काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थको उपलब्धता र उत्पादित वस्तुको बजारीकरण प्रमुख चुनौतीका रूपमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनले पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमतामा उद्योग सञ्चालन हुन नसक्नु तथा जनशक्ति पलायनलाई पनि उद्योग क्षेत्रका मुख्य समस्याका रूपमा औंल्याएको छ।
अध्ययनअनुसार औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु, औद्योगिक उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, कच्चा पदार्थको उचित व्यवस्थापन गर्नु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु तथा निर्यातजन्य वस्तुको विविधीकरण गर्नु आवश्यक देखिएको छ।
प्रतिवेदनले कर्णाली प्रदेशमा उद्योग सञ्चालनका लागि पुँजी अभाव र बजारीकरणको समस्या रहेको उल्लेख गरेको छ। ठूलो सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेकाले उद्योगमा आवश्यक प्राविधिक तथा सीपयुक्त जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अध्ययनले देखाएको छ। वैदेशिक लगानी आकर्षित गरी उद्योगका लागि आवश्यक पुँजी जुटाउनु र आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय उत्पादन गर्नु पनि कठिनाइका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ।
सुदूरपश्चिम प्रदेशमा भारतसँगको खुला सीमाका कारण हुने सम्भावित भन्सार छली तथा अवैध पैठारी नियन्त्रण गर्दै स्थानीय उत्पादन र औद्योगिक गतिविधि प्रवर्द्धन गर्नु चुनौतीपूर्ण रहेको अध्ययनले जनाएको छ। दक्ष जनशक्ति अभाव, कमजोर पूर्वाधार, निर्यातयोग्य वस्तुको ब्रान्डिङ तथा विविधीकरणको कमी, न्यून उत्पादकत्व र कमजोर निर्यात क्षमता पनि प्रमुख समस्या हुन्।
यद्यपि उद्योग क्षेत्रमा सम्भावना पनि उत्तिकै रहेको राष्ट्र बैंकको निष्कर्ष छ। जलविद्युत् उत्पादन विस्तार, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माण, कृषि उपज, जडीबुटी र खानीजन्य स्रोतको उपलब्धताले औद्योगिक विकासको आधार तयार गरिरहेको प्रतिवेदनमा उल्लेख छ।
बढ्दो सूचना प्रविधिको प्रयोगसँगै सफ्टवेयर विकास, सूचना प्रविधि सेवा तथा आउटसोर्सिङ उद्योगको सम्भावना उच्च रहेको अध्ययनले देखाएको छ। साथै, सहज बैंकिङ पहुँच, न्यून ब्याजदर, वित्तीय संस्थामा रहेको लगानीयोग्य रकम, बढ्दो सहरीकरण तथा डिजिटल प्रविधिको विस्तारले औद्योगिक उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।
प्रतिवेदनअनुसार मधेस प्रदेशमा कृषि तथा खाद्य प्रशोधन उद्योग, चिनी, दुग्ध, तेल तथा पशु आहार उद्योग विस्तारको सम्भावना रहेको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाका कारण पर्यटन तथा हस्तकलासम्बन्धी उद्योग विकासको अवसर पनि देखिएको छ।
बागमती प्रदेशमा कृषि तथा पशुपालनमा आधारित उद्योग, खाद्य प्रशोधन, दुग्धजन्य उत्पादन र जडीबुटी प्रशोधन उद्योग विस्तार गर्न सकिने सम्भावना औंल्याइएको छ। गण्डकी प्रदेशमा ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानमार्फत कानुनी सुधार, पूर्वाधार विकास र स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिए औद्योगिक उत्पादनमा उल्लेख्य वृद्धि हुन सक्ने अध्ययनले जनाएको छ।
राष्ट्र बैंकले स्थानीय स्रोतसाधन, सीप र कृषि क्षेत्रमा आधारित उत्पादनलाई प्रवर्द्धन गर्दै निर्यात वृद्धि तथा आयात प्रतिस्थापनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएको छ।
















प्रतिक्रिया दिनुहोस्