काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रत्यक्ष असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ, जसले ऊर्जा बजारदेखि वित्तीय नीतिसम्म दबाब सिर्जना गरेको छ। तेल आपूर्ति, मूल्य अस्थिरता र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोधका कारण विश्वभर आर्थिक अनिश्चितता बढ्दै गएको देखिएको छ।
बुधबार पनि तेल बजारमा उतारचढाव देखिएको छ। इरानले तेल उत्पादक छिमेकी देशहरूलाई लक्षित गरी आक्रमण गरेपछि अघिल्लो दिन बढेको मूल्य घट्दै वेस्ट टेक्सास इन्टरमिडियेट करिब ९३ डलर आसपास झर्दा तीन प्रतिशतभन्दा बढी घट्यो । यस्तै, ब्रेन्ट कच्चा तेल पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । यद्यपि विश्लेषकहरूले होर्मुज जलडमरूमध्यमा थप तनाव बढे विश्व ऊर्जा लागत तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएका छन्, किनकि यही मार्गबाट विश्वको करिब पाँचौँ हिस्सा तेल र ग्यास आपूर्ति हुन्छ ।
ऊर्जा आपूर्तिमा जोखिम बढेपछि वैकल्पिक व्यवस्थातर्फ देशहरू अग्रसर भएका छन् । दक्षिण कोरियाले होर्मुज मार्ग प्रयोग नगरी संयुक्त अरब इमिरेट्सबाट थप एक करोड ८० लाख ब्यारेल तेल ल्याउने निर्णय गरेको छ। राष्ट्रपति कार्यालयका प्रमुखले विविध आपूर्ति च्यानल प्रयोग गरिने जानकारी दिनुभएको छ, यद्यपि मार्गबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। दक्षिण कोरियाको करिब ७० प्रतिशत तेल आयात सामान्यतया यही जलडमरूमध्य हुँदै आउने गर्दछ ।
सैन्य तनाव र नेतृत्वको अन्त्य
मध्यपूर्वमा जारी युद्धले बुधबार नयाँ मोड लिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको इजरायली हवाई आक्रमणमा मृत्यु भएको पुष्टि भएपछि इरानले ‘निर्णायक र खेदजनक बदला’ लिने घोषणा गरेको छ। इरानले युद्धको असर विश्वव्यापी हुने चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विश्वव्यापी प्रतिक्रिया सुरु भइसकेको र यसले सबै वर्गलाई असर गर्ने बताएका छन् । उनको अभिव्यक्तिसँगै अमेरिकी राष्ट्रिय आतङ्कवाद विरोधी केन्द्रका निर्देशक जोसेफ केन्टले राजीनामा दिएका छन् । केन्टलाई ट्रम्प प्रशासनले नियुक्त गरेको थियो । केन्टले इरानविरुद्धको युद्धलाई समर्थन गर्न नसक्ने भन्दै आफ्नो पद त्यागेको घोषणा गरेका छन् ।
इरानी रिभोलुसनरी गार्ड्सले मध्य इजरायलमा मिसाइल वर्षा गरेको छ, जसमा परी हालसम्म १४ जनाको ज्यान गइसकेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले रिपोर्ट गरेका छन्। यता, इजरायलले दक्षिणी लेबनान र बेरुतमा आफ्नो सैन्य कारबाही तीव्र पारेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि सुरु भएको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ९१२ पुगेको छ।
होर्मुज मार्ग र विश्व ऊर्जा सङ्कट
विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने होर्मुज जलडमरूमध्य अहिले युद्धको केन्द्रविन्दु बनेको छ। अमेरिकी सेनाले इरानी मिसाइल केन्द्रहरूलाई लक्षित गरी शक्तिशाली ‘बङ्कर बस्टर’ बम प्रहार गरेपनि इरानी संसद्का अध्यक्ष बाघेर घालीबाफले यो जलमार्ग अब पहिले जस्तो सामान्य अवस्थामा नफर्किने चेतावनी दिएका छन्। धेरै देशहरुमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। दक्षिण कोरियाले होर्मुजलाई छलेर सिधै युएईबाट तेल ल्याउने प्रयास थालेको छ भने थाइल्याण्डमा पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाम लागेको छ। यसको असर दक्षिण एसियाका राष्ट्रहरुमा पनि परिसकेको छ ।
कूटनीतिक दरार र राजनीतिक दबाब
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरू (नाटो र बेलायत) ले होर्मुज क्षेत्रमा सुरक्षा सहयोग नगरेको भन्दै कडा आलोचना गरेका थिए ।
अर्कोतर्फ, युक्रेनले इरानी ड्रोन प्रविधिविरुद्ध लड्न आफ्ना २०० विशेषज्ञहरू मध्यपूर्वका विभिन्न देशमा परिचालन गरेको जनाएको छ। यसअघि उनले होर्मुजमा जहाजको सुरक्षाका लागि सेना पठानउ चाइनासँग पनि आग्रह गरेका थिए । चाइनाको साथ नपाउने निश्चित भएसँगै ट्रम्पले दबाब सिर्जना गर्न मार्चको अन्त्यमा तय भएको बेइजिङ भ्रमण स्थगित गरिसकेका छन् । यतिबेला आफैंले सुरु गरेको युद्धमा शक्ति राष्ट्रहरुको साथ नपाएपछि ट्रम्प एक्लिएका छन् ।
इजरायल–अमेरिकाले २८ फेब्रुअरीमा इरानमाथि मिसाइल दागेपछि सुरु भएको मध्यपूर्वको यो द्वन्द्व अब केवल दुई देशबीचको लडाइँ नभई यसले विश्वको सुरक्षा ढाँचा, आर्थिक स्थिरता र कूटनीतिक सम्बन्धलाई नै परिवर्तन गरिदिएको छ। यदि होर्मुज जलमार्ग पूर्ण रूपमा बन्द भयो भने विश्व अर्थतन्त्र ठूलो मन्दीको चपेटामा पर्ने देखिन्छ।







कर्पोरेट समाचार 

















प्रतिक्रिया दिनुहोस्