काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–९का किसानहरूले अत्याधुनिक धान काट्ने मेसिन हार्भेष्टर कम्पायन, ट्याक्टर, बेलर र ट्रली भित्र्याएका छन् । कुल लागत ६२ लाख ७६ हजार रुपैयाँ पर्ने यस परियोजनामा कोशी प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिएको छ।
वडा अध्यक्ष नरबहादुर मोक्तानले भने,‘हाम्रो उद्देश्य किसानलाई प्रविधिसँग जोडेर उत्पादनमा वृद्धि गर्नु हो । समयमै मल, जल र बीउ व्यवस्थापन गर्दा प्रति मन ११० मनसम्म धान उत्पादन सम्भव छ । तर, कृषि मजदुरको अभावले धान भित्र्याउन समस्या भइरहेको थियो। अब पूर्ण प्रविधियुक्त खेतीले किसानलाई मजदुरको पर्खाइमा निर्भर नबनाउनेछ ।’
किसान डिकेन्द्र बस्नेतले नयाँ प्रविधि भित्र्याएसँगै अब थोरै समयमा धेरै काम सहजै गर्न सकिने धारणा राखे । उनले भने, ‘धान काट्न मजदुरको समस्या भइरहेको बेला हार्भेष्टर गाउँमै आइपुग्यो । थोरै खर्चमा छिटो र छरितो ढंगले धान भित्र्याउन सक्यौं । यदी पराल व्यवस्थापनका लागि अलग मेशिन पनि भए अझ सजिलो हुने थियो ।’ साबिक राजघाट गाबिस हाल उर्लाबारी–८ र ९ धानको सघन खेती हुने वडाहरूमध्ये पर्दछ। यहाँ पालिकाले मकै खेतीको पकेट कार्यक्रम पनि संचालन गर्दै आएको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलका अनुसार वडाले प्रविधि भित्राउन १० लाख रुपैयाँ विनियोजन गरेको थियो। किसानहरूले ट्याक्टर खरिदमा ७ लाख ४६ हजार रुपैयाँ लगानी गरेका छन्। किसान, वडा कार्यालय र प्रदेश सरकारको साझेदारीमा ल्याइएको यस प्रविधिले धान काट्ने समय घटाउने, श्रमको लागत बचत गर्ने र उत्पादनमा सुधार ल्याउने बताएका छन् । किसानहरूले प्रतिघण्टा ६ हजार रुपैयाँ मात्र तिर्नेछन्, सामान्यतया बजारमा यो मूल्य ७, ५०० रुपैयाँ पर्ने गर्दछ।
विकास र प्रविधिको यो सहकार्यले उर्लाबारी–९ का किसानहरूलाई आत्मनिर्भर बनाउने, उत्पादन बढाउने र कृषि क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने स्थानीयको भनाई छ ।
















प्रतिक्रिया दिनुहोस्