काठमाडौं । काठमाडौंमा लामो समयदेखि प्रतीक्षित विलासी होटल परियोजनाले नयाँ मोड लिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा प्रसिद्ध व्यवसायी शेष घलेले आफ्नो निर्माणाधीन होटल व्यवस्थापनका लागि विश्वप्रसिद्ध म्यारियट इन्टरनेसनलको सर्वाधिक महँगो र प्रतिष्ठित प्रिमियम ब्रान्ड ‘द लक्जरी कलेक्सन’सँग आधिकारिक सम्झौता गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा व्यवसायी शेष घले र म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटबीच यससम्बन्धी द्विपक्षीय सम्झौता भएको हो। सम्झौतापश्चात् अध्यक्ष म्यारियटले काठमाडौंको लैनचौररकेशरमहलस्थित होटल परिसरको स्थलगत अवलोकन र भ्रमणसमेत गरेका छन्।
व्यवसायी शेष घलेका अनुसार यो होटल नेपालमा मात्र नभई भारत, श्रीलंका, बंगलादेशसहित समग्र दक्षिण एसिया क्षेत्रकै पहिलो ‘द लक्जरी कलेक्सन’ ब्रान्डको होटल हुनेछ। होटलको ट्रेडमार्क रजिस्ट्रेसनका लागि प्रक्रिया अगाडि बढिसकेको र १र२ हप्तामा नाम सार्वजनिक गरिने उनले बताए। हाल होटलको बाँकी निर्माण कार्य म्यारियटकै मापदण्ड र अनुरोध अनुसार द्रुत गतिमा भइरहेको छ।सन् २०१३ देखि निर्माण सुरु भएको यो होटल विभिन्न परिस्थिति, महाभूकम्प, नाकाबन्दी र कोभिड–१९ महामारीका कारण समयमै सम्पन्न हुन सकेको थिएन।
सुरुमा यो होटल म्यारियटकै ‘सेराटन’ ब्रान्डमा सञ्चालन गर्ने योजना थियो। तर निर्माण अवधि लम्बिएपछि सेराटन बाहिरिएको थियो। पछि यसलाई म्यारियटको शीर्ष श्रेणीको ब्रान्ड ‘लक्जरी कलेक्सन’ मा स्तरोन्नति गरिएपछि अन्तर्राष्ट्रिय विलासी मापदण्ड अनुसार यसको डिजाइन र संरचनामा व्यापक परिमार्जन गरिएको लगानीकर्ता जमुना गुरुङ घलेले जानकारी दिइन्।
सुरुमा करिब १३ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको यस परियोजनाको लागत समय थपिँदै जाँदा बढेर १५ अर्ब रुपैयाँको हाराहारीमा पुग्ने देखिएको छ। हाल होटलको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। अबको ३–४ महिनामा निर्माण पूरा गरी २०२६ को अक्टोबरदेखि होटल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी सञ्चालकको छ।
नेपालमा म्यारियट इन्टरनेसनलले आफ्नो बजार आक्रामक रूपमा विस्तार गरिरहेको छ। हाल नेपालमा म्यारियट चेन अन्तर्गत काठमाडौं म्यारियट, फेयरफिल्ड बाइ म्यारियट, अलोफ्ट ठमेल, मोक्सी काठमाडौं र सोल्टी होटलमा ‘अटोग्राफ कलेक्सन’ सञ्चालनमा छन्। शेष घलेको यो नयाँ सम्झौता र थपिन लागेको ‘द लक्जरी कलेक्सन’ ले नेपाललाई विश्वकै एउटा प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ। साथै म्यारियटका दुई लक्जरी ब्रान्ड रिट्ज–कार्लटन र वेस्टिनसँग आजै चौधरी ग्रुपले पनि सम्झौता सम्पन्न गरेको छ।

















प्रतिक्रिया दिनुहोस्