काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईईपछि कक्षा १२) को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नियमिततर्फ परीक्षामा सहभागीमध्ये ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
यस वर्ष कक्षा १२ परीक्षामा कुल ३ लाख ३२ हजार २४१ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन्।
बोर्डका अनुसार ३.६१ देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना र २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना विद्यार्थी ग्रेडेड भएका छन्।
यस्तै २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार ३०८ रहेको छ भने १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी संख्या ९ जना मात्र रहेको बोर्डले जनाएको छ।
४० दिनमै सार्वजनिक भयो नतिजा
परीक्षा सम्पन्न भएको ४० दिनमै राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो। सरकारले ४५ दिनभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको थियो। यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमै सार्वजनिक गरिएको थियो।
पुनः चेकका लागि एक साताभित्र आवेदन
बोर्डका अनुसार नतिजा प्रकाशन भएको १५ दिनपछि विद्यार्थीहरूले ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि रसिद काट्न सक्नेछन्।
आफ्नो प्राप्त ग्रेडप्रति चित्त नबुझेका परीक्षार्थीहरूले पुन ः जाँच गराउनका लागि असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। पुनर्योगका लागि प्रति विषय १ हजार रुपैयाँ दस्तुर तोकिएको छ।
















प्रतिक्रिया दिनुहोस्