काठमाडौं। अन्तर्राष्ट्रिय फेन्सिङ खेलाडी तथा सशस्त्र प्रहरी बलमा आबद्ध अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन्।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता समेत रहेकी कार्की आइतबार बिहान १० ः२० बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन्। सशस्त्र प्रहरी बलको खेलकुद शाखामा सहायक हवल्दार पदमा कार्यरत कार्की एपीएफबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला खेलाडी एवं सुरक्षाकर्मी समेत बनेकी छिन्।
‘गाग्रीका लागि आरोहण’
अनिताले ‘गाग्रीका लागि आरोहण’ भन्ने मूल नाराका साथ यो ऐतिहासिक यात्रा पुरा गरेकी हुन्। नेपालका ग्रामीण महिलाहरूले स्वच्छ खानेपानीका लागि दैनिक रूपमा भोग्नुपर्ने चरम खानेपानी संकट र शारीरिक कष्टलाई विश्वव्यापी रूपमा उजागर गर्ने उद्देश्यले उनले ‘गाग्रीका लागि आरोहण’ भन्ने नारा सहित आरोहण सम्पन्न गरेको बताइन् ।
आरोहणका क्रममा उनले आफ्नो साथमा परम्परागत नेपाली तामाको गाग्री बोकेर सगरमाथाको शिखरमा पुग्दै ती ‘अदृश्य आरोही’ ग्रामीण महिलाहरूप्रति उच्च सम्मान प्रकट गरिन् । जो परिवारका लागि पानी जुटाउन दैनिक रूपमा पहाडका कठिन भूभागमा कष्टकर यात्रा गर्न विवश छन्। विशेष गरी नेपालका मध्य पहाडी क्षेत्रमा मनसुनपछि हुने पानीको अभाव र जलस्रोत व्यवस्थापनको आवश्यकतालाई अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउनु यस अभियानको मुख्य लक्ष्य रहेको उनको भनाइ छ। संविधानले स्वच्छ खोपानीलाई मौलिक हक घोषणा गरेपनि हालसम्म लाखौँ नागरिक स्वच्च खानेपानीको पहुँचबाट टाढा छन् । नेपालमा ३० प्रतिशत बढी नागरिक अझै विश्व स्वास्थ्य संगठनले तय गरेको स्वच्छ खानेपानीको मापदण्ड अनुसार खानेपानीको प्रयोगबाट बञ्चित छन् ।
यसैगरी, उनले सगरमाथाको सफल आरोहणपछि आफ्नो यो सफलतामा नारायण बल्लभ पन्त फाउण्डेशन र देव ग्रुपको विशेष सहयोग रहेको बताएकी छिन्। उनले सहयोगी मन र संस्थाहरूको दरिलो साथ बिना यो कठिन यात्रा सहज नहुने भन्दै फाउण्डेशन र देव ग्रुपप्रति आभार प्रकट गरेकी छिन्। यसअघि चुलु फार ईस्ट र लोबुचे हिमालको सफल आरोहण गरिसकेकी र उच्च हिमाली उद्धार कार्यमा समेत प्रशिक्षित कार्कीले यस आरोहणका लागि लामो समयदेखि सघन शारीरिक प्रशिक्षण र प्राविधिक तयारी गर्दै आएकी थिइन्।








कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्