नेपालगञ्ज । बाँके, दाङ र बर्दियालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत सडक विस्तारको काम सुरु हुने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–३ नारायणपुरदेखि बाँके–दाङ सीमास्थित कुसुमपारी भवानीपुरसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ।
निर्देशनालयका कार्यालय प्रमुख लीलाबहादुर भण्डारीका अनुसार दाङ, बाँके र बर्दिया खण्डको कुल ७५ किलोमिटर सडकमा करिब ३६ किलोमिटर नयाँ ट्रयाक खोल्नुपर्नेछ। यस क्रममा करिब २० वटा पुल निर्माण गरिनेछ। दाङतर्फ २२ किलोमिटर सडक र १७ वटा पुल निर्माणका लागि २९ अर्ब रुपैयाँ बजेट सुनिश्चित भइसकेको उनले जानकारी दिए।
उनका अनुसार अधिकांश खण्डको ठेक्का प्रक्रिया अघि बढिसकेको छ। आवश्यक सूचना प्रकाशनको काम असार मसान्तसम्म सम्पन्न गरी असोज महिनादेखि निर्माण कार्य सुरु गरिनेछ। परियोजनाअन्तर्गतका सम्पूर्ण काम आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सडक विस्तारका क्रममा करिब १५ किलोमिटर क्षेत्र घना जंगलभित्र पर्ने जनाइएको छ। सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० तथा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको छ। निर्माणपछि सडकको चौडाइ १२ मिटर रहनेछ भने नौ मिटर भाग कालोपत्र गरिनेछ।
कार्यालय प्रमुख भण्डारीले हुलाकी राजमार्ग पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास हुने बताए। उनका अनुसार सडकले जिल्ला सदरमुकामहरूलाई जोड्नुका साथै पछाडि परेका बस्ती र समुदायलाई विकासको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।
स्थानीयवासीले पनि सडक विस्तारलाई क्षेत्रीय विकाससँग जोडेर हेरेका छन्। समाजसेवी पोषण केसीले गुणस्तरीय सडक अभावकै कारण ग्रामीण क्षेत्र विकासमा पछाडि परेको उल्लेख गर्दै सडक निर्माणपछि आर्थिक तथा सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आउने विश्वास व्यक्त गरे।
राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले हुलाकी सडक विस्तारको खबरले स्थानीयमा उत्साह थपिएको बताए। उनका अनुसार सडक निर्माण भएपछि कृषि उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्