Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गोरखामा बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएपछि किसान चिन्तित

गोरखामा बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएपछि किसान चिन्तित
विज्ञापन
Advertisement

गोरखा । मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गोरखा नगरपालिका–१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताए । ‘तिहार लगत्तै धान काटेर भित्र्याउन ठिक्क पारेको बेला पानी पर्‍यो । गाउँका एक–दुई जना बाहेक सबैले धान काटेर खेतमा सुकाएका छन्’, उनले भने, ‘धान भित्र्याउने तयारी भइरहँदा पानी परेर क्षति भयो । अहिले काटेर सुकाएको धान खेतमा डुबेको छ। नकाटेकाहरूको पनि पानीले बाला झारेको छ ।’ बेमौसमी वर्षात्का कारण वर्षभरिको मेहनत खेर जाने चिन्ता बढेको उनको भनाइ छ ।

बेमौसमी वर्षाले जिल्लाको धानबालीमा क्षति पुर्‍याएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए । उनका अनुसार यतिबेला जिल्लाका १० प्रतिशत किसानले धान भित्र्याइसकेका छन् भने करिब ४० प्रतिशतले धान काटिसकेका र ५० प्रतिशत किसान काट्ने तयारीमा छन् । वर्षाले विशेषगरी काटेर खेतमा सुकाएको धानबालीमा क्षति पुर्‍याएको उनले जानकारी दिए ।

‘यो यामको मुख्य बाली धान हो । किसानहरू यतिबेला धान भित्र्याउने काममा व्यस्त छन् । यस्तो अवस्थामा बेमौसमी वर्षा हुँदा किसानलाई असहजता भएको छ’, बस्ताकोटीले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा गोरखामा भारी वर्षा भएको छैन । पाक्दै गरेका र काटेर राखेका धानलाई दुई–तीन दिन घाममा सुकाएमा भित्र्याउन सकिन्छ ।’ वर्षा नरोकि पाक्दै गरेका र काटेर सुकाएका धानलाई समस्या नहुने भन्दै उनले थप वर्षा भएमा धान झर्ने समस्या हुनसक्ने आकलन गरे ।

जिल्लामा धानखेती हुने १० हजार १४० हेक्टरमध्ये गत वर्ष नौ हजार ५६२ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको थियो। यस वर्ष क्षेत्रफल घटेर आठ हजार ५६५ हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ३९ हजार ९०० मेक्ट्रिकटन धान उत्पादन भएकामा खडेरी र बाँझोपनका कारण यस वर्ष घट्ने अनुमान कृषि प्राविधिकले गरेका छन् ।

बेमौसमी वर्षात्का कारण पनि यो वर्ष धानको उत्पादन घट्नसक्ने केन्द्रका प्रमुख बस्ताकोटीले बताए । गोरखामा रामधान, सावित्री, सुख्खा–२ लगायत उन्नत जातका र हाइब्रिडमा च्याम्पियन, युएस–३१२ धान रोपाइँ हुने उनले जानकारी दिए । उनका अनुसार केहीले स्थानीय जातका धानका बिउ पनि रोपेका छन् ।

हिमपातले जनजीवन प्रभावित

जिल्लाको दरौँदीफाँट, सिर्दीफाँट, शेराफाँट, ज्यादुलफाँट, टारीफाँट, दर्बुङफाँट, बोर्लाङफाँटलगायत स्थानमा धान उत्पादन बढी हुने कृषि केन्द्रले जनाएको छ । जिल्लाको तल्लो भेगमा वर्षात् र माथिल्लो भेगमा भारी हिमपात भएको छ । उत्तरी गोरखाका विभिन्न गाउँबस्तीमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुव्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए । ‘अहिले यहाँका नागरिक घरभित्रै आगो तापेर बसिरहेका छन् । चौरीहरू पनि भित्रकोभित्रै छन्,’ लामाले भने । उनका अनुसार यस वडाको तीन हजार मिटर भन्दा माथिको उचाइमा रहेका निले, छुले, पाङदुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् ।

त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायत गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा पर्ने लार्केपासमा गएका पर्यटकहरू फर्किएका छन् भने कतिपय सामागाउँ, साम्दोमा रोकिएका स्थानीयले बताएका छन् ।

वर्षाले हालसम्म जिल्लाको कुनैपनि सडकखण्ड अवरुद्ध नगराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit