काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले आफूहरू मर्माहत भएको बताउँदै घटनाको निष्पक्ष छानबिन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए। उनले वन प्रहरीको उपस्थितिमा एक गरिब टेम्पो चालकको सवारीसाधन भीरबाट गुल्ट्याइएको दृश्य सार्वजनिक भएको उल्लेख गरे।
‘एउटा गरिब दुःखी टेम्पो चालकको टेम्पो वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइँदै गरेको भिडियो देखियो। त्यो दृश्यले हामी मर्माहत छौं। दोषीलाई कारबाही होस् र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरियोस्,’ साम्पाङले भने।
उनले सोही क्रममा घरको छानामाथि ढुंगा हानिएको अर्को भिडियो पनि देखिएको उल्लेख गर्दै पछिल्लो समय केही घटनाका कारण प्रहरीप्रति नागरिकमा डर र त्रासको वातावरण सिर्जना भएको टिप्पणी गरे।
प्रहरी देख्दा नागरिकले शान्ति र सुरक्षाको अनुभूति गर्नुपर्ने भए पनि केही घटनाले त्यसको विपरीत अवस्था सिर्जना गरेको भन्दै उनले यस्तो प्रवृत्ति तत्काल सच्याउन आग्रह गरे।
गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका–४ मा एक महिलाको टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि उक्त घटना विवादमा आएको थियो।

















प्रतिक्रिया दिनुहोस्