काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको उल्लेख गर्दै कृषि क्षेत्रलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ‘किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ’ भन्दै कृषि क्षेत्रलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए ।
उनले कृषि क्षेत्रलाई जीविकोपार्जनको माध्यम मात्र नभई उत्पादन, रोजगारी र समृद्धिको मूल आधारका रूपमा विकास गर्नुपर्ने धारणा राखे । राज्य, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य गर्दै कृषिमा लगानी, आधुनिक प्रविधि, बजारीकरण र युवा सहभागिता बढाउनुपर्नेमा विशेष जोड दिएका हुन् ।
राष्ट्रपति पौडेलले विदेशबाट फर्किएका युवालाई कृषि उद्यममा आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए । कृषकका लागि समयमै मल–बीउ उपलब्ध गराउने, सहुलियतपूर्ण कृषि कर्जा, कृषि बीमा र उपजको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
उनले राजनीतिक परिवर्तनपछि मुलुकको मुख्य आवश्यकता आर्थिक समृद्धि भएको उल्लेख गर्दै कृषि, जलस्रोत, पर्यटन, उद्योग र सूचना प्रविधिलाई विकासको प्रमुख आधार मान्नुपर्ने बताए । साथै, उत्पादन वृद्धि, आयात घटाउने र निर्यात बढाउने गरी दीर्घकालीन कृषि नीति आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा राष्ट्रपति पौडेलले देशका विभिन्न भागका १४ जना उत्कृष्ट कृषकलाई जनही दुई लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेका थिए ।
















प्रतिक्रिया दिनुहोस्