काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटवार्ता गरेका छन्।
मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा तय भएको पूर्वनिर्धारित कार्यक्रम अनुसार इयूका गैरआवासीय राजदूत तथा नियोग प्रमुखहरूको टोली छलफलका लागि पुगेको थियो। सो क्रममा ३० देशका राजदूत तथा नियोग उपप्रमुखले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उकत सामूहिक भेटवार्ता दुई घण्टा चलेको थियो । भेटवार्तामा ईयू सदस्य राष्ट्रका २२ जना र काठमाडौंमा रहेका विभिन्न आठ गरी कुल ३० देशका राजदूत तथा उपनियोग प्रमुख सहभागी थिए ।
दुई दिने नेपाल भ्रमणका क्रममा हिजो काठमाडौं आइपुगेको उच्चस्तरीय टोलीसँग प्रधानमन्त्री शाहले महत्त्वपूर्ण सामूहिक संवाद गरेका हुन्। उच्चस्तरीय भेटमा नयाँ सरकारका मुख्य राष्ट्रिय प्राथमिकता तथा नीतिहरूका बारेमा कूटनीतिक समुदायलाई अवगत गराउने नेपाल र युरोपेली देशहरूबीचको दशकौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउनेबारे छलफल भएको छ। दुई दिने भ्रमणका लागि नेपाल आएको इयू आबद्ध टोलीसहित काठमाडौंमा रहेका अन्य आठ देशका प्रतिनिधिले पनि प्रधानमन्त्रीसँग भेट गरेका हुन् । अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, द चेक रिपब्लिक, डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुनिया, लक्सजेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्वीडेनका राजदूत तथा मिसन प्रमुखहरूले आज छलफल गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेयता अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादलाई निरन्तरता दिएका छन् । यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्रीले नेपालस्थित विभिन्न देशका आवासीय राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए। आज इयू प्रतिनिधिमण्डलसँग भएको दोस्रो ठूलो सामूहिक भेटवार्ताले नेपालको विकास प्रयासमा बलियो अन्तर्राष्ट्रिय साझेदारीलाई थप बल पुर्याउने विश्वास गरिएको छ।
तस्बिर : प्रधानमन्त्री सचिवालय

















प्रतिक्रिया दिनुहोस्