Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

एक युवती जसले कफीबाट पहिचान बनाइन्, सगरमाथाबाट सन्देश दिइन्

एक युवती जसले कफीबाट पहिचान बनाइन्, सगरमाथाबाट सन्देश दिइन्
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको व्यस्त सडकबीच रहेको एउटा सानो क्याफेबाट सुरु भएको यात्राले उनलाई सगरमाथाको चुचुरोसम्म पुर्‍यायो। उनी कफी बनाउने बारिस्टा मात्र होइनन्— आरोही हुन्, उद्यमी हुन्, र सपना साकार पार्ने प्रेरणादायी पात्र पनि। उनी हुन् दाफुटी शेर्पा।

विज्ञापन
Advertisement
Advertisement

दोलखाको दुर्गम सिमि गाउँमा जन्मिएकी दाफुटीको बाल्यकाल सहज थिएन। आर्थिक अभाव, ग्रामीण परिवेश र सीमित अवसरबीच पनि उनको सपना सीमित थिएन उनको सपना हिमालभन्दा अग्लो थियो।

संघर्षबाट आत्मनिर्भरताको बाटो

एसएलसीपछि उच्च शिक्षा पढ्ने आशामा काठमाडौं आइन्। पढाइसँगै काम गर्नुपर्ने बाध्यता थियो। त्यही क्रममा उनले ‘मितिनी कफी’ नामक एक कोरियन क्याफेमा बारिस्टाको रूपमा काम पाउने अवसर पाइन्। शेर्पा अनुहार भएकाले कोरियनजस्तो” देखिने खोजीमा रहेको क्याफेले उनलाई सजिलै रोज्यो।

त्यही जागिरबाट उनको जीवनमा परिवर्तन आउन थाल्यो। उनले कफी बनाउने सीप मात्रै होइन, कफीको संस्कृति र व्यवसायलाई गहिरोसँग बुझ्ने अवसर पाइन्। विभिन्न क्याफेहरूमा तालिम दिने, मेसिन सञ्चालन सिकाउने, मेन्यू डिजाइन गर्ने जस्ता प्लेटफर्म प्राप्त गरिन्।

सगरमाथाको सपनाः नेपाली कफीको ब्रान्डिङ

२०१७ मा उनले साहसिक निर्णय गरिन्स गरमाथाको शिखरमा पुगेर नेपाली कफी पस्कने। अभियानको नारा थियो ‘हाम्रो सगरमाथा, हाम्रो गौरव, कृषि विकासमा हाम्रो पौरख।’

तर सगरमाथा चढ्न लाखौं लाग्ने अवस्था, आफूले जम्मा २० हजार पनि नभएको यथार्थ। परिवारबाट जोखिमका कारण समर्थन नपाएको अवस्था। तर पनि उनले हार मानिनन्।

फेसबुकमार्फत सहयोगको अपिल गरिन्, जसबाट करिब ६० प्रतिशत रकम जुट्यो। बाँकी रकम जुटाउन तिनै क्याफे धितो राख्न तयार भइन्। अन्ततः, २४ मे २०१८ मा, उनले विश्वको सर्वोच्च शिखरमा पुगेर दुई विदेशी र दुई नेपाली आरोहीलाई नेपाली कफी पस्किन्

एक ऐतिहासिक क्षण।

दाफुटी सगरमाथा चढ्ने पहिलो महिला बारिस्टा बनिन्। काठमाडौं फर्किँदा एयरपोर्टमा कृषकदेखि व्यवसायीसमेतले उनलाई सम्मानित गरे। उनका शब्दमा, ‘कफीले मलाई सगरमाथा पुर्‍यायो, र सगरमाथाले मलाई जीवनको नयाँ पहिचान दियो।’

आजसम्म उनी मकालु, आमादब्लम, लोबुचे र अन्नपूर्ण–१ जस्ता हिमालहरू पनि सफलतापूर्वक आरोहण गरिसकेकी छिन्।

हाल दाफुटीको आफ्नै तीनवटा कफी फेन्चाइज छन्। उनले करिब २०० युवालाई बारिस्टा, बारटेन्डर र कुकिङ तालिम दिइसकेकी छन्। हालै उनले बागमती प्रदेश सरकारसँग सहकार्य गरेर ४० जना महिलालाई कफी तालिम दिइरहेकी छिन्।

उनको अर्को सपना अझ ठूलो छ नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित ब्रान्ड बनाउने। उनी भन्छिन्, ‘हामी विदेश जानुपर्ने होइन, विदेशीलाई यहाँ ल्याएर हाम्रो कफी पिलाउनुपर्छ।’

हिमाल चढ्ने अनुभव सँगाल्दै दाफुटी जलवायु परिवर्तनप्रति पनि संवेदनशील छन्। ‘पहिला जहाँ हिउँ देखिन्थ्यो, अहिले चट्टान देखिन्छ,’ भनी उनी बताउँछिन्, र थप्छिन्, ‘जलवायु परिवर्तनले हिमाल आरोहण जोखिमपूर्ण बन्दै गएको छ।’

दोलखाको भौगोलिक सम्भावना हेर्दै उनी कफी खेतीलाई रोजगारी र आर्थिक समृद्धिको उपायका रूपमा देख्छिन्। ‘स्थानीय सरकारले खाली जग्गा सदुपयोग गर्न सके, गाउँमै रोजगारी सिर्जना हुन्छ, युवालाई विदेश जानुपर्दैन,’ उनी दृढताका साथ भन्छिन्।

दाफुटी शेर्पाको यात्रा केवल व्यक्तिगत सफलताको कथा होइन। यो सपना देख्ने आँट, त्यसलाई पुरा गर्न गरेको संघर्ष, र अन्ततः समाजलाई प्रेरणा दिने अठोटको कथा हो। उनका लागि कफी व्यवसाय केवल व्यापार होइन यो नेपालको पहिचान, आत्मनिर्भरता र भविष्य निर्माणको अभियान हो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit