काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन माेर्टर नेपालले ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन मा ‘कस्टमर मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ।
२५ वैशाख २०८३ मा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट सञ्चालक, व्यवसायिक अपरेटर तथा सरोकारवालाहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूको प्रत्यक्ष प्रतिक्रिया संकलन गर्नु रहेको थियो। सहभागीहरूले सवारी साधनको प्रयोग अनुभव, सेवा सम्बन्धी आवश्यकता, सुझाव तथा आफ्टर–सेल्स सेवासम्बन्धी धारणा खुला रूपमा राखेका थिए।
कार्यक्रममा सम्भावित खरिदकर्ताहरूले फोटोनका विभिन्न कमर्सियल सवारी साधनबारे जानकारी लिनुका साथै कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए। कम्पनीले ग्राहकसँग बिक्रीपछि पनि दीर्घकालीन सम्बन्ध कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
फोटोन नेपालका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्र शहरी सामान ढुवानी, स्कुल यातायात, फ्लीट सञ्चालन तथा व्यवसायिक यात्राका लागि महत्वपूर्ण बजारका रूपमा विकसित हुँदै गएका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले सेवा तथा सपोर्ट प्रणालीलाई थप सुदृढ बनाउने योजना अघि बढाएको जनाएको छ।
कार्यक्रममा आफ्टर–सेल्स सर्भिस प्रमुख छलफलको विषय बनेको थियो। सहभागीहरूले स्पेयर पार्ट्सको उपलब्धता, सेवा पहुँच, मर्मत गुणस्तर तथा प्रतिक्रिया समयबारे आफ्ना धारणा राखेका थिए। कम्पनीका अनुसार प्राप्त सुझावहरू सेवा मापदण्ड सुधार तथा ग्राहक अनुभवलाई अझ सहज र भरपर्दो बनाउन प्रयोग गरिनेछ।
नेपालमा कमर्सियल विद्युतीय सवारीको प्रयोग बढ्दै गएको सन्दर्भमा कम्पनीले आफ्नो ईभी इकोसिस्टम र आफ्टर–सेल्स सपोर्ट नेटवर्कबारे पनि जानकारी गराएको थियो। फोटोन नेपालको देशव्यापी शोरुम तथा सर्भिस सेन्टर नेटवर्कमार्फत ग्राहकलाई जेनुइन स्पेयर पार्ट्स, प्राविधिक सहयोग तथा विश्वसनीय सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।फाेटाेन ग्लाेबलका सवारी साधनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियले मोबिलिटी क्षेत्रमा विश्वसनीयता, प्रदर्शन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्दै आएको जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्