ‘दौर सिमेन्ट’ को कार्यालयमा रहेको एउटै क्ष्ए आइपी एड्रेसबाट चलाइएको पुष्टि भएको छ।
अर्बौं घोटालाका तीन मुख्य प्रतिवादीको बयान : कसले के भने ?
यस घोटालामा संलग्न रहेका मध्ये तीन प्रमुख व्यक्तिहरूले अनुसन्धान अधिकारीसमक्ष विभिन्न तर्क र दाबीसहित बयान दिएका छन् । शेयर चलखेलमा मुछिएका प्रतिष्ठित व्यवसायी घरानामा हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छाले आफू यस प्रकरणमा निर्दोष रहेको बयान दिएका छन् ।
शेखर गोल्छा : ‘हामीलाई झुक्याएर सीईओ र व्यवस्थापनले बदमासी गरे, म निर्दोष छु।’
उनले बयानमा के भने, बुँदागत रुपमा :
ब्रोकरलाई रकम दिएको स्वीकार : आफूले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई शेयर लगानीका लागि वैध रूपमा ५२ करोड ५० लाख रुपैयाँ दिएको तर उक्त रकम ब्रोकरले अरू कसैको शेयर सेटलमेन्टमा प्रयोग गर्यो, गरेन, आफूलाई थाहा नभएको उनले बयान दिएका छन् ।
दीपक भट्टसँग सम्बन्ध अस्वीकार : आरोपी दीपक भट्टको नाममा शेयर किन्न वा कुनै गैरकानुनी काम गर्न आफूले पैसा नदिएको र उनीसँग कुनै वित्तीय वा व्यावसायिक सम्बन्ध नरहेको बताएका छन्।
फसाइएको दाबी : भृकुटी ब्रोकरका सञ्चालक सन्दिप चाचन अग्रवाललाई व्यक्तिगत रूपमा चिन्दिन । साथै आफ्नो पैसा फिर्ता माग्दा हालसम्म फिर्ता नगरेर पीडित बनाएको गोल्छाको बयान छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयान भएपछि मात्र आफू झस्किएको र हिमालयन रि–इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएको उनले बताएका छन् ।
व्यवस्थापनमाथि दोष : कम्पनीको शेयर खरिद–बिक्री लगानी समिति र सीईओले गर्ने भन्दै सञ्चालक समितिलाई गुमराहमा राखिएको र बदमासी भएको थाहा पाएपछि आकस्मिक बैठक डाकेर आफूले पद त्यागेको उनको बयान छ ।
वित्तीय घोटालाको मुख्य आरोपी दीपक भट्टले आफूले नभई ब्रोकरले आफ्नो एकाउन्ट दुरुपयोग गरेर जालसाजी गरेको बयान दिएका छन् ।
दीपक भट्ट : ‘मैले होइन, ब्रोकरले मेरो एकाउन्ट दुरुपयोग गरेर जालसाजी गर्यो।’
शेयर कारोबार अस्वीकार : मुख्य आरोपी घट्टले भृकुटी स्टक ब्रोकिङमा आफ्नो डिम्याट र खाता भए पनि आफूले आजसम्म कुनै सेयर कारोबार नगरेको अचम्मको दाबी गरे।
ब्रोकरलाई पासवर्ड दिएको स्वीकार : डिम्याट खाता खोलेपछि भृकुटी ब्रोकरलाई ‘आईडी र पासवर्ड’ दिएको तर कारोबार गर्ने अनुमति नदिएको जिकिर उनको छ । कारोबारको भुक्तानीका लागि अग्रिम २५५ कोलेटरल र EDIS समेत नगरेकाले यो कारोबार आफ्नो नभएको दाबी भट्टको छ।
ब्रोकरले गल्ती स्वीकारेको जिकिर : शेयर कारोबारको मेसेज आउँदा सुरुमा आफूले वास्ता नगरेको तर पछि बुझ्दा भृकुटी ब्रोकरका सन्दिप चाचन अग्रवालले आफ्नो गल्ती स्वीकार गर्दै ‘यसको वास्तविक धनी म नै हुँ, म आफैं सफा गर्छु’ भनेर बचन दिएको बयानमा भट्टको दाबी छ। आफूलाई ब्रोकरले धोका र जालसाजी गरेको उनको भनाइ छ।
सुलभ अग्रवाल : ‘कारोबार मैले नै गरेको हुँ, तर सबै नियमसंगत छ।’
अर्का आरोपी तथा लगानीकर्ता सुलभ अग्रवालले बयानमा आफैंले कारोबार गरेको स्वीकारेका छन् । भृकुटी स्टक ब्रोकिङ र एनआईबिएल बैंक खाता प्रयोग गरी आफ्नै रोहवरमा र कहिलेकाहीँ कर्मचारीमार्फत शेयर कारोबार गर्ने गरेको उनको स्वीकार छ ।
नक्सालको कार्यालयबाटै सञ्चालन : आफ्नो व्यक्तिगत कार्यालय नक्सालस्थित आफ्नै भवनमा रहेको र त्यहीँबाट कारोबार गर्ने गरेको बयान दिएका छन् । जहाँको आईपी एड्रेस प्रयोग भएको प्राविधिक अनुसन्धानले पनि पुष्टि गरेको छ ।
दीपक भट्टसँग साथीको सम्बन्ध, करोडौंमा लेनदेन : दीपक भट्ट आफ्नो साथी भएको र केही पब्लिक लिमिटेड कम्पनीहरूमा सह–लगानी रहेको स्वीकार गरे। साथै, भट्टसँग आफ्नो छोरा र श्रीमतीले ४० करोड रुपैयाँ सापटी लेनदेन गरेको र त्यो अझै फिर्ता लिन बाँकी रहेको बयान दिएका छन् । तर, त्यो रकम के प्रयोजनका लागि दिइएको थियो भन्नेबारे आफूलाई थाहा नभएको दाबी उनको छ।
श्रीमतीको नाफा : आफ्नी श्रीमती शुभी अग्रवालले बजारबाट एनएलजीको शेयर कारोबार गरी करिब ४ देखि ५ प्रतिशत नाफा कमाएको जानकारी दिएका छन्। अरूको युजरनेम र पासवर्ड चलाएर आफूले कुनै कारोबार नगरेको जिकिर उनको छ। यस्तै, उनले सन्दिप चाचन, अग्रवाल समेतसँग सामान्य चिनजान रहेको र निजको कम्पनीमार्फत शेयर ब्रोकरको खाता खोली कारोबार गर्ने गरेको स्वीकारेका छन् ।
सरकारी वकिलको कार्यालयमा बुझाइएको यस प्रतिवेदनमा नेपालको शेयर बजारलाई ध्वस्त पार्ने खेल भएको निष्कर्ष निकालेको छ। अभियुक्तहरूले सरकारी अधिकारीसाग बयानमा सफाइ पेश गर्न खोजे पनि प्राविधिक प्रमाण, बैंक कारोबार र ब्रोकरको मिलेमतो तथा उनीहरूबीचको लेनदेन सम्बन्धले समेत संगगठित अपराध गरेको देखाएको छ।

















प्रतिक्रिया दिनुहोस्