images images images
images images images
images
images
images

झन्डै एक खर्ब लागतमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको ठेक्का अवधि सकियो,भौतिक प्रगति जम्मा ५० प्रतिशत!

images

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत मात्र काम भएको छ ।

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको छ । ‘अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ’ उनले भने, ‘निर्माण कम्पनीले पुलका लागि चाहिने केवललगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।’

images
images

तीन वर्षको सम्झौता अवधि भए पनि पुलको डिजाइन स्वीकृत गर्न र मापदण्डभित्रका संरचना हटाउन एक वर्ष लागेको प्रमुख कुँवरको भनाइ छ । पछिल्लो दुई वर्षमा पुल निर्माणले गति लिए पनि अपेक्षित प्रगति हुन नसकेको उनले उल्लेख गरे । वि.सं.२०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । चीनबाट पुलको केवल ल्याउन उक्त कम्पनीले प्रतीतपत्र (एलसी) खोल्ने तयारी गरेको प्रमुख कुँवरले बताए । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चार जगको काम पूरा भइसकेको छ । चार टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम चाँडो हुने निर्माण कम्पनीले जनाएको छ। छ लेनको उक्त सडकका अहिले रहेको पुलको तल र माथि गरी आकर्षक बनावटका दुई ‘सिग्नेचर’ पुल बन्नेछन् । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । उक्त पुल भ्याटबाहेक ९४ करोड रुपैयाँमा ठेक्का लागेको हो ।

‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण बढ्नेछ । पुरानो प्रविधिको भन्दा अहिले निर्माणाधीन पुल डिजाइनका हिसाबले आकर्षक रहेको आयोजना प्रमुख कुँवरले बताए । एक सय ९० मिटर लामो उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो ।

पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छन् । पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका छन् । आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ पुल बनिसकेका र दुई पुल निर्माणाधीन अवस्थामा छन् ।

तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भएको छ । पोखराको विजयपुर खोला र सेती नदीमा पुल निर्माणको चरणमा रहेको आयोजना प्रमुख कुँवरले बताए । फाइल फोटो/रासस

images
images

प्रतिक्रिया दिनुहोस्