Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

पूर्वी नेपालको संकटले दिएको सन्देश: निर्यात मात्र होइन, घरेलु बजार पनि नेपाली चियाको भविष्य हो

पूर्वी नेपालको संकटले दिएको सन्देश: निर्यात मात्र होइन, घरेलु बजार पनि नेपाली चियाको भविष्य हो
विज्ञापन
Advertisement

पूर्वी नेपालदेखि झापासम्म फैलिएको चिया उद्योग अहिले भारततर्फ अर्थोडक्स चिया निर्यातमा देखिएको अवरोधका कारण गम्भीर संकटमा परेको छ।

विज्ञापन
Advertisement
Advertisement

वैदेशिक मुद्रा आर्जन, ग्रामीण रोजगारी र औद्योगिक विकाससँग जोडिएको यो क्षेत्र भारतसँग निर्यातमा अत्यधिक निर्भर भएकाले पनि भारतीय बजारमा आउने कुनै पनि नीतिगत परिवर्तनले प्रत्यक्ष असर पार्ने गरेको छ। हालको अवरोधका कारण उद्योगमा तयारी चिया थन्किएको, नगद प्रवाह प्रभावित भएको, किसानले भुक्तानी नपाएको र हजारौँ श्रमिकको रोजगारी जोखिममा परेको अवस्था छ।

यसले नेपाली चिया क्षेत्रको मुख्य चुनौती उत्पादनभन्दा पनि बजार विविधीकरण, घरेलु उपभोग विस्तार र मूल्य शृङ्खला सुदृढीकरण रहेको तथ्य उजागर गरेको छ। विश्वले रुचाएको नेपाली अर्थोडक्स चिया निर्यातमा हाल देखिएको समस्याले यस क्षेत्रको दीर्घकालीन स्थायित्वमै समेत प्रश्न उठाएको छ।

६० हजारको रोजीरोटी र अर्बौंको व्यापार संकटमा 

नेपालमा चिया उत्पादन ३१ जिल्लामा फैलिएको छ। करिब १० हजार हेक्टरभन्दा बढी जमिनमा खेती हुने यो उद्योगबाट वार्षिक करोडौँ किलो चिया उत्पादन हुन्छ, जसमा अर्थोडक्स, सीटीसी, हरियो चिया तथा अन्य विशेष प्रकारका चिया समावेश छन्। विशेषगरी पूर्वी पहाडका जिल्लाहरू इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र तराई क्षेत्र झापा चिया उत्पादनका मुख्य केन्द्र हुन्।अनुमानित ६० हजारभन्दा बढी प्रत्यक्ष श्रमिक तथा हजारौँ किसान परिवारको रोजगारीको माध्यम बन्दै आएको छ ।

विगत ४ दिन यता ठूलो संख्यामा देशका चिया उद्योग ठप्प छन् । इलामका ५६ र झापाका ३० गरी ८३ भन्दा बढी उद्योगमा ताला लागेको छ ।जसकारण, झन्डै १२ लाख किलो तयारी चिया कारखानामै कुहिने अवस्थामा पुगेको छ। उद्योगीहरूले लाखौँ किलो तयारी चिया गोदाममै थन्किदा उत्पादन कुहिने, गुणस्तर घट्ने र ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने चिन्ता जताउदै आएका छन् । कतिपय उद्योगहरूले नगद प्रवाह रोकिएपछि किसानलाई हरियो पत्तीको भुक्तानी दिन नसक्ने अवस्था आएको बताएका छन्। साथै मजदुरहरूको तलब, बैंक ऋण र सञ्चालन खर्चसमेत प्रभावित भएको छ।

विश्वमै उत्कृष्ट नेपाली चियालाई भारतको अवरोध ! 

