काठमाडौं । निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफूमाथि सम्पत्ति छानबिन गर्न बनेको समितिबाट सफाइ पाउनेमा पूर्ण आशावादी रहेको बताएका छन् ।
आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएका गुरुङले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको अवस्थामा सफाइ पाउनेमा ढुक्क रहेको बताएका हुन् ।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनका क्रममा निर्वाचन क्षेत्र पुगेका सांसद गुरुङले आज आयोजित सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।’
छानबिन समितिले त्यत्रो सम्पत्ति कहाँबाट आयो भनेर आफूलाई प्रश्न गरेको जानकारी दिँदै उनले प्रश्नको जवाफमा उल्टो समितिका सदस्यलाई नै प्रतिप्रश्न गरेको गुरुङको भनाइ थियो । ‘समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ? भनेर प्रश्न गर्यो । निष्पक्ष छानबिन गर्नलाई यति कडा–कडा प्रश्न गर्नुभयो कि एकछिन त्यो पुरानो रिसाउने सुधन गुरुङ निस्किसकेको थियो,’ उनले भने, ‘यति सारो प्रश्न गर्नुभयो कि मैले त उहाँलाई हजुरको पनि सम्पत्ति छानबिन गर्नु न त भन्न त भ्याएँ।’
उनले छानबिन प्रक्रिया सकिएर प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेकाले आफू निर्दोष सावित हुनेमा दुविधा नरहेको स्पष्ट पारे। आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले भनेका छन्,‘ उहाँहरुले इच्छाउनुहुन्छ, मलाई काबिल देख्नुहुन्छ र म त्यो पदमा पुनः गइहालेँ भने मलाई अलिकति समय दिनु। मलाई दुई महिना जतिको समय दिनु। त्यतिखेर यो फोटो खिच्ने र माला लगाउने, खादा–लगाएर बधाई दिने कार्यक्रमहरु नगरौं। मन्त्रालय धाउने काम नगरौं। दुई महिना जति मलाई समय दिनुहोला, म त्यतिन्जेल सम्म सबै कुराहरु इस्टाब्लिस गरिदिन्छु।’
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले शुक्रबार ४५ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो । विवादित व्यवसायी दीपक भट्टसँग अवैध साझेदारी गरेको र लघु बीमा कम्पनीको शेयर सम्पत्ति विवरणमा लुकाएको आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते राजीनामा दिएका थिए।
यसैगरी, सम्बोधनका क्रममा सांसद गुरुङले रास्वपाको सङ्गठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीका बारेमा पनि आफ्नो स्पष्ट धारणा राखे । अब बन्ने जिल्ला सभापतिहरू राजधानी केन्द्रित हुन नहुने उनको तर्क थियो । ‘अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ,’ गुरुङले थपे, ‘राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन ।’

















प्रतिक्रिया दिनुहोस्