काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न घोषणाहरू स्वागतयोग्य रहेको बताएका छन्।
उनका अनुसार स्थलमार्ग र हवाई मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार, र मुलुकलाई ‘आकर्षक गन्तव्य’को रूपमा विश्व बजारमा स्थापित गर्ने बजेटको दृष्टिकोण सकारात्मक छ।
प्रवर्द्धन र पूर्वाधार विस्तारप्रति निजी क्षेत्र सन्तुष्ट
छिमेकी मुलुकहरूमा नेपाल पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा, पर्वतीय, साहसिक, धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यहरूमा लक्षित सेवा विस्तारजस्ता विषयहरू आफूहरूले दिएका सुझावअनुसार बजेटमा समावेश भएको भन्दै बस्नेतले सरकारलाई धन्यवाद दिएका छन्। उनका अनुसार प्रवेश विन्दुहरूमा सेवा केन्द्रको स्थापना र पर्यटकीय गन्तव्य विकासका लागि निजी लगानी आकर्षण गर्ने योजना पनि स्वागतयोग्य छ। त्यस्तै, राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्षण, जंगल सफारी तथा पदयात्रा विकासले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास उनले व्यक्त गरे।
होटल तथा रिसोर्टलाई उद्योग सरह मान्यता, लगानी विस्तारको अवसर
सरकारले होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगको मान्यता दिने निर्णयलाई पनि उनले महत्वपूर्ण उपलब्धि बताएका छन्। यसले आयकर तथा विद्युत महसुलमा छुट दिई लगानी विस्तारलाई सहज बनाउने विश्वास उनले व्यक्त गरे। शुक्लाफाँटा, खप्तड, बर्दिया, रारा, लुम्बिनी, मुक्तिनाथ, गोसाइँकुण्ड, जनकपुर, कालिञ्चोक, कोशीटप्पु, सगरमाथा लगायतका गन्तव्यहरूमा पदमार्ग विकास तथा विशेष पदयात्रा सञ्चालनले विदेशी पर्यटक आकर्षित गर्न सहयोग पुग्ने उनले बताए।
त्यस्तै, पशुपति, लुम्बिनी, सगरमाथा, स्वर्गद्वारी लगायतमा पर्यटन पूर्वाधार निर्माण तथा काठमाडौं उपत्यकाका स्वयम्भू, हनुमानढोका, पशुपति र बौद्ध क्षेत्रहरूमा सन्ध्याकालीन पदमार्ग विकास गर्ने घोषणा पनि उल्लेखनीय रहेको उनले बताए। यद्यपि, हवाई टिकटमा लाग्ने भ्याट र विदेशी चेन होटलहरूलाई व्यवस्थापन शुल्क लैजान दिने प्रावधानमा पुनरावलोकन आवश्यक रहेको उनी बताउँछन्। यी विषय आगामी मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख उनले गरे।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा निजगढ विमानस्थल निर्माण सुरु गर्ने, काठमाडौं विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने योजनालाई पनि बस्नेतले सकारात्मक बताएका छन्। त्यस्तै, नेपाल प्रवेश गर्ने यात्रुहरूले ५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन सक्ने, सोभन्दा बढी भए भन्सार विन्दुमा घोषणा गरेर ल्याउन सक्ने सहजीकरणप्रति पनि उनले सन्तुष्टि व्यक्त गरे।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्