काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा वेलनेस तथा स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल हाेटल एसाेसिएसन संघले ‘वेलनेस फुड प्रमोसन क्याम्पेन’ सुरु गरेको छ।
नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस वर्ष’ का रूपमा मनाउने तयारी गरिरहेका बेला होटल उद्योगले पनि यस अभियानलाई प्राथमिकताका साथ अघि बढाउन थालेको हो। अभियानअन्तर्गत देशभरका होटल तथा रिसोर्टहरूमा स्वास्थ्यवर्द्धक, पोषणयुक्त र स्थानीय उत्पादनमा आधारित परिकारको प्रवर्द्धन गरिने जनाइएको छ।

हाेटल एसाेसिएसनका अध्यक्षा विनायक शाहले वेलनेस पर्यटनको सफलताका लागि स्वस्थ जीवनशैली, प्राकृतिक उपचार पद्धति, योग, ध्यान तथा पोषणयुक्त खानपानलाई एकीकृत रूपमा प्रवर्द्धन गर्न आवश्यक रहेको बताउँछन् । नेपालमा पाइने जैविक कृषि उत्पादन, आयुर्वेदिक जडीबुटी तथा परम्परागत खानाका परिकारलाई अन्तर्राष्ट्रिय पर्यटकसमक्ष ब्रान्डिङ गर्न सकिए वेलनेस पर्यटनले नयाँ उचाइ हासिल गर्ने उनकाे भनाइ छ ।

यस अभियानमार्फत होटलहरूले आफ्नो मेनुमा स्वास्थ्यमैत्री परिकारको संख्या बढाउने, स्थानीय तथा अर्गानिक उत्पादनको प्रयोगलाई प्राथमिकता दिने र विदेशी पर्यटकलाई नेपाली वेलनेस फुडको अनुभव गराउने लक्ष्य लिइएको छ।
सरकारले पनि वेलनेस पर्यटनलाई आगामी वर्षहरूमा पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने नीति लिएको छ। सोहीअनुसार निजी क्षेत्र र होटल उद्योगले समेत सक्रिय सहभागिता जनाउन थालेपछि नेपाल वेलनेस वर्ष २०२७ को तयारीले गति लिएको देखिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार प्राकृतिक सौन्दर्य, हिमाली वातावरण, योग–ध्यान, आयुर्वेद र स्वास्थ्यवर्द्धक खानाको संयोजनमार्फत नेपालले विश्व वेलनेस पर्यटन बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने पर्याप्त सम्भावना रहेको छ। अभियानले नेपाललाई स्वास्थ्य, प्रकृति र समग्र जीवनशैली सुधारसँग जोडिएको गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्