Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै रहेको बताएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए ।

विज्ञापन
Advertisement
Advertisement

‘होस्टालिटीको अवस्था निरन्तर नहोस्। देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ,’ उनले भने, ‘द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ ।’ यस्तै उनले त्यसका लागि राजनीतिक दल र जेनजी समूहबीच संवाद चलिरहेको जानकारी दिए । मन्त्री अर्यालले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको जानकारी गराए ।

साथै प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनःनिर्माणमा नागरिक सहयोग प्राप्त भएको उनको भनाइ छ। गृहमन्त्री अर्यालले जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने विश्वास व्यक्त गरे । अर्यालले विभिन्न समूहले विविध माग राखी प्रदर्शन, धर्ना, जुलुस र बिरोधलगायतका कार्यक्रम गरिरहेको गतिविधिको सुक्ष्म निगरानी र समन्वयात्मक रूपमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको समितिलाई जानकारी दिए ।

‘सुरक्षा निकायबाट परिचालन हुने कर्मचारीलाई आवश्यक बन्दोबस्तका सामान खरिद व्यवस्थापन भइरहेको छ,’ उनले भने। उनले जेनजी आन्दोलनपश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उछृङ्खल गतिविधि भएमा वा समस्या परेमा सोको सहजीकरण गर्न सहायता कक्ष स्थापना गरिएको बताए । मन्त्री अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी भर्ना गर्ने योजना अघि बढाइएको बताए ।

अर्यालकाअनुसार भाद्र २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कुल ५९५ जनालाई पक्राउ गरिएको तथा २८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको छ। अहिलेसम्म ७२३ थान हतियार फिर्ता ल्याइएको उनले जानकारी दिए । कारागार तथा बन्दी गृहबाट फरार भएका १४ हजार ५५४ कैदीबन्दीमध्ये नौ हजार ६९७ लाई फिर्ता ल्याइसकिएको छ । उनले बाकी चार हजार ८५७ कैदीबन्दी फिर्ता ल्याउन विशेष ‘अपरेसन’ सञ्चालन गरिएको उल्लेख गरे ।

समितिलाई आगामी निर्वाचनको समयमा सेना परिचालनको लागि रक्षा मन्त्रालयमा लेखि पठाइ राष्ट्रिय सुरक्षा परिषद्बाट निर्णयसमेत भइसकेको उनले जानकारी दिए ।

निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढीकरणका लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट १५६ वटा र थप बजेटबाट १०६ वटा गरी कुल २६२ थान सवारी, सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ वटा र थप बजेटबाट ५० वटा गरी कूल १०९ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप छ वटा सवारी खरिदका लागि स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit