काठमाडौं । टिकटकले प्लेटफर्ममा देखिने एआई निर्मित सामग्रीबारे प्रयोगकर्ताको बुझाइ, पहिचान क्षमता र नियन्त्रण अधिकार बढाउन लक्षित नयाँ अपडेटहरूको श्रृंखला सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, जिम्मेवारीपूर्वक प्रयोग गरिएका कृत्रिम बुद्धिमत्ता उपकरणहरूले सिर्जनात्मकता बढाउने, अनुसन्धान सहज बनाउने र सुरक्षा मजबूत गर्ने भएकाले पारदर्शिता अनिवार्य छ।
फर यू फिडमा एआई कन्टेन्ट नियन्त्रण
टिकटकले “ म्यानेज टपिक ( Manage Topics) फिचरभित्र एआई निर्मित सामग्रीको मात्रा समायोजन गर्न सकिने नयाँ कन्ट्रोल सेटिङ परीक्षण सुरु गरेको छ। यसमार्फत प्रयोगकर्ताले आफ्नो रुचिअनुसार एआई कथावाचन, शैक्षिक क्लिप वा क्रिएटिभ कन्टेन्ट बढी देख्ने वा घटाउने विकल्प पाउनेछन्।
यो सुविधा कस्टमाइज गर्न मिल्ने कीवर्ड फिल्टर र “ नाे इन्ट्रेस्ट ” बटनजस्ता विद्यमान उपकरणलाई थप प्रभावकारी बनाउँदै व्यक्तिगत फिडलाई प्रयोगकर्ताले आफैँ अनुकूल बनाउन मद्दत गर्ने उद्देश्यले तयार गरिएको हो।
एआईलेबलिङ प्रणालीमा ‘इनभिजिबल वाटरमार्क’
पारदर्शिता मजबुत बनाउन टिकटकले एआई लेबलिङ प्रविधिलाई पनि उन्नत बनाएको छ। क्रिएटर लेबल एआई डिटेक्शन मोडेल र सिटु पीए कन्टेन्ट क्रिडेन्सियल्समार्फत कम्पनीले हालसम्म १.३ अर्बभन्दा धेरै भिडियो पहिचान गरी लेबल गरिसकेको छ।
नयाँ परीक्षण गरिएको ‘इनभिजिबल वाटरमार्किङ’ प्रणालीमार्फत टिकटकका प्रणालीहरूले मात्र पढ्न सकिने डिजिटल चिन्हहरू भिडियोमा राखिन्छन्, जसलाई हटाउन कठिन हुन्छ र एडिट वा रि–पोस्ट गरेपछि पनि कायम रहन्छ। आगामी हप्ताहरूमा यो सुविधा एआई इडिटर प्राे लगायत टिकटकका आफ्नै एआई टुलबाट बनेको कन्टेन्टमा प्रयोग गरिन सुरु हुने छ।
२ मिलियन डलरको एआई लिटरेसी फन्ड
एआई को जिम्मेवारीपूर्वक प्रयोगबारे जनचेतना बढाउन टिकटकले विश्वव्यापी रूपमा २ मिलियन डलरको एआई लिटरेसी फन्ड स्थापना गरेको छ। यस कोषमार्फत विभिन्न देशका गैर–नाफामूलक संस्था र विशेषज्ञहरूलाई एआई कसरी काम गर्छ, एआई–निर्मित सामग्री कसरी पहिचान गर्ने र सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्नेबारे शैक्षिक सामग्री विकास गर्न सहयोग गरिनेछ।
दर्जनभन्दा बढी देशका साझेदारहरूले मिडिया लिटरेसी, सुरक्षित प्रविधि प्रयोग र टिकटकका ट्रान्सपेरेन्सी टुलबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्नेछन्।
भविष्यका लागि सुरक्षित र पारदर्शी डिजिटल वातावरण
टिकटकले यी अपडेटहरूबाट प्रयोगकर्तालाई बदलिँदो एआई वातावरण आत्मविश्वासपूर्वक नेभिगेट गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। कम्पनीले भविष्यमा पनि एआई प्रविधिको विकाससँगै थप उपकरण र साझेदारी कार्यक्रम विस्तार गरिने बताएको छ।

















प्रतिक्रिया दिनुहोस्