काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका आर्थिक क्षेत्रसँग सम्बन्धित कुल ४७ वटा बुँदामध्ये तेस्रो त्रैमास (माघ–चैत) सम्म आइपुग्दा ११ वटा बुँदामा काम शून्य देखिएको छ।
नेपाल उद्योग परिसंघ सीएनआई र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार संयुक्तरूपमा सञ्चालन गरेको ‘बजेट वाच’ कार्यक्रममा उक्त तथ्य बाहिर आएको हो ।
बजेट वाचको तथ्यांक अनुसार चालू आर्थिक वर्षको‘ पहिलो त्रैमास (साउन–असोज) मा ३८ बुँदामा कुनै प्रगति नभएको अवस्थामा दोस्रो त्रैमास (कार्तिक–पुस) सम्म त्यो संख्या घटेर २० मा पुगेको थियो। तेस्रो त्रैमास (माघ–चैत) सम्म आइपुग्दा शून्य प्रगतिमा रहेका बुँदाको संख्या थप घटेर ११ मा झरेको छ। सुरुवाती महिनाहरूमा कार्यान्वयनको गति निकै सुस्त रहे पनि पछिल्ला महिनाहरूमा क्रमशः सुधार हुँदै गएको देखिन्छ ।
क्षेत्रगत रूपमा हेर्दा सरकारलाई उद्योग क्षेत्रका योजनाहरू कार्यान्वयन गर्न सबैभन्दा धेरै चुनौती देखिएको छ। तेस्रो त्रैमाससम्म पनि यस क्षेत्रका ५ वटा बुँदामा समेटिएका काम अझै सुरु हुनै सकेको छैन। यद्यपि, पहिलो त्रैमासमा उद्योगतर्फ १७ बुँदा र दोस्रो त्रैमासमा ८ बुँदा काम नै भएका थिएनन् ।
यसैगरी, कृषि तथा जडीबुटी क्षेत्रमा पहिलो त्रैमासमा ३ बुँदामा शून्य प्रगति रहेकोमा तेस्रो त्रैमासमा शून्यमा झरेको छ। पर्यटन क्षेत्रमा पनि पहिलो त्रैमासमा ३ बुँदा कार्यान्वयन नभएकोमा तेस्रो त्रैमाससम्म २ वटा रहेका छन् । वित्तीय क्षेत्रमा पहिलो त्रैमासमा ४ बुँदामा प्रगति नभएकोमा तेस्रो त्रैमासमा तीन बुँदामा काम सुरु भएको र एउटामा भने काम नै भएको छैन् ।
श्रम, रोजगार तथा शिक्षा क्षेत्रमा पहिलो त्रैमासमा १ बुँदामा शून्य प्रगति रहेकामा तेस्रो त्रैमासमा सबै बुँदामा केही न केही प्रगति भएको तथ्यांकमा उल्लेख छ। त्यस्तै सूचना प्रविधि तथा स्टार्टअप क्षेत्रमा पहिलो त्रैमासमा ४ बुँदामा प्रगति नै भएको थिएन । तर, तेस्रो त्रैमाससम्म आइपुग्दा सबै बुँदामा कार्यान्वयन प्रक्रिया अघि बढेको तथ्यांकले देखाएको छ।

















प्रतिक्रिया दिनुहोस्