नेपाली चियाले अन्तर्राष्ट्रिय स्तरमा पटक–पटक उत्कृष्टता प्रमाणित गरिसकेको छ। अमेरिकामा आयोजित वर्ल्ड टी एक्सपो २०२४ मा इलामको सिद्धदेवी टी स्टेटले ‘ग्राण्ड च्याम्पियन’ उपाधि जित्नुका साथै नेपालले विभिन्न विधामा उत्कृष्टता हासिल गरेको थियो। त्यस्तै, चीनमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि नेपाली चिया उद्योगहरूले भारत, केन्या र चीनजस्ता प्रमुख चिया उत्पादक देशलाई पछि पार्दै उल्लेखनीय सफलता हासिल गरेका थिए।

यस्ता उपलब्धिले नेपाली चियाको विश्वस्तरीय गुणस्तर पुष्टि गरे पनि भारतले गुणस्तर परीक्षणलगायतका प्राविधिक बहानामा निर्यातमा अवरोध सिर्जना गर्दै आएको छ। यसलाई धेरैले नेपाली चियाको बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतालाई रोक्ने प्रयासका रूपमा हेर्न थालेका छन्। भारतको यो व्यवहारलाई नेपालजस्तो साना छिमेकी देशको अर्थतन्त्रलाई नियन्त्रणमा राख्ने प्रयासका रूपमा समेत हेरिन थालिएको छ । नेपाल चिया उत्पादक संघका अनुसार चिया उद्योगको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँसम्म पुग्ने गरेको छ, जसको ठूलो हिस्सा निर्यातमार्फत आउने गर्दछ। विगतमा पनि नेपाली चिया उद्योगीले पटक–पटक भन्सार पास र निर्यातको समस्या भोग्दै आएका छन् । यसले नेपाली चियाको अर्थ (आर्थिक–सामाजिक पक्ष) माथि दबाब र्सिर्जना हुने गरेको देखिन्छ ।

नेपाली चियामा ‘अघोषित नाकाबन्दी’

पछिल्ला महिनाहरूमा नेपाली चिया निर्यातमा मुख्य रूपमा भारततर्फ जाने ढुवानीमा अवरोध देखिँदै आएको छ। व्यवसायी तथा उद्योगीहरूको दाबी अनुसार, भारततर्फ नयाँ गुणस्तर परीक्षण प्रक्रिया, प्राविधिक मापदण्ड र अनिवार्य परीक्षण प्रणाली लागू भएपछि निर्यात प्रक्रिया अत्यन्त ढिलो र जटिल बनेको छ। यसलाई कतिपय उद्योगीहरूले ‘अघोषित नाकाबन्दी’ को रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई व्यापारिक नीतिगत परिवर्तनको रूपमा लिएका छन्। नेपालबाट पठाइएका चिया सीमा नाकामा रोकिँने, भारतीय पक्षले जाँचपास प्रकृयामा जानाजान दुःख दिने गरेको आरोप उद्योगीहरूको छ। तर, भारतीय पक्षले यसलाई गुणस्तर परीक्षण र स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) को कार्यान्वयनमा गरिएको कडाइका रुपमा मात्र लिएको छ।

‘चिया निर्यातको समस्या तत्काल समाधान गर’

नेपाल–भारतबीच लामो समयदेखि घनिष्ठ व्यापारिक सम्बन्ध रहेको छ । दुई देशबीच व्यापारको मात्र होइन जन–स्तरको सम्बन्ध पनि छ । नेपाल वस्तु आयातमा भारतसँग अत्यधिक परनिर्भर छ । नेपाली चिया निर्यातमा देखिएको पछिल्लो अवरोधले व्यापारिक असन्तुलन र प्राविधिक बाधाका विषयलाई पुनः उजागर गरेको छ। चिया व्यवसायीहरूले भारतीय बजारमा नेपाली कच्चा चिया सहज रूपमा प्रयोग हुने तर तयारी चियामा अवरोध गरिनु असमान व्यवहार भएको गुनासो गर्दै आएका छन् । यद्यपि भारतले भने गुणस्तर, खाद्य सुरक्षा र मापदण्ड पालनालाई यसको कारण बताउँदै आएको छ।

चिया उद्योगी तथा व्यवसायीहरूले नेपाली चिया निर्यातमा देखिएको समस्याको समाधानका लागि सरकारको कूटनीतिक पहल प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन्। यस विषय संसद्मा समेत प्रश्न उठेको छ । यता, नेपाल उद्योग वाणिज्य महासंघले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गर्दै समस्या समाधान नभए व्यापार घाटा, रोजगारी र ग्रामीण अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।

