काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ।

एस डी प्रोमो मिडिया प्रालिले केमसान नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त एक्स्पो २०२६ अप्रिल ३० देखि मे २ सम्म (बैशाख १७ देखि १९ सम्म) तीन दिन भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ। आयोजकका अनुसार यस वर्षको संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ।

images
images

प्रदर्शनीमा नेपाल, भारतसहित विभिन्न देशका ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १,००० भन्दा बढी उत्पादन तथा सेवाहरू एकै स्थानमा प्रदर्शन गरिनेछ। यसले स्वास्थ्य सेवा र प्रयोगशाला विज्ञानका नवीनतम प्रविधि, उपकरण तथा समाधानहरुलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ।

तीन दिनसम्म चल्ने एक्स्पोलाई स्वास्थ्य सेवा, औषधि (फार्मास्युटिकल) तथा अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण ‘बीटुबी’ प्लेटफर्मका रूपमा लिइएको छ। यसले व्यापारिक सहकार्य विस्तार, स्रोत पहिचान, प्रविधि आदान–प्रदान तथा उच्चस्तरीय नेटवर्किङका लागि उपयुक्त वातावरण सिर्जना गर्ने आयोजकको विश्वास छ।

प्रदर्शनीमा सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मो फिसर साइन्टिफिक, ह्युमन डायग्नोस्टिक, स्निबे, ड्रागर र सीटीके बायोटेकजस्ता विश्वप्रसिद्ध ब्रान्डहरुको सहभागिता सुनिश्चित भइसकेको छ। यसले नेपालमा आधुनिक स्वास्थ्य प्रविधिको प्रयोग विस्तार गर्न र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

आयोजक एस डी प्रोमो मिडिया प्रालिका निर्देशक विवेक विक्रमका अनुसार नवौं संस्करणले स्थापित कम्पनी र नयाँ उद्यमी दुवैलाई आफ्ना आविष्कार तथा उत्पादन प्रदर्शन गर्ने, नयाँ साझेदारी निर्माण गर्ने र उद्योगको समग्र विकासमा योगदान पुर्याउने अवसर प्रदान गर्नेछ।

उक्त एक्स्पो विशेषगरी अस्पताल, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, औषधि कम्पनी, अनुसन्धान संस्था, विश्वविद्यालय, मेडिकल कलेज, ब्लड बैंक तथा खाद्य तथा सामग्री परीक्षण प्रयोगशालासँग सम्बन्धित निर्णयकर्ता तथा खरिद पेशेवरहरुलाई लक्षित गरिएको छ। साथै दक्षिण एसियाभरका विदेशी खरिदकर्ताहरूको समेत सहभागिता रहने जनाइएको छ।

नेपालमा स्वास्थ्य सेवा र प्रयोगशाला क्षेत्रमा बढ्दो प्रविधि आवश्यकताबीच यस्तो अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीले ज्ञान, प्रविधि र व्यवसायिक सहकार्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।