भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानीखेतीबाट वार्षिक ५५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । आफ्नै गाउँमा कृषिकर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उनले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानीखेती गरेका हुन् ।
आफ्नै ठाउँमा कृषिकर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताए । करिब आठ वर्षअघिदेखि मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानीखेती गर्दै आएका उनी हाल जिल्लाका परिचित खुर्सानी किसान बनेका छन् ।
‘खुर्सानीखेतीबाट वार्षिक ५५ देखि ६० लाखसम्म आम्दानी गर्छु’, किसान राईले भने, ‘४२ रोपनी जग्गा भाडामा लिएर ३२ हजार हाराहारी बोट लगाएको छु । गत वर्ष पनि ५० लाख बढी आम्दानी भएको थियो ।’
खुर्सानीखेतीका लागि उनले वार्षिक दुई लाख तिरेर ६५ रोपनी जग्गा भाडामा लिएका छन् । यस वर्ष खेतीका लागि करिब १२ लाख रुपैयाँ लगानी गरेको जनाउँदै उनले युवामा विदेशप्रतिको मोह बढिरहेको समयमा आफूले भने आफ्नै बारीमा व्यावसायिक रूपमा कृषिकर्म गरिरहेको बताए ।
विभिन्न तीन ठाउँमा जग्गा व्यवस्थापन गरेर खेती गर्दै आएका राईले हाल चार जनालाई रोजगारीसमेत दिएका छन्। सडक पहुँच राम्रो भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सहज भएको उनको भनाइ छ ।
पौवादुङमामा उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाडौंसम्म बिक्रीका लागि पठाउने गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए । उनका अनुसार खुर्सानीखेती अहिले पालिकाको मुख्य आम्दानीको स्रोत बनेको छ । किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । ‘अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनेको छ । हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भूगोल सुहाउँदो खेतीमा जोड दिइरहेका छौँ ।’
गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पु¥याउँदै आएको छ। खुर्सानीखेतीको विस्तारका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ७५० किसानलाई करिब ७० लाख बराबरको ‘मल्चिङ प्लास्टिक’सहित आवश्यक कृषि सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
गाउँपालिकाले सञ्चालन गरेको सहयोगात्मक कार्यक्रमका कारण यस वर्ष खेती विस्तार भएको उनको भनाइ छ । उनका अनुसार अहिले पौवादुङमामा करिब ५०० हेक्टर क्षेत्रमा करिब ९०० किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती गर्दै आएका छन् ।
















प्रतिक्रिया दिनुहोस्