नेपालको चिया उद्योग अहिले केवल व्यापारिक विवादको विषय नभई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र निर्यातसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौतीका रूपमा उभिएको छ। निर्यात अवरोधका कारण उद्योग, किसान, मजदुर र समग्र ग्रामीण अर्थतन्त्र प्रभावित भइरहेका छन्। त्यसैले समस्या समाधानका लागि आजै मात्र राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सरकारलाई चिया किसान र चिया बगानका श्रमिकहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ। समितिले अलैँची, सुपारी, बेसार, अदुवा र कफीजस्ता नगदेबालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन र त्यसका लागि आवश्यक कानुन ल्याउन पनि सरकारसँग आग्रह गरेको छ।

नेपाली चियाको भविष्य बलियो बजार र दूरदर्शी नीतिमा निर्भर छ

चिया उद्योगका समस्यामा सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुका साथै दीर्घकालीन रूपमा वैकल्पिक अन्तर्राष्ट्रिय बजार विस्तार, घरेलु उपभोग प्रवर्द्धन र उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा ध्यान दिन आवश्यक छ। नेपाली चिया उद्योगको दीर्घकालीन स्थायित्वका लागि अब निर्यात बजार विस्तारसँगै बलियो घरेलु बजार निर्माण अपरिहार्य बनेको छ। अन्तर्राष्ट्रिय बजारमा आउने नीतिगत परिवर्तन, व्यापारिक अवरोध वा आर्थिक उतारचढावका कारण उद्योग बारम्बार संकटमा पर्ने भएकाले अब एकमात्र बजार वा देशमा ठूलो निर्भरता देखाउने भन्दा बजार विस्तार नीति अवलम्बन गरिनुपर्छ । यसका लागि घरेलु र अन्तर्राष्ट्रिय बजार दुवैतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।

नेपाली उपभोक्ताले आफ्नै उत्पादनलाई प्राथमिकता दिने संस्कृति विकास गर्न सके चिया उद्योगले स्थिर बजार पाउने, किसानले उचित मूल्य प्राप्त गर्ने र श्रमिकको रोजगारी सुरक्षित हुने आधार बलियो बन्न सक्छ। यसका लागि सरकार, निजी क्षेत्र, सहकारी, किसान र उपभोक्ताबीच साझा सहकार्य हुनुपर्दछ । सरकारी निकाय, शैक्षिक संस्था, होटल तथा सार्वजनिक कार्यक्रमहरूमा नेपाली चियाको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्रिय स्तरका उपभोग प्रवर्द्धन अभियान सञ्चालन गर्ने तथा ब्रान्डिङ र बजार विस्तारमा लगानी बढाउने समय आएको छ।

साथै, चीन, जापान, दक्षिण कोरिया, युरोप, अमेरिका र मध्यपूर्वलगायतका सम्भावनायुक्त अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहुँच विस्तार गर्न राज्यको नेतृत्वले सोच्नु आवश्यक देखिन्छ । आजको निर्यात संकटले दिएको सबैभन्दा ठूलो सन्देश पनि यही हो- नेपाली चिया उद्योगको भविष्य निर्यातमा मात्र होइन, बलियो घरेलु बजार, अन्तर्राष्ट्रिय पहुँच र दूरदर्शी नीतिगत योजनामा निर्भर छ। नेपाली चियालाई राष्ट्रिय गौरव र आर्थिक समृद्धिको आधारका रूपमा स्थापित गर्न सके मात्र यो क्षेत्र दिगो र आत्मनिर्भर बन्न सक्छ।

पूर्वी नेपालका हरियाली चिया बगानहरू केवल उत्पादनका स्रोत मात्र होइनन्, ती हजारौँ किसान र मजदुरको जीवनयापन भएकाले नेपालको आर्थिक पहिचानका महत्वपूर्ण आधार हुन्। त्यसैले चिया उद्योगको संरक्षण र प्रवर्द्धन राष्ट्रिय प्राथमिकताको विषय बन्नुपर्छ।

 

साझा: Facebook X WhatsApp Telegram

समय समीक्षा

editor

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit