पोखरा । फेवाताल, रानीवन, विश्व शान्ति स्तूप र माछापुच्छ्रेसहित अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्य एउटै पदयात्रामा अवलोकन गर्न सकिने ‘राउन्ड फेवा भ्यू ट्रेल’ पछिल्लो समय पोखराको नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। दैनिक १०० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले प्रयोग गर्ने यो पदमार्गलाई पर्यटन व्यवसायीहरू ‘वार्म–अप हाइकिङ ट्रेल’का रूपमा विकास गर्नुपर्ने बताउछन्।
पोखराको लेकसाइडबाट सुरु भएर ड्यामसाइड, फेवातालपारिको रानीवन क्षेत्र, विश्व शान्ति स्तूप हुँदै पुनः लेकसाइडमै टुङ्गिने करिब १३ किलोमिटर लामो पदमार्गले छोटो समयमै ताल, हिमाल, जङ्गल र ग्रामीण परिवेशको अनुभव गराउँछ। यही विशेषताका कारण पछिल्ला वर्षमा यो पदमार्ग पर्यटकमाझ लोकप्रिय बन्दै गएको हो।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार हिमाली पदयात्रामा जानुअघि अभ्यासका लागि यो पदमार्ग उपयुक्त छ। तीनदेखि चार घण्टाको यात्रामा फेवाताल, माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकनसँगै चराचुरुङ्गी, वनस्पति र सुनाखरीको सौन्दर्यको आनन्द लिन सकिन्छ।
पर्यटन व्यवसायीहरूका अनुसार पदमार्गको लोकप्रियता बढ्दै गए पनि जीर्ण काठे पुल, ढलेका रुख तथा सुरक्षाका लागि रेलिङको अभाव चुनौतीका रूपमा रहेको छ। गण्डकी प्रदेश पर्यटन बोर्डले यसलाई प्रकृतिमा आधारित ‘सफ्ट एड्भेन्चर’ पर्यटनको महत्वपूर्ण उत्पादनका रूपमा अघि बढाउनुपर्ने बताएको छ।
पोखरा महानगरपालिका–२२ का वडाध्यक्ष हिमलाल बरालका अनुसार पदमार्ग स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र एसियाली विकास बैंक (एडिबी) बीच भएको सम्झौताअनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। योजनाअन्तर्गत जीर्ण पुल पुनःनिर्माण, रेलिङ जडान, पदमार्ग मर्मत, सार्वजनिक शौचालय, विश्रामस्थल तथा दृश्यावलोकन संरचना निर्माण गरिनेछ।
पर्यटन व्यवसायीहरूले आवश्यक पूर्वाधार निर्माण र प्रभावकारी व्यवस्थापन गर्न सके ‘राउन्ड फेवा भ्यू ट्रेल’ नेपाल प्रवेश गर्ने विदेशी पर्यटकका लागि उत्कृष्ट ‘वार्म–अप हाइकिङ ट्रेल’का रूपमा स्थापित हुन सक्ने बताएका छन्।

















प्रतिक्रिया दिनुहोस्