Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

‘बीमालाई नकारात्मक होइन, सुरक्षाको माध्यमका रूपमा बुझ्नुपर्छ’

‘बीमालाई नकारात्मक होइन, सुरक्षाको माध्यमका रूपमा बुझ्नुपर्छ’
विज्ञापन
Advertisement

काठमाडाैं । बीमा क्षेत्रको अवस्था कस्तो छ? आम मानिसलाई बीमा क्षेत्रमा कसरी पुर्‍याउने सकिन्छ ?कृषि बीमा विस्तार किन हुन सकिरहेको छैन? यी र यस्तै विषयमा केन्द्रित रहेर कर्पोरेट समाचारका लागि गरिएको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय नेपालको अर्थतन्त्र र बीमा क्षेत्रको अवस्था कसरी मूल्यांकन गर्नुहुन्छ ?
अर्थतन्त्र चलायमान प्रक्रिया हो । विश्वभर नै समय–समयमा आर्थिक गतिविधिमा उतारचढाव आइरहन्छ । नेपालमा पनि केही समयअघि आर्थिक गतिविधि सुस्त देखिएको थियो । तर अहिले क्रमशः सुधारका संकेत देखिन थालेका छन् । बजारमा गतिविधि बढ्दै गएको छ र अर्थतन्त्र पुनः गति लिने दिशामा अघि बढिरहेको छ भन्ने विश्वास हामीले गरेका छौं ।

विज्ञापन
Advertisement
Advertisement

बीमा क्षेत्रको कुरा गर्दा, बीमा भनेको जोखिम व्यवस्थापनको सबैभन्दा प्रभावकारी माध्यम हो । यसको महत्व विभिन्न प्राकृतिक विपत्ति र संकटका समयमा अझ स्पष्ट रूपमा देखिन्छ । केही समयअघि भएको आन्दोलनबाट उत्पन्न क्षति होस् वा त्यसपछि आएको बाढीपहिरो जस्ता प्राकृतिक विपत्ति, ती सबै घटनामा बीमा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बीमाले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ र यसको आवश्यकता पनि प्रमाणित गरिरहेको छ ।
बीमाको महत्व हुँदाहुँदै पनि नेपालमा बीमा पहुँच अपेक्षित रूपमा बढ्न नसक्नुको कारण के हो ?
यसको मुख्य कारण चेतनाको कमी हो । हामीले बीमालाई जति बुझ्नुपथ्र्यो, त्यति बुझ्न सकेका छैनौं । अर्को पक्ष, हामीले बीमाको महत्वलाई प्रभावकारी रूपमा बुझाउन पनि सकेका छैनौं । त्यसैले बीमा सचेतना अभिवृद्धि गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो । धेरै मानिसले बीमालाई खर्चका रूपमा हेर्छन्, तर वास्तवमा यो भविष्यको सुरक्षा हो । जबसम्म नागरिकले बीमालाई आफ्नो आर्थिक सुरक्षासँग जोडेर हेर्दैनन्, तबसम्म यसको दायरा अपेक्षित रूपमा विस्तार हुन सक्दैन । त्यसैले बीमा कम्पनी, नियामक निकाय र सरकारले संयुक्त रूपमा जनचेतना अभियानलाई थप प्रभावकारी बनाउनुपर्छ ।

आन्दोलन र प्राकृतिक विपत्तिपछि ठूलो मात्रामा दाबी परेका कारण बीमा कम्पनीहरू दबाबमा परेका छन् भन्ने टिप्पणी सुनिन्छ । तपाईंको धारणा के छ ?
बाहिरबाट हेर्दा त्यो ठूलो चुनौती जस्तो देखिन सक्छ । तर बीमा व्यवसायको मूल आधार नै जोखिम व्यवस्थापन हो । हामी भोलि दाबी आउन सक्छ भन्ने अनुमानसहित नै तयारी अवस्थामा रहन्छौं । त्यसैले यस्ता घटनालाई हामीले दबाबका रूपमा भन्दा पनि जिम्मेवारी पूरा गर्ने अवसरका रूपमा लिन्छौं ।
यस्ता घटनाले बीमाको महत्व जनतासामु झन् स्पष्ट रूपमा प्रस्तुत गर्ने अवसर दिन्छन् । जब क्षति हुन्छ र बीमितले क्षतिपूर्ति प्राप्त गर्छन्, तब मानिसले बीमाको वास्तविक महत्व बुझ्न थाल्छन् । त्यसैले यस्ता अवस्थाले बीमाप्रतिको विश्वास अझ बलियो बनाउने काम गर्छन् ।
कृषि बीमामा अपेक्षित प्रगति हुन नसक्नुको कारण के हो ?
कृषि बीमा विस्तार गर्न बीमा कम्पनीहरू तयार छन् । हामीले कृषि बीमाका लागि छुट्टै शाखा तथा संरचना पनि बनाएका छौं । तर अपेक्षाअनुसार किसानको सहभागिता बढ्न सकेको छैन ।

यसले के देखाउँछ भने समस्या बीमा कम्पनीको इच्छाशक्तिमा मात्र छैन, सम्भवतः जानकारी र पहुँचको अभाव पनि छ । यदि कुनै सेवाले व्यक्तिलाई सुरक्षा दिन्छ भने त्यो सेवातर्फ स्वतः आकर्षण हुनुपर्छ । तर त्यस्तो भइरहेको छैन भने त्यसको कारणबारे गम्भीर समीक्षा आवश्यक छ । हामी सबै पक्षले कहाँ कमजोरी गर्यौं भन्ने विषयमा आत्ममूल्यांकन गर्नुपर्ने अवस्था आएको छ ।

दाबी भुक्तानीमा ढिलाइ हुने गुनासो सुनिन्छ । यसलाई कसरी हेर्नुहुन्छ ?
दाबी भुक्तानी भइरहेको छ । विशेषगरी आन्दोलनबाट भएको क्षतिको हकमा हामीले छुट्टै टोली गठन गरेर ‘फास्ट ट्र्याक’ प्रणालीमार्फत काम गरिरहेका छौं ।
यद्यपि कतिपय अवस्थामा आवश्यक कागजात, मूल्यांकन तथा प्रक्रिया पूरा हुन समय लाग्न सक्छ । बाहिरबाट हेर्दा सबै दोष बीमा कम्पनीमाथि आएको जस्तो देखिए पनि वास्तविकता त्यति सरल हुँदैन । दाबी प्रक्रिया विभिन्न चरण पार गरेर अगाडि बढ्नुपर्ने हुन्छ । तथापि, हामीले सकेसम्म छिटो र सहज रूपमा सेवा प्रदान गर्ने प्रयास गरिरहेका छौं ।
प्रभु इन्स्योरेन्सको वर्तमान अवस्था र उपलब्धिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
कम्पनीको मूल्यांकन हामी आफैंले गर्नेभन्दा पनि सार्वजनिक भएका वित्तीय विवरण र बजारले गर्नुपर्छ भन्ने मेरो विश्वास हो । हाम्रो वित्तीय अवस्था, व्यवसायिक वृद्धि र कार्यसम्पादनका तथ्यांक सार्वजनिक छन् । त्यसका आधारमा सरोकारवालाले मूल्यांकन गर्न सक्नुहुन्छ ।

हामीसँग दक्ष जनशक्ति, सक्षम व्यवस्थापन टोली र सहयोगी सञ्चालक समिति छ । ग्राहकलाई गुणस्तरीय सेवा दिने विषयमा हामी कुनै सम्झौता गर्दैनौं । यही कारण कम्पनीले निरन्तर प्रगति गरिरहेको छ ।
आगामी दिनमा नयाँ उत्पादन वा सेवा विस्तारको योजना छ ?
निर्जीवन बीमामा जीवन बीमाजस्तो धेरै नयाँ उत्पादन ल्याउने अवस्था हुँदैन । अधिकांश उत्पादन नियामक निकायबाट निर्धारित हुन्छन् । हाम्रो ध्यान नयाँ उत्पादनभन्दा पनि विद्यमान सेवालाई अझ प्रभावकारी, छिटो र ग्राहकमैत्री बनाउनेतर्फ केन्द्रित छ ।
ग्राहकले सहज रूपमा सेवा पाउनुपर्छ, दाबी प्रक्रिया सरल हुनुपर्छ र सेवाप्रति सन्तुष्टि बढ्नुपर्छ भन्ने हाम्रो प्राथमिकता हो । त्यसका लागि प्रविधिको प्रयोगलाई पनि प्राथमिकतामा राखेका छौं ।
बीमा क्षेत्रमा प्रविधिको भूमिका कत्तिको महत्वपूर्ण छ ?
प्रविधि आजको आवश्यकता हो । सेवा विस्तार, ग्राहकसँगको सम्पर्क र बीमाको महत्व बुझाउन पनि प्रविधिको भूमिका महत्वपूर्ण छ । तर नेपालमा सबै नागरिक समान रूपमा प्रविधिमैत्री भइसकेका छैनन् भन्ने यथार्थलाई पनि बिर्सन हुँदैन ।
हामीले डिजिटल प्रणाली विस्तार गर्दै लैजानुपर्छ, तर त्यससँगै नागरिकलाई त्यसको प्रयोग गर्न सक्षम बनाउने काम पनि गर्नुपर्छ । प्रविधि र जनचेतना दुवैलाई सन्तुलित रूपमा अघि बढाउन आवश्यक छ ।
अन्त्यमा, बीमाबारे आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?
बीमालाई नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । बीमा भनेको आर्थिक सुरक्षाको आधार हो । नेपालको भौगोलिक अवस्था, प्राकृतिक विपत्तिको जोखिम र आर्थिक चुनौतीलाई हेर्दा बीमा अझ बढी आवश्यक छ ।
बीमा महँगो सेवा होइन । मानिसहरूले सोचेजति खर्चिलो पनि छैन । बरु सानो रकमको प्रिमियमले ठूलो आर्थिक जोखिमबाट बचाउन सक्छ । त्यसैले प्रत्येक नागरिकले आफ्नो आवश्यकता अनुसार बीमा गर्नुपर्छ । बीमालाई खर्च होइन, भविष्यको सुरक्षा र आत्मविश्वासका रूपमा बुझ्न आवश्यक छ । बीमा गरौं, सुरक्षित बनौं र निर्धक्क भएर भविष्यतर्फ अघि बढौं ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit